+
+

चितवन आउनै असहज, सुनसान छ सौराहा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १७:४२

२५, भदौ, चितवन । देशको मध्यभागमा रहेको चितवन आउन यतिबेला निकै कष्टप्रद र असहज छ । यसको मारमा होटल तथा पर्यटन व्यवसायीहरु परिरहेका छन् ।

बुटवल, पोखरा र काठमाडौंबाट चितवन आउने सडक मार्गमा निर्माणको काम भइरहेको छ । ठेक्का लागेको लामो समय हुँदासमेत बुटवल नारायणगढ सडक विस्तारको काम आधा पनि सकिएको छैन ।

पोखरादेखि मुग्लिनसम्मको सडक विस्तारको काम कछुवाकै गतिमा छ । नागढुंगा मुग्लिन सडकखण्ड विस्तारको काम चलेको १ बर्ष भइसकेको छ । चितवन आउने मुख्य सडक विस्तारका क्रममा ठाउँ ठाउँमा भत्काइएको छ । यी सडक भएर यात्रा गर्न कष्टप्रद मात्रै छैन जोखिमपूर्ण पनि बनेको छ ।

एकातिर आर्थिक मन्दीको प्रभाव सबैतिर परेको छ भने, अर्कोतिर सडक विस्तारले चितवन आउन असहज बन्दै जाँदा त्यसको मार यहाँका पर्यटन तथा होटल व्यवसायीहरुलाई पर्न थालेको छ । देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवन र विशेष गरी सौराहा क्षेत्रमा पर्यटकहरु निकै कम देखिन्छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहाको पर्यटन क्षेत्र खस्किदै गएको बताए । उनले सौराहाका होटलमा ५ देखि १० प्रतिशत मात्रै अकुपेन्सी रहेको जानकारी दिए ।

‘यो अकुपेन्सीले खर्च चलाउनै मुस्किल हुन्छ, बैंकको ब्याजदरदेखि लिएर अन्य खर्च उठाउन पनि समस्या भएको छ’, अध्यक्ष गिरीले भने, ‘यस्तो चौपट अवस्था आएको २ महिना जति हुन थाल्यो ।’

दुई महिना अगाडिसम्म आन्तरिक पर्यटकहरुको उपस्थितिसमेत बाक्लो थियो । तर, अहिले ठप्प जस्तै छ । दुई महिना अघिसम्म शुक्रबारको दिनमा ६० देखि ७० प्रतिशतसम्म होटलहरु बुक हुने गरेको गिरी बताउँछन् । अहिले केही विदेशी पर्यटकहरु आएका छन् । दैनिक ८० देखि १ सयसम्म चिनियाँ पर्यटक आउने गरेको अध्यक्ष गिरीले बताए । भारतीय पर्यटक खासै आएका छैनन् ।

पर्यटक आउने सिजन सुरु हुँदा पनि सौराहा सुनसान जस्तै छ । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरेले यो पर्व चाडपर्वको समय केही ढिला सुरु भएकाले आन्तरिक पर्यटक नआएका हुन् कि भन्ने अनुमान गर्छन् । ‘पोहोर यतिबेला तीज आइसकेको हुन्थ्यो, दशैंको रौनक थपिन्थ्यो, तर अहिले अलि ढिला चाडपर्व छन्,’ घिमिरेले भने, ‘आशा गरौं, आगामी केही हप्तामा पर्यटकको संख्या बढ्छ होला ।’

सौराहा क्षेत्रमा ११४ भन्दा बढी होटल छन् । यहाँका व्यवसायीहरुले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मुख्य सिजनका रुपमा लिन्छन् । अघिल्ला वर्षहरुमा १५ भदौपछि पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्ने गरेको भए पनि यसपटक भने त्यस्तो अवस्था छैन ।

चितवन आउनेलाई सडक मार्ग भएर आउन असाध्यै हैरानी छ भने जहाजबाट आउने विदेशी पर्यटकलाई धेरै महंगो पर्छ । एक विदेशी पर्यटकले चितवन आएर फर्किदा जहाजको भाडा मात्रै ३५ हजार रुपैयाँ खर्च हुन्छ । नेपाली र विदेशी माथि गरिएको यो विभेद सच्याउनुपर्ने व्यवसायीहरु बताउँछन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गिरी जहाजको भाडा अत्यासलाग्दो भएकोले यसले पर्यटन क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक असर परेको बताउँछन् । अहिले चितवन आउने पर्यटकहरुले निकुञ्जभित्र अवलोकन गर्न जान पाउँदैनन् । बर्खाको समयमा निकुञ्जले जंगलमा गराइने जीप सफारी बन्द गरेको छ ।

आगामी असोजको दोस्रो हप्तातिर मात्रै निकुञ्ज प्रवेश खुला गर्ने तयारी छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जीप सफारीका लागि सडक तथा पुलहरु मर्मत अगाडि बढाइने बताए । अहिले यहाँ आएका पर्यटकलाई मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन क्षेत्रमा घुमाउने गरिन्छ ।

हात्ती सफारीका लागि प्रख्यात चितवनमा विश्वकै दुर्लभ एकसिङ्गे गैंडा, घडियाल गोही, चराचुरुङ्गी तथा विभिन्न जंगली जनावर हेर्नका लागि पर्यटकहरु आउने गर्छन् । गत बर्ष निकुञ्जमा झण्डै ३ लाख पर्यटकले भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?