+
+
महिला क्रिकेट :

अनुभवको कमीले गुमेको ठूलो अवसर

नमिता दाहाल नमिता दाहाल
२०८० भदौ २५ गते १९:३७

२५ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियामा भएको आइसीसी वुमन्स टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोटमा सेमिफाइनलमै पराजित भएपछि घर फर्किएको छ ।

सेमिफाइनलमा थाइल्याण्डसँग हारेपछि नेपाल विश्वकपको ग्लोबल क्वालिफायर्समा पुग्नबाट रोकियो ।

नेपाली महिला टिमको यो पुस्ताका लागि महत्वपूर्ण मानिएको विश्वकप छनोट सहज नै थियो । प्रतियोगिताको सुरुवातमा चारदेशीय सिरिज जितेसँगै नेपालको आत्मबल बलियो थियो ।

तर पनि महत्वपूर्ण खेलमा भोगेको पराजयलाई खेलाडी र प्रशिक्षकले अनुभवको कमी भनेका छन् । ‘यसपटक अनुभवी खेलाडीको कमी महसुस भयो,’ १६ वर्षदेखि सीता राना मगर भन्छिन्, ‘ठूलो प्रतियोगिता थियो, यसखालका प्रतियोगितामा अनुभवी खेलाडी भएको भए हामीले राम्रो गर्न सक्थ्यौं कि भन्ने लागेको छ ।’

विश्वकप क्रिकेटको एसियाली छनोट खेल्न गएको नेपाली टिममा तीन नयाँ अनुहारसँगै धेरै युवा खेलाडी थिए । तर जो टिममा थिए उनीहरु योग्य नै थिए भन्छिन् कप्तान रुबिन क्षेत्री ।

‘पुराना खेलाडीलाई बारम्बार मौका दिँदा पनि नतिजा नआएपछि हामीले टिम परिवर्तन गरेका थियौं’, रुबिनाले भनिन् ।

प्रशिक्षक सामसन जंग थापाका लागि पनि यो आफूलाई प्रमाणित गर्ने राम्रो अवसर थियो । चारदेशीय सिरिज जितेसँगै नेपाली टिममा उर्जा बढेको उनले मलेसियाबाट नै अनलाइनखबरलाई जानकारी गराएका थिए ।

नेपाली टिमसँगै सोमबार बिहानै काठमाडौं अवतरण गरेका उनी भन्छन्, ‘हामीले इन्डोर मात्र खेल्यौं । नेपाली महिला टिमलाई एक्सपोजर नपुगेको हो । एउटा महत्वपूर्ण प्रतियोगिता अघि एउटा सिरिज खेलेर हामीलाई गाह्रै हुन्छ ।’

ध्वस्त ब्याटिङ, चकनाचुर सपना

२००७ मा नेपाली महिला टिम बनेपछि पुरुष टिमले भन्दा पहिला महिला टिमले विश्वकप खेल्छ भन्ने दाबी क्रिकेटका जानकारहरुले गरेका थिए ।

पुरुष टिमले सन् २०१४ मै टी–२० विश्वकप खेले पनि महिला टिमले भने अहिलेसम्म त्यो अवसर पाएको छैन । नेपालभन्दा ढिलो क्रिकेट सुरु गरेको थाइल्याण्डले नै महिला विश्वकप खेलिसकेको छ ।

‘हामीभन्दा पछि आएका टिमहरुले विश्वकप खेलिसके । हामीले यत्रो वर्ष खेलेर पनि केही गर्न सकेनौं भन्ने अनुभव हुन्छ,’ भावुक हुँदै सीताले सुनाइन्, ‘हामीले खेलेको त केही अर्थै भएन जस्तो लाग्छ ।’

यस पटक एसियाली क्षेत्रीय छनोटबाट ग्लोबल छनोटमा पुग्न नसकेकोमा सीता जस्तै सबै खेलाडी दुखी छन् ।

यो छनोट प्रतियोगिताकै लागि भनेर नेपाल क्रिकेट संघ क्यानले भारतीय ब्याटिङ प्रशिक्षक देविका पाल्शिकरलाई ल्याएको थियो । उनको प्रभाव टिममा परे पनि मैदानमा देखिएन ।

नेपाली महिला टिम यसपटक पछि पर्नुको ब्याटिङ नचल्नु हो । बलिङ र फिल्डिङ ठिकै भए पनि ब्याटिङ सोचेजस्तो हुन नसकेको प्रशिक्षक थापा बताउँछन् । ‘हामी बाहिरिनुको मुख्य कारण हाम्रो ब्याटिङ नचल्नु हो’, उनी भन्छन् ।

नेपाली टिमले यस पटकको मलेसिया भ्रमणमा ब्याटिङ अर्डर परिवर्तन गरिरह्यो । ‘समग्रमा भन्नु पर्दा १० वटा खेल खेल्यौं २ वटा हार्‍यौं । टिम सेट गर्न हामीले परिवर्तन गरेकै हो’, उनी भन्छन् ।

विशेषत माथिल्लो क्रममा कुनै पनि ब्याटर सेट हुन नसक्नु नेपालका लागि निकै मंहगो सावित भयो ।

‘हाम्रो स्तर राम्रो हो । खेल्नु पर्ने खेलाडीले खेल्न सकेनन्, यहाँ राम्रो गरेको खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्नु भएन’, सीताले भनिन् ।

नयाँ र युवा खेलाडीका बीचमा अनुभवी खेलाडीहरु सीता, रुबिना, काजोल श्रेष्ठ र इन्दु बर्मा पनि टिममा थिए । कप्तान रुबिना भन्छिन्, ‘टिममा कप्तानले मात्रै खेलेर हुँदैन । जिम्मा मैले लिनै पर्छ तर कोही पनि म्याच विनर खेलाडी भएर निस्किएनन् जसको कारण पूरै जिम्मेवारी पुराना खेलाडीले नै लिनुपर्ने भयो ।’

दीर्घकालीन नीति र एक्सपोजरको कमी

नेपाली महिला क्रिकेट टिमले १ वर्षमा एउटा प्रतियोगिता खेल्छ । नेपाल क्रिकेट संघ क्यानले ११ महिनापश्चात नेपाली टिमलाई जेठमा मलेसियासँगको सिरिज खेल्न पठायो । जसमा नेपालले राम्रो नतिजा ल्यायो ।

तर खेलाडीलाई वर्षमा घरेलु २ वटा र अन्तर्राष्ट्रिय एउटा प्रतियोगिता खेलेर पुग्दैन । महिला टिमका लागि हाल दीर्घकालीन नीतिको कमी भएको कप्तान रुबिनाले बताइन्, ‘महिला क्रिकेट टिममा दीर्घकालीन नीतिको जरुरत छ ।’
नेपाली महिला खेलाडीलाई पनि वर्षभरि क्रिकेटमा संलग्न हुने वातावरण बनाउनु पर्नेमा उनको जोड छ ।

पुरुष क्रिकेटले अग्रता लिएको कथा लेख्दै गर्दा पछि परेको महिला टिमको कथा किन बाहिर आएन भन्ने पनि खोतल्नु पर्छ । पुरुष टिम एसियन गेम्स खेल्न जाँदैछ तर महिला क्रिकेट टिम त्यसमा सहभागी छैन ।

‘एसियन गेम्समा महिला टिम किन समावेश भएन त ?’ रुबिनाले प्रश्न गर्दै भनिन्, ‘भारत, पाकिस्तान, मलेसियाको पनि महिला टिम समावेश छ तर हामीले त्यो अवसर पाएनौं । यस अर्थमा लगानीको हिसाबमा हामी पुरुष क्रिकेटको तुलनामा प्राथिमिकतामा पदैर्नौ ।’

युवा खेलाडी समावेश नेपाल टिमले जति सक्दो धेरै एक्सपोजर पाएको खण्डमा आगामी दिनमा नतिजा आफ्नो पक्षमा ल्याउने कप्तान रुबिनाले बताइन् । ‘हामी १०÷१२ वर्षदेखि खेल्दा त गाह्रो भइरहेको छ । प्रदर्शन राम्रो गर्न सकेको छैन । भर्खर आएका खेलाडीलाई क्रिजमा उतारेर नतिजाको आश गर्नु गलत हो,’ उनले भनिन्, ‘उनीहरुलाई झन कति गाह्रो भएको होला ।’

प्रशिक्षक थापा पनि नेपाली महिला टिमलाई दीर्घकालीन नीति बनाई एक्सपोजर दिनुपर्नेमा जोड दिन्छन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?