+
+

नासाको यन्त्रले मंगल ग्रहमा जम्मा गर्‍यो १२२ ग्राम अक्सिजन !

एजेन्सी एजेन्सी
२०८० भदौ २६ गते १३:३१

मंगल ग्रहमा घुमिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोवरले एउटा सानो कुकुरलाई १० घण्टाका लागि स्वास फेर्न पुग्ने अक्सिजन जम्मा गरेको छ ।

सो रोवरमा एउटा यस्तो यन्त्र लगाइएको छ जसले मंगल ग्रहमा अक्सिजन पैदा गरिरहेको छ । उसले प्रतिघण्टा १२ ग्राम अक्सिजन पैदा गर्न सक्दछ ।

रोवरमा रहेको मोक्सी नामक यन्त्रले अक्सिजन पैदा गरेको हो । मोक्सीको पूरा नाम Mars Oxygen in situ response utilization experiment हो ।

मोक्सीलाई पर्सिभरेन्स रोवरमा राखेर सन् २०१९ मा मंगल ग्रहमा पठाइएको थियो । उक्त रोवर सन् २०२१ मा मंगल ग्रहको सतहमा ओर्लिएको थियो ।

रोवरमा रहेको मोक्सीले त्यसयता १६ पटक अक्सिजन पैदा गरिसकेको छ ।

आखिर सो यन्त्रले मंगल ग्रहमा कसरी अक्सिजन पैदा गर्‍यो त ? वास्तवमा यो यन्त्रले मंगल ग्रहको वायुमण्डलबाटै अक्सिजन जम्मा गरेको हो ।

यसरी मंगल ग्रहमा यन्त्रले नै अक्सिजन जम्मा गर्ने भएपछि त्यहाँ सबैभन्दा पहिले जाने अन्तरिक्षयात्रीले अक्सिजनको कमीको सामना गर्न नसक्ने अपेक्षा नासाको छ ।

मंगल ग्रहमा अन्तरिक्षयात्री पठाउनु अगाडि मोक्सी वा त्यस्तै यन्त्रहरु त्यहाँ पठाएर अक्सिजन संग्रहित गरिनेछ ।

के हो मोक्सी ?

मोक्सी ओभन आकारको एक यन्त्र हो । म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीले यो यन्त्रको निर्माण गरेको हो ।

नासाका उपप्रशासन पाम मेल रोयका अनुसार मोक्सीले उत्कृष्ट काम गरेको छ-अपेक्षाभन्दा पनि उत्कृष्ट । यसबाट मंगल ग्रहको वायुमण्डलबाट अक्सिजन निकाल्न सकिने पुष्टि भएको छ । फलतः त्यसरी संग्रहित अक्सिजनबाट अन्तरिक्षयात्रीले भविष्यमा मंगल ग्रहमा स्वास फेर्न सक्नेछन् तथा रकेटमा प्रोपेलेन्टका लागि प्रयोग गर्न सकिनेछ ।

पछिल्लो २ वर्षमा मोक्सीले १६ पटक अक्सिजन जम्मा गरेर निकालिसकेको छ । अन्तिम पटक यसले गत अगष्ट ७ मा ९.८ ग्राम अक्सिजन पैदा गरेको थियो । यसले प्रतिघण्टा १२ ग्राम अक्सिजन जम्मा गरेर निकाल्ने क्षमता राख्दछ । अझ महत्वपूर्ण त के भने यो यन्त्रबाट संग्रहित अक्सिजन ९८ प्रतिशत शुद्ध रहेको छ ।

नासा मुख्यालयस्थित अन्तरिक्ष प्रविधि मिसन निर्देशनालयका निर्देशक ट्रुडी कोर्टेसका अनुसार मोक्सीले मंगल ग्रहमा पूरै एक वर्ष बिताएको छ ।

मोक्सीले मंगल ग्रहको खराब मौसमको पनि सामना गरिसकेको छ । तथापि यसले जुन प्राविधिक ज्ञान वैज्ञानिकहरुलाई प्रदान गरेको छ त्यो भविष्यमा निकै उपयोगी हुनेछ । अर्थात् मंगल ग्रहमा उपलब्ध स्रोतहरुको प्रयोग गरी भविष्यका मिसन पूरा गर्नसक्ने सम्भावना देखिएको छ । त्यस्ता संशाधन पृथ्वीबाट लिएर जाँदा निकै महँगो पर्दछ ।

मोक्सी : मानिसका लागि संजिवनी

मोक्सीलाई भविष्यका अन्तरिक्ष मिसनलाई ध्यानमा राखेर बनाइएको थियो । यो भविष्यमा चन्द्रमा तथा मंगल ग्रहमा जाने मानिसहरुका लागि संजीवनी सावित हुनेछ । यदि यसले पर्याप्त अक्सिजन पैदा गरेमा अन्तरिक्षयात्रीले मंगल ग्रहमा लामो समय बिताउन पाउनेछन् र अधिकतम प्रयोग गर्न पाउनेछन् ।

मोक्सीको निर्माण गर्ने इन्जिनियरहरुका अनुसार अब उनीहरु यसको सुधारिएको संस्करण बनाउनमा जुटेका छन् । यसमा विशेष खालको अक्सिजन जेनेरेटर राखिएको हुनेछ । यो आकारमा मोक्सीभन्दा केही गुणा ठूलो तथा शक्तिशाली हुनेछ ताकि यसले अधिक मात्रामा अक्सिजन बनाउन सकोस् । पर्सिभेरेन्स रोभरलाई मंगल ग्रहमा प्रक्षेपण गर्नुको अर्थ खगोल जिवविज्ञानको अध्ययन गर्नु थियो ।

नासको आगामी योजना

अमेरिकी अन्तरिक्ष संस्था नासाले निकट भविष्यमा युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोगमा एउटा विशेष खालको यान मंगल ग्रहमा पठाउने योजना बनाएको छ । यो अन्तरिक्षयानले मंगल ग्रहबाट अक्सिजनयुक्त नमूनाहरु लिएर पृथ्वीमा आउनेछ । त्यसमा माटो तथा चट्टानका नमूना हुनेछन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?