+
+

नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १६:२४
तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय ।

२८ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभाले बिहीबार शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए । २० को दशकयता लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका नेम्वाङले संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेतृत्वदायी भूमिका खेलेको उनले बताए ।

मृदुभाषी, सरल, सहज र समन्वयकारी नेम्वाङको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको सभामुख घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावमा उल्लेख छ ।

संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने नेम्वाङको निधनमा प्रतिनिधिसभाले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको सभामुख घिमिरेले बताए । सभामुखले प्रस्तुत गरेको शोक प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतले पारित गरेको थियो ।

नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधिसभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा सदस्य थिए ।

२०६३ सालमा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधानसभाको अध्यक्ष थिए । यसैगरी २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्री समेत भएका थिए ।

शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ । यसअघि बिहीबार नै राष्ट्रियसभा बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

हृदयघातका कारण गत साेमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?