+
+
अन्तर्वार्ता :

‘नाडा अटो शोले अर्थतन्त्रमा उत्साह ल्याएको छ’

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ २८ गते १९:३३

काठमाडौं । सवारी साधनको खरिद बिक्रीमा नेपालको सबै भन्दा ठूलो मेला ‘नाडा अटो शो–२०२३’ को १५ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा जारी छ । २६ भदौदेखि सुरु भएको यो मेला ६ दिनसम्म चल्नेछ ।

कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध र त्यसको असरका कारण आर्थिक गतिविधि कमजोर बनिरहेको बेला आयोजना गरिएको मेलामा अनुमान र अपेक्षाभन्दा ठूलो मात्रामा कारोबार र आर्थिक गतिविधि भइरहेको आयोजक नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को दाबी छ ।

अटो मोबाइल व्यवसायका लागि सरकारको नीति उपयुक्त नहुँदाकै अवस्थामा पनि आयोजना गरिएको ‘अटो शो’ सफल नहोला कि भन्ने डरैडरका बीच सुरु गरिएको बताउँछन् आयोजक संस्था नाडाका अध्यक्ष ध्रुव थापा । तर, ग्राहकहरु ‘अटो शो’ लाई नै कुरेर बसेझैं झुम्मिंदा अटो मोबाइल क्षेत्र मात्रै नभई अर्थतन्त्रमै नयाँ खालको उत्साह आएको उनी बताउँछन् ।

‘नाडा अटो शो’ का विशेषता, सहुलियत, ग्राहकका चाहना र अटो बजारको अवस्थाबारे केन्द्रित भएर अनलाइनखबरले थापासँग गरेको कुराकानीको सारः

आर्थिक मन्दी र बजारमा नैराश्यका बीचमा ‘नाडा अटो शो’ आयोजना गर्नुभयो ? ‘अटो शो’को माहोलले कत्तिको आशावादी हुनुहुन्छ ?

‘नाडा अटो शो’ को तेस्रो दिनमा निकै उल्लास देखिएको छ । पहिलो र दोस्रो दिनमा आएका गुणस्तरीय ग्राहकको उपस्थितिले हामीलाई नसोचेको सफलता दिएको छ । सामान्यतया यसअघिका ‘अटो शो’ हरुमा सुरुआती दिनमा धेरै ग्राहकहरु आउनु हुन्नथ्यो । त्यसमाथि हामीले चरुम आर्थिक मन्दी र बजारको माग निकै सुस्ताएको बेलामा पहिलो र ठूलो शो आयोजना गरेका कारण केही डर पनि अवश्य थियो । कतै सहभागीता पो हुने हो कि, शो निराशाजनक पो पो हुन्छ कि भन्ने डर थियो ।

तर, पहिलो दिन नै हामीले सोचेभन्दा धेरै ग्राहक आइदिए । छुट्टयाइएको भन्दा धेरै टिकट बिक्री भए । पहिलो, दोस्रो र तेस्रो दिनको शोमा देखिएको रौनकले मुलुकको आर्थिक गतिविधि रोकिएको अवस्थाबाट चलायमान हुने तिर गएको आभास भएको छ । निकै उत्साह जागेको छ ।

यो ‘अटो शो’ का खास विशेषता के के हुन् ?

कोभिड महामारी र सवारीसाधन आयात बन्दका कारण तीन वर्षदेखि हामीले ‘नाडा अटो शो’ गर्न सकेका थिएनौं । पहिलो त यो शोको मूख्य विशेषता भनेकै तीन वर्ष पछिको ग्याप हो । यो ग्यापको समयमा विश्वबजार अटो क्षेत्रमा ठूलो परिवर्तन आइसकेको छ । सवारीसाधनमा एक प्रकारको क्रान्ति नै आएको छ । त्यो विशेषता अहिलेको ‘अटो शो’ मा देख्न पाइन्छ । नाडा शो मा अहिले नयाँ प्रडक्टहरु प्रशस्त मात्रामा हरेक क्षेत्रमा पाइन्छन् । यस्तै, इन्ट्री लेबलदेखि हाई इन्डसम्मका सवारी ग्राहकले आवश्यकताअनुरुप किन्न सक्ने गरी प्रस्तुतिकरण गरिएको छ ।

यस पटकको ‘नाडा अटो शो’ को फोकस, केमा छ ? प्यासेन्जर कार, कर्मसियल सवारी वा दुईपाङ्‍ग्रे ? अझ विशिष्ट रुपमा भन्नुपर्दा बिजुली कि पेट्रोलियम ?

प्यासेन्जर कार, कर्मसियल सवारी र दुई पाङ्‍ग्रे सवारी तथा यसका अन्य पाट्र्सहरुको समग्र संयोजन ‘नाडा अटो शो’ मा छ । यहाँ आउने ग्राहकले सवारीसाधनका बारेमा आफ्नो सबै खाले जिज्ञासा मेट्न सक्छन् । अहिले निजी कारहरुमा डिजेल, पेट्रोलका तुलनामा विद्युतीय सवारी साधनमा निकै ठूलो फड्को मारेको देखिन्छ । व्यवसायीहरुले शो मा आफ्नो नयाँ सवारी साधनको घोषणाहरुमा विद्युतीय नै अघि सारेका छन् । ग्राहकको रुची पनि त्यसैमा बढी देखिएको छ । यो अहिलेको ग्लोबल ट्रेण्ड पनि हो । विश्वबजारमा चलेको र भर्खरै लञ्च भएका गाडीहरु पनि यहाँ ल्याइएको छ । यस्तै, लक्जरियस र कर्मसियल भेइकलमा भने डिजेल, पेट्रोलका सवारी साधानहरु शोमा उपभोक्ताले पाउन सक्नुहुन्छ । ‘अटो शो’मा व्यवसायीहरुले ठूलो अफर पनि घोषणा गरिएको छ । यस्तै नाडा, आफैंले पनि ग्राहकलाई अफर दिएको छ । त्यस कारण पनि शो मा उल्लेख्य मात्रामा साँच्चै आउनैपर्ने खालका गुणस्तरीय ग्राहकहरु आएका छन् ।

शोमा स्टल व्यवस्थापन

कसरी गरिएको छ ?

‘नाडा अटो शो’ मा दुईपाङ्‍ग्रेका २२ वटा स्टल छन् । कमर्सियल सवारी साधनहरुको ७ वटा स्टल छन् । चारपाङ्‍ग्रे कारका १६ वटा स्टल रहेका छन् । यस्तै सवारी साधनका कम्पोनेण्ड र पार्ट्सहरुको ४२ वटा छन् । बैंक र वित्तीय संस्था र इन्स्योरेन्सका ९ वटा गरी ९६ वटा स्टलहरुले उपभोक्तालाई सीधै सेवा दिइरहेका छन् । कार्यालय, मिडिया र व्यवस्थापनका अन्य स्टलहरु पनि छन् ।

‘अटो शो’मा मन्दीको मनोविज्ञानको असर चाहिं कस्तो पाउनुभएको छ ?

‘अटो शो’को उद्घाटन भइरहेको बेला म आफैं ढुक्क थिइनँ, मान्छेहरु आउलान् भनेर ? त्यसैले हामीले टिकट पनि सवा लाख हारहारीको मात्रै राखेका थियौं । तर, पहिलो दिन नै ८ हजार टिकट बिक्यो । सम्भवतः नाडाको इतिहासमा उद्घाटनको पहिलो दिनमै यत्रो ठूलो सहभागिता यो पहिलो हो र यो नया रेकर्ड पनि हो ।

चारपाङ्‍ग्रे विद्युतीय सवारीसाधनको प्रयोगमा नेपालले ग्लोबल ट्रेण्डलाई नै उछिनेको छ । हामी नर्वेजस्तो सबैभन्दा धेरै विद्युतीय गाडी मात्रै चलाउने देशभन्दा पनि अघि बढिसकेका छौं ।

अवश्य पनि हामीले नैराश्य चिरेका छौं । बजारमा नयाँ भाइब्रेन्ट सृजना गर्न यो कार्यक्रम गरेका हौं । त्यसमा सफल पनि भयौं । यसका लागि सबै क्षेत्रबाट सहयोग पनि भयो । गत वर्ष विद्युतीय ‘अटो शो’ भएको थियो । त्यतिबेला बैंकहरुलाई आउनुस् न भनेर बिन्ती गर्दा पनि नआउने अवस्था थियो ।

तर, यस वर्षको ‘अटो शो’मा सहभागी हुन बैंकहरु तँछाडमछाड गरिरहनुभएको छ । ९ वटा स्टल त उहाँहरुकै छ । अरु कतिपय बैंकहरुले चाहेर पनि स्टल पाउनुभएन । उहाँहरुको उपस्थिति मात्रै छैन, सहयोग पनि छ । आफ्नो प्रकाशित रेट भन्दा पनि सहुलियतमा गएर उहाँहरुले गाडीको फाइनान्सिङ गरिदिनुभएको छ । यसले पनि नयाँ उत्साह ल्याएको छ । स्पटमै अटोमोबाइलमा भएको फाइनान्सिङले थप हौसला थपिएको छ ।

नाडामा कति कारोबार हुने र ग्राहक आउनसक्ने अनुमान गर्नुभएको छ ?

खासमा हामीले २० अर्बको कारोबार ‘नाडा अटो शो’ मा हुन्छ भन्ने अनुमान गरेका थियौं । त्यसो त ७५ हजार ग्राहकले शो भिजिट गर्छन् भन्ने लागेको थियो । तर, तीन दिनको अवस्था हेर्दा हाम्रो लक्ष्य र अनुमानको सबै रेकर्ड नाघ्ने देखिएको छ । यसले हामीलाई हौसला र उत्साह बढाएको छ । यसले समग्र अर्थतन्त्रमा पनि नयाँ प्रकारको चलायमान बनाएको छ ।

‘अटो शो’मा कस्ता खालका भिजिटरहरु आएको देखिन्छ ?

संसारभर नै यस्ता शो हरुमा दुई प्रकारका भिजिटरहरु हुन्छन् । पहिलो हेर्न गईदिऊँ न भन्ने खालका हुन्छन् । अर्को चाहिं अटोमोबाइलप्रति रुचि राख्नेहरु हुन्छन् । यसपटक ‘अटो शो’मा गुणस्तरीय ग्राहकहरु बढी आएको देखिएको छ ।

तेस्रो दिनको औसत शोको प्रकृति हेर्दा उत्साहजनक रुपमा बुकिङ भइरहेको छ, कुनै कुनै गाडी नै डेलिभरी नै पनि भएको छ । हामीले यसको विस्तृत प्रतिवेदन पनि बनाउँदै छौं । समग्रमा ‘अटो शो’ निकै फलदायी हुने देखिएको छ ।

विद्युतीय सवारीमा उपभोक्ताको चासो र उत्सुकता निकै पाइएको छ । तपाईंहरुको बुझाइ चाहिं के रह्यो ?

नाडाले तीन वर्षअघि नै प्यासेन्जर सेग्मेन्टमा ५ वर्ष र मोटरसाइकलमा १० वर्षमा ५० प्रतिशत बजार विद्युतीयले लिन्छ भन्ने अनुमान गरेको थियो । तर, त्यो परिस्थिति २ वर्षमै देखियो ।

डलर सञ्चितिमा हामी राम्रो अवस्थामा आइपुगेका छौं । सरकारले यसअघि लिएका अटोसम्बन्धी कडा नीति राष्ट्र बैंकसँगको सहकार्यमा हटाउनुपर्छ । सहजीकरण गरिनुपर्छ । त्यो भनेको लोन टु भ्यालु रेसियोको नियमन हटाउनुपर्छ । फाइनान्स सुविधा सहज बनाउनुपर्छ ।

चारपाङ्‍ग्रे प्यासेन्जर सेग्मेन्टमा विद्युतीय सवारीसाधनको प्रयोगमा नेपालले ग्लोबल ट्रेण्डलाई नै उछिनेको छ । यद्यपि दुई पाङ्‍ग्रेमा अझै चासो बढ्दो छ । तर, उपभोक्ता तयार भई नसकेको देखिएको छ । चार पाङ्‍ग्रेमा त हामी नर्वेजस्तो सबैभन्दा धेरै विद्युतीय गाडी मात्रै चलाउने देशभन्दा पनि हामी अघि बढिसकेका छौं ।

‘अटो शो’ले बजार चलायमान बनाउनुभयो । तर, यसलाई निरन्तरता दिन राज्यले पनि थप सहजीकरण त गर्नुपर्ला ?

अटो व्यवसाय अब विलासी मात्रै रहेन । यो अव दैनिक आवश्यकता बनिसकेको छ । राज्यलाई ठूलो राजस्व योगदान गर्ने यो क्षेत्रको समस्याले अन्ततः सरकार नै अप्ठ्यारोमा पर्ने देखियो ।

यसअघि सरकारले आर्थिक समस्याका कारण लिएको नीतिले अवश्य पनि हामी मारमा पर्‍यौं । गाडी आयातमा रोक लगाउनेदेखि फाइनान्स सुविधामा कटौती, जोखिम भार वृद्धिसम्मका कार्य भए । देशको बाह्य क्षेत्र अप्ठ्यारोमा परेको बेला यो कार्य स्वाभाविक रुपमा ठिकै पनि थियो होला ।

तर, अब परिस्थिति बेग्लै बनेको छ । डलर सञ्चितिमा हामी राम्रो अवस्थामा आइपुगेका छौं । सरकारले यसअघि लिएका अटोसम्बन्धी कडा नीति राष्ट्र बैंकसँगको सहकार्यमा हटाउनुपर्छ । सहजीकरण गरिनुपर्छ । त्यो भनेको लोन टु भ्यालु रेसियोको नियमन हटाउनुपर्छ । फाइनान्स सुविधा सहज बनाउनुपर्छ । व्यवसायीको काम गाडी किन्ने र नाफा राखेर बिक्री गर्ने हो । तर, यसमा गरिएको कडाइका कारण हामीले खेपेको सास्तीको असर राज्यकै राजस्व ढुकुटीमा परेर ५० औं अर्ब राजस्व घट्नुले पनि सरकार सचेत हुनु पर्छ । हाम्रो व्यवसाय सुक्ने सरकारको राजस्वको ढुकुटी पनि सुक्ने काम बन्द गरिनुपर्छ । अब हामी पुरानै सहज अवस्थामा फर्कनुपर्छ ।

सरकारले मात्रै पहल गरेर नहोला, राष्ट्र बैंक पनि यसमा सहमत त हुनुपर्‍यो । उहाँहरुको बुझाइ कस्तो छ ?

राष्ट्र बैंकको भूमिका अहम् छ । पछिल्लो समय २५ लाखसम्मको ऋणका लागि जोखिम भार १५० प्रतिशतबाट घटेर १०० प्रतिशतमा झारिएको छ । राष्ट्र बैंकले सबै अटो लोनमा यो क्याप हटाउनु पर्छ । यस्तै बैंकहरुलाई अटोमा गर्ने लगानी यति प्रतिशत मात्रै गर भनेर माइक्रो म्यानेज राष्ट्र बैंकले नगरे हुन्थ्यो । बैंकहरु आफैं स्वनियमनमा छन् ।

आफ्ना ग्राहकबारे निर्णय गर्न उनीहरु आफैं स्वतन्त्र छन् । तर, बैंकको ग्राहकलाई के मो के गर भनेर राष्ट्र बैंकले नियमन गरिरहन छोड्नुपर्छ ।

‘अटो शो’मा आउन नभ्याएका र आउन चाहनेका लागि के सन्देश दिनुहुन्छ ?

‘नाडा अटो शो’ मा आउनेबित्तिकै गाडी किन्नुपर्दैन । यहाँ आउनु भनेको केही नयाँ कुरा सिक्नु हो । विश्वको अटो बजारबारे ज्ञान लिनु हो र आफूलाई चाहिएको बेला जस्तो सवारी साधन किन्ने हो त्योबारे पहिल्यै जानकारी पनि राख्नु हो । तसर्थ म सर्वसाधारणलाई ‘नाडा अटो शो’ भिजिट गर्न आग्रह गर्छु ।

गाडी किन्ने चाहना भएकालाई पनि जसरी पनि आउन र आफ्नो रोजाइको गाडी सहुलियत र छुटमा किन्न आग्रह गर्छु । यस्तै, अलि पछि गाडी किन्ने सोचाइमा रहेकाहरुले त झनै यो शो छुटाउनै हुन्न । किनभने यहाँ दुई घण्टामा सयौं मोडलका गाडीका विशेषताहरु एकै छानाबाट थाहा पाउन सकिन्छ । पछि यही कुरा जान्नका लागि सिंगै काठमाडौं चहार्नुपर्छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?