+
+
आईपीओ प्रिभ्यू :

मध्यम जोखिमको मध्य सोलु जलविद्युतको आईपीओ

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

विजय पराजुली विजय पराजुली
२०८० भदौ २९ गते १७:४५

२९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर (मध्य सोलु जलविद्युत) लिमिटेडले २९ भदौ शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुलाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँट गरिसकिएको छ ।

यस्तै, सर्वसाधारणका लागि ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर सर्वसाधारण छुट्याइएकोमा त्यसको १० प्रतिशतले हुन आउने ७४ हजार ८४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी कम्पनीले बाँडफाँट गरिसकेको छ ।

दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीहरुका लागि र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो ।

कस्तो छ कम्पनी ?

कम्पनीले सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु जलविद्युत् आयोजना निर्माण गरी २०७९ पुसदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ ।

आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २२ साउन २०७७ देखि २१ साउन २११२ सम्म रहनेछ । आयोजनाको अवधि अब करिब ३२ वर्ष बाँकी छ । कम्पनीको सेयर पुँजीमा साधारण लगानी फिर्ता ६.९१ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष रहेको छ ।

को हुन् संस्थापक लगानीकर्ता ?

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डडेल्धुराका भीमबहादुर पाल छन् । यस्तै सञ्चालकहरुमा मोरङका रमेशराज गौतम, ललितपुरका दिपकराज जोशी र मोरङकै प्रकृति गौतम छन् । कम्पनीमा कुल ५ जना स्थायी र २२ जना अस्थायी कर्मचारी कार्यरत छन् । कम्पनीको व्यवस्थापकीय नेतृत्व प्रबन्धक सञ्चालकको रुपमा रमेशराज गौतमले गरेका छन् ।

कम्पनीमा हाल ६२ जना संस्थापक सेयरधनी रहेका छन् । १ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व रहेको आधारभूत सेयरधनी २८ जना रहेका छन् । आधारभूत सेयरधनीमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका स्थायी ठेगाना भएका श्रीजेश गुरागाईंको ९.५३ प्रतिशत होल्डिङ छ ।

यस्तै सोही ठेगाना भएका सौरभ गुरागाईंको ३.१७ प्रतिशत होल्डिङ रहेको छ । विराटनगर–१, मोरङ स्थायी ठेगाना भएकी गिता पोख्रेलको ४.६८ प्रतिशत सेयर हिस्सा छ । यस्तै डडेलधुराका विमल ऐरको ४.४२ प्रतिशत सेयर हिस्सा छ ।

कम्पनीमा हाथवे इन्भेष्टमेन्ट लिमिटेडको १.६७ प्रतिशत सेयर हिस्सा छ । विराटनगर–१ मोरङकी प्रकृति गौतमको ३.३४ प्रतिशत र मोरङकै विश्वकान्त गौतमको १.५६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

मोरङका पारस जोशीको १.६७ प्रतिशत, काठमाडौंका रविन्द्रलाल श्रेष्ठको १.६५ प्रतिशत, मोरङकी अनिताकुमारी साबुको ३.९३ प्रतिशत सेयर हिस्सा कम्पनीमा छ । मोरङकै मिरा गौतमको नाममा ३.३४ प्रतिशत, कञ्चनपुरका दमनबहादुर चन्दको नाममा १.९२ प्रतिशत र तेजराज चटौतको १.९२ प्रतिशत सेयर स्वामित्व रहेको छ । काठमाडौंकी पिंकी भण्डारीको २.९१ प्रतिशत, सुजता श्रेष्ठको १.०७ प्रतिशत सुशिला घिमिरेको १.४३ प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीले चालु आर्थिक वर्षमा ९ करोड ६८ लाख १४ मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

यस्तै कन्चनपुरका धर्मराज जोशीको १.६७ प्रतिशत, काठमाडौंका भोगेन्द्रकुमार गुरागाईंको ३.२० प्रतिशत, मोरङका रमेशराज गौतमको ३.१८ प्रतिशत सेयर स्वामित्व कम्पनीमा छ । यस्तै काठमाडौंकी  निकिता लुनावत (जैन) को नाममा ४.१८ प्रतिशत,  निशान्त लुनावतको नाममा २.९३ प्रतिशत र कैलालीका दिपेन्द्रबहादुर साउदको ४.४२ प्रतिशत सेयर हिस्सा छ ।

कैलालीकै सुमित्रा साउदको ४.८४ प्रतिशत, र काठमाडौंको डा. भुषण गुरागाईको ३.१७ प्रतिशत सेयर हिस्सा छ । मोरङका अच्युत गौतमको ४.०७ प्रतिशत, संखुवासभाको राजेन्द्रप्रसाद गौतमको २.६० प्रतिशत, मोरङकी मञ्जु शर्मा गौतमको २.५१ प्रतिशत र बद्रीप्रसाद गौतमको १.३९ प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीको वित्तीय अवस्था

कम्पनीले निर्माण गरेको रन अफ द रिभरमा आधारित मध्य सोलुखोला जलविद्युत आयोजनाले १५ पुस २०७९ देखि व्यवसायिक उत्पादन गर्दै आएको छ । कम्पनीले सुख्खायाममा व्यवसायिक उत्पादन सुरु गरेकाले गत आर्थिक वर्षमा कम्पनीको  वास्तविक व्यवसायिक अवस्था झल्किएको छैन ।

कम्पनीको गत आर्थिक वर्षमा ३ करोड २ लाख १५ हजार नाफा कमाउँदा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ४ पैसा र सञ्चित नाफा ३ करोड २ लाख १५ हजार हुने प्रक्षेपण गरेको छ ।

हाइड्रोपावर कम्पनीको निर्माण अवधिको खर्च कुल लागतमा जोडिने र कर्जाको ब्याज पनि पुँजीकरण हुन्छ । त्यसले गर्दा कम्पनीको वास्तविक वित्तीय विरणनामा नाफा नोक्सानीको हिसाब छैन भने नगद प्रवाहको विवरण र वासलात मात्रै छ ।

कम्पनीले चालु आर्थिक वर्षमा ९ करोड ६८ लाख १४ मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९४ पैसा, प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ९७ पैसा र सञ्चित नाफा १२ करोड ७० लाख २८ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

यस्तै अर्थिक वर्ष २०८१/८२ मा १० करोड ८८ लाख ४२ हजार नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५४ पैसा, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५२ पैसा र  सञ्चित नाफा २३ करोड ५८ लाख ७० हजार पुग्ने प्रक्षेपण छ ।

हाल बैंकको कुल ऋण १ अर्ब ४७ करोड १५ लाख ६२ हजार रहेकोमा आईपीओबाट संकलित १४ करोड ९६ लाख ८० हजार रकमले ऋण तिर्ने र १ अर्ब ३२ करोड १८ लाख ८२ हजार रुपैयाँ ऋण बाँकी रहने कम्पनीको भनाइ छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २१ साउन २०७५ मा विद्युत खरिद सम्झौता (पीपीए) गरेको थियो । पीपीए गर्दा आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९२ करोड ६३ लाख भए पनि आयोजना सम्पन्न हुँदा उक्त लागत बढेर २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ पुगेको कम्पनीले विवरणपत्रमा उल्लेख गरेको छ ।

लागत बढ्नुमा बैंक ब्याजदर वृद्धि हुनु, भौगोलिक विकटताको कारणले अनुमानित कामदारको संख्या भन्दा बढी कामदारहरु परिचालन गर्नु परेको कम्पनीको दाबी छ । यस्तै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुनुजस्ता विविध कारणले गर्दा अनुमानित लागत आयोजनाको निर्माण कार्य सम्पन्न हुँदा बढी लागत लागेको कम्पनीले जनाएको छ ।

कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच उत्पादन सुरु भएको पहिलो महिनादेखि १२ औं महिनासम्म सुख्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । त्यसपछि हरेक वर्ष पीपीएको दर ३ प्रतिशतका दरले बढ्दै गएर ९६ औं महिनामा सुख्खायाममा १० रुपैयाँ ४२ पैसा र वर्षायामको ५ रुपैयाँ ९५ पैसा पुग्ने र त्यसपछि सम्झौता अवधिभर सोही दर कायम हुनेछ ।

आयोजनाले सुख्खायाम अर्थात् १६ मंसिरदेखि १५ जेठसम्म १ करोड ८८ लाख १८ हजार ४५३ किलोवाट विद्युत उत्पादन हुने बताएको छ । यस्तै वर्षायाम अर्थात् १६ जेठदेखि १५ मंसिरसम्म ३ करोड ८७ लाख ८ हजार ९७७ किलोवाट विद्युत उत्पादन हुने कम्पनीले विवरणपत्रमा उल्लेख गरेको छ ।

विद्युत् ऐन, २०४९ अनुसार कम्पनीले पहिलो १५ वर्षसम्म प्रतिकिलोवाट १०० रुपैयाँ र त्यसपछि १ हजार रुपैयाँका दरले रोयल्टी तिर्नुपर्ने हुन्छ ।

आयोजनाबाट प्राप्त हुने आयमा पहिलो १० वर्ष आयकर छुट प्राप्त हुन्छ । साथै जलविद्युत आयोजनाको सम्पूर्ण संरचना, मेशिन, औजार तथा उपकरणहरुको जोखिमलाई न्यूनीकरण गर्न बीमा गरिएको समेत कम्पनीले जनाएको छ ।

जोखिमको अवस्था ?

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

सोलु खोलाको जलाधार क्षेत्रमा अप्रत्याशित रुपमा जलवायु परिवर्तन भई पानीको स्रोत घट्न गएमा उत्पादन घट्नसक्ने जोखिम रहेको रहेको कम्पनीले जनाएको छ ।

यस्तै जलविद्युत कम्पनीहरुको सेयर सार्वजनिक निष्कासन भएको ३ वर्षपछि संस्थापक सेयर पनि कारोबार गर्न सकिने भएकाले  संस्थापकको लकइन अवधि खुल्दा सेयरको आपूर्ति बढ्न गई मूल्यमा प्रभाव पर्नसक्ने विषयलाई पनि लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ ।

आईपीओबाट संकलित रकम केमा लगानी हुन्छ ?

कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न आईपीओ जारी गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुका लागि आवश्यक पर्ने पुँजी संकलन गर्नु आईपीओ जारी गर्नुको उद्देश्य रहेको विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि लगानीको अवसर दिन, बैंकबाट लिइएको कर्जा भुक्तानी तथा कम्पनीबाट आयोजना निर्माणको लागि रकम संकलन गर्न पनि आईपीओबाट पुँजी संकलन गरेको जनाएको छ ।

हाल कम्पनीमा बैंकको कुल ऋण १ अर्ब ४७ करोड १५ लाख ६२ हजार रहेकोमा आईपीओबाट संकलित १४ करोड ९६ लाख ८० हजार रकमले ऋण तिर्ने र १ अर्ब ३२ करोड १८ लाख ८२ हजार रुपैयाँ ऋण बाँकी रहने कम्पनीको भनाइ छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?