+
+

सामुन्नेमा छ जलवायु महासंकट, नेपालले के गर्ने ?

गोविन्द पौडेल गोविन्द पौडेल
२०८० भदौ ३० गते ९:२८

संयुक्त राष्ट्रसंघ अन्तर्गतको जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानमूलक संस्था ‘आईपीसीसी’ का अनुसार विश्वमा औद्योगिकीकरण सुरु भएयताका २५० वर्षमा पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियसभन्दा माथिले वृद्धि भइसकेको छ । जति वर्षहरू बित्दै गए पृथ्वीको तापक्रमलेे एकपछि अर्को रेकर्ड ब्रेक गर्दैछ । यही वर्षको जुलाई महिना पृथ्वीको औसत तापक्रम १ लाख २० हजार वर्षपछिकै सबैभन्दा उच्च रहेको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’, नासा र संयुक्त राष्ट्रसंघ अन्तर्गतका निकायहरूले उल्लेख गरे ।

सन् १९६० को दशकयता समुऽ सतहको माथिल्लो १०० मिटरको पानीको तापक्रम ०.६ डिग्री सेल्सियसले बढेको छ । र, हरेक वर्ष बढ्ने क्रम जारी छ । विश्वका १९६ देश मिलेर गरेको २०१५ को पेरिस सम्झौता अनुसार पूर्व औद्योगीकरण समययता विश्वको तापक्रम १.५ डिग्रीमा सीमित राख्ने (२ डिग्रीले बढ्न नदिने) सीमारेखा केही दशकमै मिचिने अध्ययनहरूले देखाइसकेका छन् ।

केही वर्षयता हाम्रो देशको जलवायुमा पनि व्यापक परिवर्तनका असर देखिन थालेका छन् । वषर्ाको स्वरुपमा परिवर्तन हुन थालेको छ । मनसुनको समयमा लामो खडेरी पर्ने र बाली भित्र्याउने बेला भीषण हावा, हुरी र वर्षाले बालीनाली ध्वस्त पार्ने नियति बढ्दो छ । अकस्मात् एकै ठाउँमा हाँडीघोप्टे वर्षा हुने क्रम बढेको छ ।

हिमाली जिल्ला मुस्ताङ जस्तो बढी पानी पर्ने कल्पना गर्न नसकिने ठाउँको कागबेनीमा साउनको अन्तिम हप्ता भीषण वषर्ा र बाढी आएर दुई दर्जन भन्दा बढी घर बगायो । त्यहीबेला तराईका जिल्लामा लामो समय पानी नपरेर रोपाइँ हुन पाइरहेको थिएन ।

जलवायु परिवर्तन मानिस मात्रका लागि होइन लाखौं मानिसका लागि अभिशाप बन्दैछ । यसले हजारौं जीवलाई लोप बनाएको छ । हजारौं जीव बदलिएको वातावरणमा बाँच्न संघर्ष गर्दैछन् । चाल्र्स डार्बिनको भाषामा ‘जीवहरू नयाँ वातावरणमा फिट हुनसके बाँच्नेछन्, अन्यथा मर्नेछन् ।’ जलवायु तथा बदलिंदो वातावरणका कारण विश्वव्यापी रूपमा १० लाखभन्दा बढी जीव लोप हुने अवस्थामा रहेको आकलन छ । वैज्ञानिकहरूको अनुसन्धानले अबको ५० वर्षमा एकतिहाइ वनस्पति र जनावर लोप हुनसक्ने चेतावनी दिएको छ ।

विश्वका विभिन्न देशमा अत्यधिक गर्मीले दर्जनौं मानिसको एकैपटक ज्यान गएको समाचार सुनिन थालेका छन् । ठूला-ठूला डढेलोका प्रकोप ब्ाढेका छन् । अन्न उत्पादन घटेर भोकमरीको समस्यामा वृद्धि हुन थालेको छ ।

जलवायु परिवर्तनले निम्त्याउने विपत्तिको हामी निकै सुरुवात अवस्थामा मात्रै छौं । केही दशक पछाडिको कष्टकर जीवन अनुमान गर्न अहिलेका संकेतहरू नै काफी छन्, जब- हामीले फेर्ने हावा तातो हुनेछ । हामीले टेक्ने जमिन तातो हुनेछ । धारोमा खसिरहेको पानीले छाला पोल्नेछ । बदलिएको मौसम र वातावरणसँग बाँच्न प्रत्येक मानिस संघर्षरत हुनेछन् ।

आर्कटिक महासागरको सतहमा विशाल हिउँको मात्रा थियो । यसले ध्रुवीय क्षेत्रलाई चिसो बनाइराख्न र महासागरको पानीलाई तात्न नदिन अहं भूमिका खेल्थ्यो । तर, अहिले त्यहाँको हिउँ तीव्र गतिमा पग्लिरहेको छ । हरेक दशकमा १३ प्रतिशतको दरले आर्कटिक महासागरको हिउँ पग्लिरहेको छ । यही कारण सन् २०५० सम्ममा आर्कटिक क्षेत्र हिउँविहीन बन्ने चेतावनी दिइएको छ ।

यसले महासागरको सतह बढाउनेछ । महासागरको पानी तात्नु भनेको जमिनतिरको तापक्रम पनि बढ्नु हो । यसले जलीय पारिस्थितिक पद्धतिलाई गम्भीर क्षति पुर्‍याउनेछ । समुऽी किनारमा रहेका देशलाई विस्थापित गर्नेछ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० पछि विश्वमा जलवायु परिवर्तनको असरका कारण कुपोषण, मलेरिया, झाडापाखाला, उच्च तापका कारण प्रत्येक वर्ष थप २ लाख ५० हजार मानिसको मृत्यु हुनेछ । मानिसले स्वास्थ्यका लागि छुट्याउनुपर्ने बजेट बढ्नेछ । परिणामतः करोडौं मानिस गरिबीको रेखामुनि धकेलिने छन् ।

विश्वभर करिब ८० लाखभन्दा बढी प्रजातिका जीव पाइने अनुमान छ । तीमध्ये १० लाख प्रजातिको मात्रै गतिलोसँग पहिचान हुनसकेको छ । मानिसका लागि सबै जीव किन चाहिए त भन्ने प्रश्न उठ्न पनि सक्छ । तर अहिलेसम्मको वैज्ञानिक तथ्यहरूले के भन्छन् भने, पारिस्थितिक प्रणालीमा एउटा प्रजाति नहुँदा सिंगो पारिस्थितिक प्रणालीमा गम्भीर असर परिरहेको हुन्छ । त्यसको असर मानिससम्म पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा आइपुग्छ ।

यसकारण तात्दैछ पृथ्वी

पृथ्वी तात्नुको मुख्य कारण मानवीय क्रियाकलापबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड, मिथेन, पानीको वाष्प र नाइट्रसअक्साइड जस्ता हरितगृह ग्याँस हुन् । वायुमण्डलमा यी ग्याँस पनि चाहिन्छन् तर ठिक्क मात्रामा । यिनीहरूको मात्रा ठिक्क हुँदा पृथ्वीका जीवलाई फाइदाजनक हुन्छ । यी ग्याँसले पृथ्वीको तापक्रम सन्तुलित बनाउन सहयोग गर्छन् । तर, यी ग्याँसको मात्रा सामान्यभन्दा बढी भयो भने यिनले वायुमण्डलमा ‘ब्ल्यांकेट’ को काम गर्छन् र सूर्यको सबै तापलाई वायुमण्डल बाहिर जानबाट रोक्छन्, जसका कारण पृथ्वीको तापक्रम बढ्न थाल्छ । चलनचल्तीको भाषामा यसैलाई ‘ग्लोबल वार्मिङ’ भनिन्छ ।

औद्योगिक क्रान्तियताका २५० वर्षमा पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा ५० प्रतिशतले बढेको छ । मिथेनको मात्रा दोब्बर बढी भएको छ । पृथ्वीमा पाइने कोइला, डिजल, पेट्रोल, प्राकृतिक ग्याँस लाखौं वर्षअघिका जीवहरूको अवशेषबाट बनेका हुन् । यी पदार्थ आजको विश्वमा गाडी तथा उद्योगका इन्धनको मुख्य स्रोत बनेका छन् ।

कार्बनडाइअक्साइड मुख्यतः जैविक इन्धन बाल्दा उत्पादन हुन्छ । यसमाथि कार्बनडाइअक्साइड ग्याँस सोस्ने बोटबिरुवा काटिंदै छन् । कुहिने पदार्थबाट मिथेन निस्किन्छ । जीवाशेष इन्धन बाल्दा, नाइटि्रक अम्ल बनाउँदा, प्रांगारिक र रासायनिक मल बनाउँदा नाइट्रसअक्साइड पैदा हुन्छ । यस्ता ग्याँस उत्सर्जनमा विकसित देश बढी जिम्मेवार छन् । चीन, अमेरिका, भारत, रूस र जापान विश्वका प्रमुख पाँच हरित ग्याँस उत्सर्जनकर्ता हुन् ।

कार्बन उत्सर्जन रोक्न अलमल

पृथ्वीको तापक्रम नियन्त्रण नगरे यसले मानव जातिलाई एउटा हैन अनेकौं संकटले घेर्नेछ । खानेपानीको हाहाकार, कृषि उत्पादनमा भारी गिरावट, प्राकृतिक विपत्ति, सरुवा रोगहरूको बिगबिगी, अर्थतन्त्रमा संकट, ऊर्जा संकट लगायत यस्त्ाो कुनै क्षेत्र रहने छैन जसमा जलवायुको असर नपरेको होस् । वैज्ञानिकहरूले जलवायुको संकटसँग जुध्ने उपाय खोज्न सजिलो छैन । किनकि यसको असर चौतर्फी रूपमा पर्दैछ । यसको एउटै उपाय भनेको हरित गृह ग्याँसको उत्सर्जन रोक्ने नै हो । यसैले वैज्ञानिकहरूले जलवायु संकटलाई मानिसले सामना गर्नुपर्ने सबैभन्दा भयानक संकटका रूपमा अथ्र्याएका छन् ।

विभिन्न देशले सन् १९५० देखि १९६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने घोषणा गरेका छन् । तर त्यसको तयारी जति तीव्र हुनुपर्ने हो त्यति भइरहेको देखिन्न । विश्वका राष्ट्रहरू बीचमा राजनीति, अर्थतन्त्र, अन्तरिक्ष, राष्ट्रवाद र सामरिक स्वार्थको प्रतिस्पर्धामा जलवायुको मुद्दा ओझेलमा परेको छ । अर्कोतिर पचासको दशकसम्म जलवायु परिवर्तनले धेरै ठूलो क्षति पुर्‍याइसकेको हुनेछ । अहिले नै कार्बन उत्सर्जन शून्यमा झारे पनि पृथ्वीलाई पूर्ववत् अवस्थामा फर्काउन अब कठिन रहेको विश्लेषण जो गरिएको छ ।

नेपालको फितलो तयारी

आउँदा वर्षहरूमा नेपालले जलवायु परिवर्तनका ठूलो असरहरूको सामना गर्नुपर्नेछ । नेपाल हिमालयको देश भएकाले पनि जलवायु परिवर्तनको बढी असर र क्षति यहाँ पर्नेवाला छ । अहिले नै वषर्ाको स्वरूपमा परिवर्तन हुन थालेको छ । हिमालहरू काला हुँदै गएका छन् । लामो खडेरीले नेपालका कैयौं नदी सुकाउनेछ । जलविद्युत् र सिंचाइमा गम्भीर धक्का पुर्‍याउनेछ । सेता हिमालको मनमोहक दृश्य हेर्न विश्वभरबाट नेपाल ओइरिने पर्यटकहरू घट्नेछन् । यसको असर अर्थतन्त्रमा पर्नेछ ।

नदीहरू सुक्दै जाँदा जलविद्युत् उत्पादन घट्नेछ । यसबाट गम्भीर ऊर्जा संकट आउन सक्नेछ । यसर्थ, जलविद्युत्मा आउन सक्ने सम्भाव्य संकटबाट बच्न अरू नवीकरणीय ऊर्जाका स्रोतहरू सौर्य, वायु र परमाणविक ऊर्जाको विकल्पहरूमा पनि काम गर्नुपर्ने आवश्यकता छ ।

हाम्रा गाउँघरतिर खानेपानी र सिंचाइको प्रमुख स्रोत स्थानीय खोलानाला हुन् । वषर्ामा आउन सक्ने अनियमितताले खोलानालाका मूलहरू सुकाउन सक्नेछ । खानेपानीको समस्या आउन सक्छ । यसो हुँदा कृषि उत्पादनमा ठूलो ह्रास आउनेछ । यसर्थ, सिंचाइको एउटै स्रोतमा भर नपरी अरू स्रोतबारे पनि समयमै सोच्न आवश्यक छ ।

नेपालमा २३ सय भन्दा बढी हिमताल छन् । हिमतालहरू फुटेर आउन सक्ने बाढीले ठूलो धनजनको क्षति पुर्‍याउन सक्छ । यसर्थ, नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुबारे सशक्त आवाज उठाउनुपर्छ । नेपालले २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य लिए पनि तदारुकताका साथ काम गरिरहेको देखिन्न । हामीले जति छिटो शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्छौं त्यति नै अरू देशहरूमाथि दबाब बढाउन सजिलो हुने तथ्य बिर्सन हुँदैन । निराशाजनक कुरा यो छ कि स्वदेशमै विद्युतीय गाडीको उत्पादन गर्ने वातावरण तयार गर्न सरकार अझै अग्रसर भएको देखिन्न । यो कुरा जलवायुको मुद्दाको लागि मात्रै होइन शहरको प्रदूषण घटाउन पनि अत्यावश्यक भइसकेको छ ।

विश्वले जैविक इन्धन विकल्पबारे काम गरिरहेका वेला हामीले चाहिं रासायनिक मल उत्पादन गर्ने कारखाना कोइला र प्राकृतिक ग्याँसबाट चल्ने गरी काम गर्न खोज्नु उदेकलाग्दो कुरा हो । यस्ता कारखाना जलविद्युत्ा्बाट पनि चलाउन सम्भव छ र त्यो नेपालको पर्यावरणीय हितमा पनि हुनेछ भन्ने विज्ञहरूबाट आइरहेकै छ । अहिल्यै सोच्नुपर्नेछ, अबका उद्योगमा नवीकरणीय ऊर्जा प्रयोगको विकल्प छैन ।

आउँदा वर्षहरूमा बढ्न सक्ने प्राकृतिक विपत्तिको क्षति न्यूनीकरणको तयारी, राहत तथा उद्धारका लागि विशेष कोष खडा गर्न आवश्यक छ । कुनै पनि वर्ष आउन सक्ने लामो खडेरी तथा अतिवृष्टिका कारण आउन सक्ने खाद्यान्न संकटबाट बच्न अहिले उत्पादन वृद्धि र बृहत् खाद्यान्न भण्डारणको व्यवस्था गरिनुपर्छ ।

पहाडी क्षेत्रमा जथाभावी डोजर चलाउँदा केही वर्षपछि त्यसको मूल्य चुकाउनुपर्ने कुरामा सजग रहन आवश्यक छ । विकसित देशहरूसँग नेपाल जस्ता देशले क्षतिपूर्तिको मागका लागि निरन्तर आवाज उठाइरहनुको विकल्प छैन । जलवायुका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुँदैगर्दा विदेश भ्रमणमा रमाउने भन्दा पनि हरित ग्याँस उत्सर्जनलाई रोक्न छिटो काम गर्नुपर्ने मुद्दालाई सशक्त रूपमा उठाउन सक्नुपर्ने हुन्छ ।

वातावरण तथा पर्यावरणमा विनाश लीला मच्चाएर सम्पन्न भएका आजका विकसित मुलुक जलवायु परिवर्तनमा बढी जिम्मेवार छन् । निश्चय नै ती देशहरूबाट क्षतिपूर्ति माग्नैपर्ने हुन्छ । अर्कोतिर, ती देशका विकासको पदचाप पछ्याएर अबका विकासोन्मुख मुलुकले दिगो समृद्धि हासिल गर्दैनन् ।

विश्वभर वैज्ञानिकहरूले वातावरणमैत्री र पृथ्वीमैत्री विकासको मोडेलमाथि अनुसन्धान गरिरहेका बेला विकासमा बामे सर्न खोजिरहेको हाम्रो जस्तो मुलुकले दिगो विकासको मोडेल पछ्याउन आवश्यक छ । जलवायु परिवर्तनको असर कम गर्ने उपायहरूमाथि वैज्ञानिक अनुसन्धान गर्न बजेट छुट्याउनुपर्ने हुन्छ । विकास निर्माण गर्नुपूर्व पर्याप्त अनुसन्धान गर्दै जलवायु परिवर्तनको आसन्न संकटले नबिगार्ने खालको मोडेल पछ्याउनु नै अबको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?