+
+

क्यानडामा शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप, भारतीय कूटनीतिज्ञ देश निकाला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १०:३१
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

२ असोज, काठमाडौं । क्यानडाले एकजना शिख नेताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाउँदै एक जना भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारका एजेन्टले गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए ।

उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए ।

गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।

लगत्तै क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन् । ती भारतीय कूटनीतिज्ञबारे उनले थप जानकारी भने दिएकी छैनन् । यद्यपि देश निकाला गरिएका भारतीय कुटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको बताइएको छ ।

सीबीसीले भने देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ पवन कुमार राय रहेको दाबी गरेको छ ।

भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ ।’

क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने क्यानडाभित्र कुनै पनि नागरिकको हत्या गराउन विदेशी सरकार संलग्न हुनु हाम्रो देशको सम्प्रभूताको उल्लंघन भएको टिप्पणी गरेका छन् । उनले यो हत्याबारे अनुसन्धानका लागि भारतलाई दबाव दिने पनि बताएका छन् ।

क्यानडामा भारतीय मूलका १४ लाख बढी नागरिक रहेको बताइन्छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् । क्यानडामा विपक्षी दल न्यू डेमोक्रेटिक पार्टीका नेता शिख समुदायकै जगमित सिंह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?