 
																			५ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी सम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ ।
‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नुभएको छ । उहाँहरुलाई सम्मान र इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भ्रातृ संघ–संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेता गोपाल दहितले भने ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा–सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिनु नहुने बताएका हुन् ।
नेपाली कांग्रेस निकट शिक्षकहरुको पनि संघ छ । कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आबद्ध छन् । कतिपय शिक्षकहरुले संघ बनाउन पाउनु र पार्टी सम्बद्ध हुन पाउनु मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेता दहितले पार्टी सम्बद्ध शिक्षक संगठन खारेजीको माग राखेका हुन् ।
‘यदि नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरु खारेजी गर्नुपर्छ’ उनले अगाडि भने, ‘उनीहरुलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यवसाय गर्न दिने हो । प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन ।’
विश्वभरका विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको बताउँदै नेता दहित भन्छन्, ‘नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको बाधकको रुपमा युनियनहरु पाइरहेका छौं ।’
नेकपा एमाले युनियन पार्टी संगठनकै रुपमा रहेको पनि कांग्रेस नेता दहितले स्मरण गरे ।
साथै, कांग्रेस नेताहरुले शिक्षकहरुको सेवा–सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग राखेका छन् ।
विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि कांग्रेस नेताहरुले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।
कांग्रेसले विद्यालय शिक्षा विधेयककै विषयमा छलफल गर्न सांसदहरुको बैठक समेत आह्वान गरिसकेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार यही असोज ८ र ९ गते कांग्रेस सांसदहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकका विषयमा सामूहिक छलफल गर्नेछन् । छलफलका आधारमा विधेयकउपर संसदीय प्रक्रियामा अगाडि बढ्ने कांग्रेसको तयारी छ ।
विद्यालय शिक्षा विधेयक सार्वजनिक सरोकारमा चर्चाको विषय भएको उल्लेख गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले पार्टीका केन्द्रीय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा भाग लिन आमन्त्रण गरेका छन् ।
विद्यालय शिक्षा विधेयक केन्द्रित कांग्रेसको छलफल नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा हुनेछ ।
कांग्रेस प्रमुख सचेतक लेखकका अनुसार विधेयक केन्द्रित छलफल गर्ने निरन्तरको कार्यक्रमअन्तर्गत असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयक केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम राखिएको हो । असोज ११ गते विद्युत् विधेयक केन्द्रित छलफल राखिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4