+
+

रेकर्ड होल्डर खुसी

नमिता दाहाल नमिता दाहाल
२०८० असोज ६ गते १८:३०

गत महिना मलेसियामा भएको चारदेशीय सिरिजमा नेपाली महिला क्रिकेट टिमबाट तीन जनाले डेब्यू गरे । तीमध्ये एक थिइन्- खुसी डंगोल ।

कुवेतविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेकी उनी डेब्यू बलमै रेकर्ड होल्डर बनिन् ।

कुवेत विरुद्ध चौधौं ओभरमा बलिङ गरेकी उनी डेब्यू बलमा नै विकेट लिने पहिलो नेपाली खेलाडी हुन् भने विश्वमा चौथो । ‘रेकर्ड भन्दा पनि पहिलो बलमा मैले विकेट लिएपछि सबैजना यति धेरै खुसी हुनुभयो कि मिड अफ लङअनमा भएका सबैजनाले मलाई बधाई दिन आउनुभयो’, उनले सम्झिइन् ।

राष्ट्रिय टिमबाट खेलेका ८ खेलमा उनले ८ विकेट लिएकी छन् ।

२०७६ बाट घरेलु क्रिकेट खेल्न थालेकी खुुसीको पनि राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने ठूलो इच्छा थियो ।

‘पहिलो पटक जर्सी लगाउँदा मेरो आँखाभरि आँसु आयो । त्यो खुसीको आँशु थियो । मेरो एउटा सपना पूरा भएको अनुभव भयो’, उनले अनलाइनखबरसँग भनिन् ।

बागमतीबाट इन्ट्री, राष्ट्रिय टिमबाट कीर्तिमान

खुसीले २०७४ सालमा कक्षा ९ मा पढ्दादेखि विद्यालयस्तरको क्रिकेट खेल्न सुरु गरेकी थिइन् । खेलमा रुचि राख्ने उनी पढाइमा पनि उत्तिकै अब्बल थिइन् । विद्यालयका क्रिकेट प्रशिक्षक रवि जोशीले महिला क्रिकेटको महत्व बुझाएपछि क्रिकेट खेल्न थालेकी थिइन् । विद्यालयस्तरमा खेलिरहेकी खुसीले २०७६ को प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट खेल्न छनोट भइन् ।

टोखा नगरपालिका-२ यलःकी बासिन्दा उनले विद्यालयस्तरमा क्रिकेट सिक्दा ब्याटिङ गर्थिन् । तर एकदिन दाजुहरुसँग क्रिकेट खेल्दै गर्दा उनले बल समातिन् र पहिलो पटक अञ्जानमै हात घुमाइन् । हात घुमाउँदा उनलाई लेगस्पिन सहज लाग्यो । अञ्जानमा गरेको बलिङ स्टाइलले नै हाल खुसीलाई पहिचान दिलाइरहेको छ ।

आगामी दिनमा नेपाली महिला क्रिकेटलाई पनि वर्षै भरी विदेशी प्रशिक्षक र खेल खेल्ने माहोल मिलेको खण्डमा नेपाली टिमले विश्वकप खेल्नेमा खुसी विश्वस्त छिन् खुसी

‘मलाई सुरुमा बल समाउँदा थाहा थिएन । कुन, कसरी, के बलिङ भन्ने मलाई हात घुमाउन सहज लागेको कारणले गरेको थिए, त्यसलाई लेग स्पिन भनिँदो रहेछ’ उनले भनिन् ।

दाङको लमहीमा भएको आठौं राष्ट्रिय क्रिकेट प्रतियोगितामा खुसी बागमती प्रदेशबाट १५ जनाभित्र परेकी थिइन्, तर उनले त्यस खेलमा भने खेल्न पाइनन् ।

२०७६ सालमा महेन्द्रनगरमा भएको प्रधानमन्त्री कपमा डेब्यू गर्दा उनले बिना कुनै रन खर्चेर ५ विकेट लिएकी थिइन् । यो घरेलु प्रतियोगितामा बनेको उनको राष्ट्रिय कीर्तिमान हो ।

बागमती प्रदेशमा लेग स्पिनबाट आफ्नो राम्रो प्रभाव बनाइरहेकी खुसी घरेलु क्रिकेटमा २०१९ यता सर्वाधिक विकेट लिने महिला खेलाडी पनि हुन् । उनले २०१९ बाट हालसम्म घरेलु क्रिकेटमा २२ विकेट लिएकी छिन् ।

२०७६ सालमा राष्ट्रिय क्रिकेटमा रेकर्ड बनाएकी उनी पढाइ र क्रिकेटलाई सँगसँगै अघि बढाइरहेकी छन् । विद्यालयमा एसईई टप गरेपछि विज्ञान संकाय लिएर पढोस् र इन्जिनियर बनोस् भन्ने उनका अभिभावकको चाहना थियो ।

‘प्रधानमन्त्री कपमा बेस्ट बलर पाएपछि मलाई घरमा सम्झाएर व्यवस्थापन संकाय पढ्दै क्रिकेट पनि अगाडि बढाउन सहज भयो’, उनले भनिन् ।

उत्कृष्ट बलर भएपछि २०७६ मा जगत टमटाको प्रशिक्षणमा उनी पहिलो पटक टिममा परिन् । ‘म पहिलो पटक क्याम्पमा पर्दा सिक्ने मानसिकताको साथमा आएकी थिएँ । म टिममा पर्नै पर्छ भन्ने थिएन, तर दोस्रो पटक क्याम्पमा पर्दा टिममा नै पर्ने गरी आउँछु भन्ने सोच थियो, सोचेजस्तै भयो’, खुशीले सम्झिइन् ।

अमेरिका जान छाडेर क्रिकेट

उनी क्रिकेट छोडेर अमेरिका जाने सोचमा थिइन् । बागमती प्रदेशबाट क्रिकेट खेल्दै गरेकी उनको पढाइ पनि राम्रो थियो । उनले नेपालमा भविष्य नदेख्दा विदेशिने सोच बनाएकी थिइन् ।

अमेरिकाबाट आई २० लेटर (आधिकारिक रजिष्टर गरी पढ्नका लागि कलेजले पठाउने स्वीकृति पत्र) आइसकेको थियो । उनले त्यो बेला धेरैको सहयोगमा क्रिकेटमा लाग्ने निर्णय गरेकी थिइन् ।

महिला टिमलाई म्याच एक्सपोजरको खाँचो

ब्याटिङ कोचको साथमा खुसी ।

नेपाली महिला क्रिकेट टिमकी उदीयमान खेलाडी खुशी नेपाली महिला क्रिकेटरलाई एक्सपोजर आवश्यक रहेको बताइन् । ‘नेपालका खेलाडी प्राविधिक रुपमा निकै अब्बल र सक्षम छन् तर उनीहरुलाई ठूला टिमसँगको म्याच एक्सपोजरको खाँचो छ ।’

नेपाली महिला टिम निकै सम्भावना बोकेको टिम हुनाले एउटा उचित मार्गदर्शक र खेलहरु हुने हो भने महिला टिमले छिट्टै विश्वकप खेल्ने क्षमताको हुने खुसीले बताइन् ।’हामी मेहनती पनि छौ, हामीलाई एउटा उचित मार्गदर्शक र जतिसक्दो धेरै घरेलु र अन्तर्राष्ट्रिय खेलहरु चाहिएको छ ।’ उनले भनिन्, ‘२०१९ यता मैले खेलेको क्रिकेटको शैली एउटै छ । प्रशिक्षण प्रविधि एउटै छ तर देविका -भारतीय ब्याटिङ प्रशिक्षक) म्याम आएपछि हामीले छोटो समयमा पनि धेरै कुरा सिक्ने र सच्चिने मौका पायौं ।’

आगामी दिनमा नेपाली महिला क्रिकेटलाई पनि वर्षै भरी विदेशी प्रशिक्षक र खेल खेल्ने माहोल मिलेको खण्डमा नेपाली टिमले विश्वकप खेल्नेमा खुसी विश्वस्त छिन् उनी ।

‘विश्वकप खेल्ने रहर छ । त्यसका लागि हामी सक्षम पनि छौं । पूरै वर्ष एकै ठाउँमा बसेर हामीले खेल्ने र सिक्ने मौका पायौं भने नेपाली महिला टिमले धेरै नै छिटो विश्वकप खेल्न सक्छ ।’

यस पटक महिला खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले खर्च पनि गरेको हो तर वर्षैभरिको यसको निरन्तरता हुनुपर्ने खुसी बताउँछिन् ।

‘हामीले नतिजा नै दिन सकेका छैनौं । खर्च एकोहोरो मात्रै पनि कति गर्नु हामीले नतिजा दिएको खण्डमा उहाँहरुले हाम्रो लागि सेवा सुविधामा पनि विस्तार गर्दै जानुहुन्छ होला’, खुसीले भनिन् ।

फोटो/ भिडियो : चन्द्रबहादुर आले

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?