+
+

अनमोल केसी भन्छन्- अहिलेसम्म फिल्म ‘रावायण’ साइन गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १३:४२
अभिनेता अनमोल केसी । फाइल तस्वीर

काठमाडौं । अभिनेता अनमोल केसीले आफूले फिल्म ‘रावायण’ अहिलेसम्म साइन नगरेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले ‘फर्की फर्की’ र ‘जेरी अनटप’बाहेक अन्य फिल्ममा अनुबन्धित नभएको बताए ।

साइन नभईकन ‘रावायण’का निर्माताले कफी खान भेटेको बेलाको तस्वीरलाई ‘रावायण कमिङ सुन’ भनेर प्रचार गरेकोप्रति केसीले असन्तुष्टि व्यक्त गरे । औपचारिक रुपमा अनुबन्धित नभईकन निर्माताले सुटिङमा जानुपर्छ भनेर दबाब दिएको र यसप्रति आफूले असुविधा महसुस गरेको अनमोलले बताए ।

अनमोलले भने, ‘पछिल्लो समय उहाँहरुले तिहारअघि नै सुटिङ सक्ने भनेर टेक्निसियनलाई साइन गराउनुभएको रहेछ ।’ रावायणका निर्मातालाई आफूले दुईवटा विकल्प पेश गरेको अनमोलले बताए ।

उनले भने, ‘यो परिस्थितिमा उहाँलाई मैले दिएको दुईवटा अप्सन दिएको छु– या तपार्इंलाई प्रोजेक्टप्रति कन्फिडेन्ट छ भने अर्को एक्टर लिएर जानुस् । वा मसँग काम गर्ने इच्छा भने मैले अरु प्रोजेक्टलाई टाइम दिइसक्या छु । कुर्नुपर्ने हुन्छ ।’

यसबारे सम्पर्क गर्दा रावायणका निर्देशक सुदर्शन थापाको फोन उठेन । रावायणका प्रोडक्सन म्यानेजर पुष्कर लामाले कहिलेबाट छायांकन सुरु हुन्छ भन्नेबारे बताएनन् ।

अनलाइनखबरसँग अनमोलले के भने ?

रावायण भन्ने प्रोजेक्टमा मेरो अग्रिमेन्ट र साइन केही पनि भएको छैन । प्रक्रियाको सिलसिलामा कफी खान भेटिन्छ, मेकर र एक्टरबीच कसरी अघि बढ्ने भन्ने बारेमा भेटिन्छ । तर उहाँहरुले सोसल साइटहरुमा रावायण कमिङ सुन भनेर हाल्नुभयो । तर मेरो साइडबाट, म रेडी नभएसम्म म साइन पनि गर्दिनँ, कसैलाई भन्न पनि भन्दिन । मेरो पछिल्लो फिल्म जे भयो, त्यसबाट अलिकति हरेक चीजमा सहमति गरेपछि गर्नैपर्ने हुन्छ । त्यही भएर जबसम्म एक्टरलाई स्क्रिप्ट चित्त बुझ्दैन र एक्टरलाई चाहिने समय तपाईंहरुले दिनुहुन्न, प्रोजेक्टमा अघि बढ्दिन भनेर भनेको थिएँ ।

अहिलेसम्म फिल्म गर्दिन पनि भनेको छैन मैले उहाँहरुलाई । यदि उहाँहरुले मलाई टाइम दिनुहुन्छ र आफ्नो साइडबाट कन्फिडेन्ट हुनुहुन्छ भने त्यो कन्फिडेन्ट त मैले पनि फिल गर्नुपर्‍यो नि । बल्ल टिमको रुपमा अघि जान सक्छौं भन्ने कुरा मात्र निकालेको हो ।

तर पछिल्लो समय मैले के थाहा पाएँ भने मेरो पाइपलाइन प्रोजेक्टमा यसअघि नै फर्की फर्की र जेरी छ । उहाँहरुले टेक्निसियनलाई साइन गरेर कुरालाई अघि बढाउनुभएछ । किनभने साढे दुई महिनामा मैले ब्रेक लिएको थिएँ । तर उहाँहरुले अहिले फिल्म नगरेपछि जान्छ भनेर उहाँहरुले दबाब र हतार दिन थाल्नुभयो । आएर अग्रिमेन्ट नै नगरकन चेक दिनुभयो । सम्मानस्वरुप त्यो चेक मैले लिएँ । तर मैले के भनेको थिएँ भने जबसम्म मलाई चित्त बुझ्दैन, प्रोजेक्ट गर्दिन र जबसम्म सहमत हुँदिन साइन पनि केही गर्दिन भनेको थिएँ । अहिलेसम्म हाम्रो अग्रिमेन्ट भएको पनि छैन ।

पछिल्लो समय उहाँहरुले तिहारसम्म सुटिङ सक्ने भनेर टेक्निसियनलाई साइन गराइसक्नुभएको रहेछ । वर्कसप केही पनि रेडी भएको छैन । यो परिस्थितिमा उहाँलाई मैले दिएको दुईवटा अप्सन भनेको या तपाई्लाई प्रोजेक्टप्रति कन्फिडेन्ट छ भने अर्को एक्टर लिएर जानुस । वा मसँग काम गर्ने इच्छा भने मैले अरु प्रोजेक्टलाई टाइम दिइसक्या छु । कुर्नुपर्ने हुन्छ तपाईंहरुले, नभए सबै प्रोजेक्ट धकेलिन्छ । जेरी, फर्की फर्कीले पनि ८–९ महिनादेखि मलाई कुरेर बसिराख्नुभएको छ । यो भन्दाखेरि उहाँहरुले हामीले लगानी गरिसक्या छौं, असर पर्छ भन्ने कुरा गर्नुभयो । मैले उहाँहरुलाई भने जेरी र फर्की फर्कीका निर्माताको पनि अहिलेसम्म कति खर्च भयो होला भनेर भन्दा गर्नैपर्छ भन्नुभयो ।

त्यो माहोल नै मलाई डिस्कम्फर्ट लाग्यो । हतारिएर जानुपर्ने त केही कारण देख्दिन । उहाँहरु आफ्नो ठाउँमा तयार पनि हुनुहुन्छ तर दुई फिल्मलाई मैले वचन दिइसकेको छु । फोर्सफुल गर्न खोजको कुराले मलाई ब्याड भाइब्स आइरहेको छ । कुरा यत्ति हो । मेरो अग्रिमेन्ट नभईकन उहाँहरुले कसरी यही डेटमा जान्छु भनेर अरु टेक्निसियनलाई साइन गराउनुभयो ? यथार्थ कुरा यही हो । पछि गएर उहाँहरुले मलाई लिगल्ली एक्सन लिनुभयो भने पनि मैले बोल्ने कुरा त्यही नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?