+
+

जब सुतिरहेको ६ महिने बच्चाका औंलाहरू मुसाले खाइदियो …

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १०:५९

बुवा आमा गहिरो निद्रामा सुतिरहेको बेलामा एक ६ महिने शिशुलाई मुसाले आक्रमण गरेर सख्त घाइते बनाएको छ ।

मुसाको आक्रमणबाट शिशु रगतमा लतपतिएको अवस्थामा फेला परेका छन् । उनको टाउको तथा अनुहारमा मात्रै ५० भन्दा बढी गहिरा घाउहरु थिए भने हातका औंलाहरू मुसाले खाइदिएको छ ।

अमेरिकाको इण्डियानामा यो दर्दनाक घटना भएको हो । पुलिसले बच्चाको बुवा डेभिड र आमा एन्जिल स्कोनाबमलाई पक्राउ गरेको छ । साथै उनीहरुसँगै बस्ने काकी पनि पक्राउ परेकी छिन् ।

उनीहरुमाथि लापरबाही गरेको लगायतका विभिन्न मामिलामा मुद्दा दर्ता गरिएको छ ।

ती दम्पतीका तीनवटा बच्चा छन् । उनीहरु अर्को एक परिवारसँगै घरमा बस्ने गरेका छन् । अर्को परिवारका दुई बच्चा छन् ।

घटनास्थलमा प्रहरी पुग्दा मुसाको आक्रमणबाट बच्चा रगतले लतपतिएको र उसको टाउको, अनुहार तथा अन्य भागमा गहिरो घाउहरू भएको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार मुसाले बच्चाको दायाँ हातका बुढी औंलासहित पाँचवटै औंला पूरै मुसाले खाइदिएको छ । ती औंलामा मुसाले सबै मासु खाइदिएपछि केवल हड्डी मात्र देखिएको छ ।

बच्चालाई प्रहरीले उद्धार गरेर तत्कालै अस्पताल लैजाने बेलासम्म उसको शरीरको तापक्रम निकै तल झरेको थियो । यद्यपि डाक्टरहरुले उसलाई रगत चढाएर सघन उपचार मार्फत् बचाउन सफल भएका छन् ।

न्युयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार बच्चाको घर मुसाको दिसा तथा फोहोरले भरिएको थियो । पुलिससँगको बयानमा बच्चाका पिताले गत मार्चदेखि नै मुसाले निकै दुःख दिँदै आएको र मुसा नियन्त्रणका लागि विभिन्न उपायहरु समेत अपनाएको बताएका छन् ।

यद्यपि प्रहरी अनुसन्धानका क्रममा उक्त घरमा यसरी मुसाले बच्चालाई खाने घटना यसअघि पनि भएको पत्ता लगाएको छ । तीन हप्ताअघि समेत त्यहीँ घरमा दुईजना बच्चालाई मुसाले टोकेको थियो ।

सो घरका दुई बच्चाले आफ्नो विद्यालयका शिक्षकलाई गत सेप्टेम्बर १ मा सुतिरहेको बेला मुसाले आफ्नो खुट्टाका औँला खाइदिएको बताएका थिए । त्यसपछि बालसेवा विभागका कर्मचारीहरु त्यो घरमा जाँचका लागि आएका थिए । त्यसक्रममा बच्चाकी आमाले आफ्नो घरमा केही मुसा रहेका तर त्यसले बच्चालाई कुनै हानी नपुर्‍याएको बताएकी थिइन् । त्यतिबेला अधिकारीहरुले परिवारलाई मुसाबाट बँच्नका लागि सुरक्षा योजना सुझाएका थिए र पुनः निरीक्षणका लागि आउने बताएका थिए ।

उनीहरु उक्त घरमा गत सेप्टेम्बर १४ मा पुग्ने तालिका थियो । त्यसअघि नै मुसाले एक शिशुलाई निकै गम्भीर ढंगले हमला गरेको छ र बच्चाका चारवटा औंला नै खाइदिएको छ । अहिले सो घरका सबै बच्चाहरु बाल सेवा विभागले जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?