+
+

पूर्वअरनिकोको चेतावनी : महानगरले बल प्रयोग गरे प्रतिकार गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १६:४६

८ असोज,काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले जडिबुटीमा बनाएको बसपार्क सञ्चालन गर्न नदिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।

प्रालिले सोमबार पत्रकार सम्मेलन गरेर बसपार्कको संरचना नियमसम्मत रुपमा बनाएको दाबी गर्दै सञ्चालनको अनुमति दिनुपर्नेमा महानगरले भत्काउने चेतावनी दिएको भन्दै आपत्ति जनाएको हो ।

काठमाडौं महानगरपालिकाले आफूहरुको नीति गोंगबुमा रहेको बसपार्क मात्र सञ्चालन गर्ने नीति रहेको भन्दै अर्को बसपार्क सञ्चालन गरे भत्काउने चेतावनी दिएको थियो । जवाफमा पूर्वअरनिकोले पत्रकार सम्मेलन गरेर प्रतिकार गर्ने चेतावनी दिएको हो ।

प्रालिका अध्यक्ष केदार क्षेत्रीले भने, ‘भत्काउन खोजे अदालत जान्छौं, त्यसपछि प्रदेश सरकार र संघीय सरकारसँग जान्छौं, त्यतिमा पनि केही नभएर डोजर अगाडि आए यात्रुसहित सडकमा आउँछौं, प्रतिकार गर्छौं ।’

काठमाडौं महानगरपालिका– ३२, जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण गरेपनि सञ्चालन अनुमति पाएको छैन । १४ रोपनी जग्गा भाडामा लिएर अरनिकोले बसपार्क निर्माण गरेको हो । तर, अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई सञ्चालन गर्न नदिने बताएका छन् ।

‘विकल्प नभएपछि आफैं बसपार्क बनायौं’

अध्यक्ष क्षेत्रीले महानगरपालिकाले पुरानो बसपार्क हटाएपछि बाध्यतामा परेर विकल्प खोजेको बताए । ‘बसपार्क हटाएपछि कहिले खोलाको छेउमा, कहिले रोडमा बस रोकेर बस्न परेको थियो । टुँडिखेलबाट विकल्प बिना यातायात हटाइएको छ ।

आफ्नो व्यवस्था आफैंले गर्नुपर्छ भनेर हामीले वसपार्क बनाएका हौं’, उनले भने । आफूहरुले ५ वर्षका लागि बसपार्क बनाएको भन्दै राज्यले व्यवस्थित बसपार्क बनाइदिए त्यहीँ जाने अध्यक्ष क्षेत्रीले बताए ।

बसपार्क बन्नु अगाडि मेयर बालेन शाहले अनुगमन समेत गरेको भन्दै उनले ‘पिच गर्ने कि नगर्ने’ भनेर आफूहरुले सोध्दा जवाफ नदिई हिँडेको बताए । निर्माण सुरु गर्ने बेला महानगरपालिका, उपत्यका विकास प्राधिकरण, ट्राफिक प्रहरी कार्यालयलाई पत्र दिए पनि जवाफ नआएपछि राम्रो काम गर्ने भन्दै सुरु गरेको उनले तर्क गरे ।

गोंगबुस्थित बसपार्कबाट मात्र बस छुट्ने र टिकट काट्ने महानगरको निर्णय व्यवहारिक र यात्रुमैत्री नभएको पनि क्षेत्रीले बताए । ‘गोंगबुबाट टिकट काट्ने, त्यहीँबाट मात्रै चढ्ने, ओर्लने कुरा यात्रु, मजदुर र ट्राफिकमैत्री छैन । कोटेश्वर, बानेश्वर झर्ने मान्छे किन झर्न नपाउने ? यो यात्रुमैत्री भयो र ?’ उनले प्रश्न गरे ।

आफ्नै पैसा हालेर जनतालाई सेवा दिन्छु भन्दा नपाउने भन्दै सरकारले व्यवस्थित बसपार्क दिए भोलि बिहानदेखि नै त्यहीँ जाने क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?