+
+

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १०:१९
फाइल तस्वीर

१० असोज, हान्झाउ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि चीनको हान्झाउमा जारी १९औं एसियाडमा नेपालले क्रिकेटमा कीर्तिमानी जितसहित सुखद सुरुआत गरेको छ ।

समूह ‘ए’अन्तर्गत जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

यस खेलमा नेपालले टिमतर्फ सर्वाधिक स्कोर र फराकिलो जित अनि व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकलगायतको कीर्तिमान बनाएको छ ।

यसअघि चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गरेको थियो । नेपालले दिएको ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको मंगोलियाका लागि दाभासुरेन जमयानसुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङमा करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुई/दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

कुशल  र दीपेन्द्रको कीर्तिमान

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको कीर्तिमानी शतक  र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी अर्धशतकमा नेपालले तीन विकेट गुमाएर ३१४ रन बनाएको थियो ।

यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध २७८ रन बनाएको थियो ।

नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।

यस्तै क्याप्टेन रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।

त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा  अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिंदै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले यसअघि युजराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।

७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।

समूह चरणको अर्को खेल नेपाल र माल्दिभ्सबीच १ अक्टोबरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?