
१२ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेश अधिवेशनको उदघाटन गर्दै नेताको इसारा बुझ्न आग्रह गरेका छन् ।
उनले पार्टीको प्रदेश नेतृत्व सर्वसम्मत चयन होस् भन्ने चाहेका छन् । तर प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा मुख्यप्रतिस्पर्धी छन् ।
‘चुनाव लडेपछि हार्न जित्न सम्भव हुन्छ, यो पार्टी भित्रको कुरा हो,’ उनले भने,‘भरसक त्यो नौवत नआओस, अलिकति पार्टीका नेताहरुको, नेतृत्वहरुको के मुल्याङ्कन छ अलिकति इसारा पनि बुझ्नुहोस् र काम गर्नुहोस्, यदि त्यसो गर्न सक्नुहुन्न भने स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नुहोस्, मैले अध्यक्षको हिसाबले केही भनिरहनु आवश्यक छैन ।’
एमालेविरुद्ध घेराबन्दी भइरहेको बताउँदै उनले अहिलेको आवश्वयकता एकता भएको बताए । उनले चुनावबाट नेतृत्व चयन भए पनि पार्टी एकतावद्ध भएर जानु पर्ने बताए ।
‘एकतावद्ध हुनका लागि यस्ता अधिवेशनमा सर्वसम्मती भएर पनि जानसक्छ, त्यो झन राम्रो हो, झन लोकतान्त्रिक कुरा हो, यदि सर्वसम्मती भएन भने बिना वैमनस्यता, बिना कुइनो ठोकाठोक, एक अर्कालाई अल्झाउने कुरा छाडेर स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् ।’
हारजित भएपछि चित्त नदुखाउन पनि उनले आग्रह गरे ।
प्रतिक्रिया 4