
१३ असोज, काठमाडौं । अली वाटकिन्सको ह्याट्रिकसँगै एस्टनभिल्लाले प्रिमियर लिगमा ब्रइटनमाथि फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा एस्टनभिल्लाले ब्रइटनमाथि ६–१ को फराकिलो जित हात पारेको हो ।
भिल्ला पार्कमा भएको खेलमा घरेलु टोलीले १४औं मिनेटमा वाटकिन्सको गोलबाट अग्रता लिएको थियो । सात मिनेटपछि उनले नै अग्रता दोब्बर बनाए भने २६औं मिनेटमा परभेस एस्टुपिनानले आफ्नै पोष्टमा गोल गरेपछि पहिलो हाफमा एस्टन भिल्ला ३–० ले अगाडि रह्यो ।
दोस्रो हाफको सुरुमै ब्राइटनका अन्सु फातीले गोल गरेका थिए । तर एस्टन भिल्लालाई रोक्न भ्रमणकारी टोली असफल रह्यो । ६५ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै वाटकिन्सले ह्याट्रिक पूरा गरे । उनको यो सिजनमा दोस्रो ह्याटिक हो ।
खेलको ८५ औं मिनेटमा जेकोब राम्सी र इन्जुरी टाइममा डगलस लुइजले गोल गरेपछि घरेलु टोली ६–१ को फराकिलो जित हात पार्न सफल भयो ।
जितसँगै भिल्ला ७ खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा छ भने समान अंक जोडेको ब्राइटन चौथो स्थानमा छ ।
प्रतिक्रिया 4