+
+

किरात राई पत्रकारको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १४:१५

१४ असोज, काठमाडौं । किरात राई पत्रकार (किराप) संघको १६औं स्थापना दिवसको अवसरमा ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’बाट दुई जना पत्रकार पुरस्कृत भएका छन् ।

संघले १६ औं स्थापना दिवसको अवसरमा ओखलढुंगाबाट कान्तिपुर दैनिक जिल्ला सम्वाददाता कुम्भराज राई र रेडियो नेपाल उदयपुर संवाददाता पत्रकार गजेन्द्र राईलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत पत्रकारद्वयलाई कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो र विशेष अतिथि फोनिजका केन्द्रिय अध्यक्ष गजुरधन राईले फेटा गुथिदिनुका साथै नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । किरात राई पत्रकार संघले कृषिविज्ञ मदन राईद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष राई पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचोले शुभकामना व्यक्तगर्दै किरात राई समुदायको विषय उजागर गर्न पत्रकारको भूमिका विशेष हुने बताए । उनले भने हुने ‘यायोक्खाको अभियान र आन्दोलन सफल बनाउन किरात समुदायका पत्रकारको विशेष भूमिका हुन्छ । त्यसको लागि आपसमा हातेमालो गरेर अगाडी बढ्नुपर्छ ।’

पुरस्कृत पत्रकार कुम्भराजले यस्ता पुरस्कारले पत्रकारिताप्रति थप जिम्मेवार र लगनशील बन्न हौसला दिने बताए । किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश राईले सञ्चारसंस्था÷सञ्चारमाध्यममा बढदो आर्थिक संकटले व्यवसायीक पत्रकारितामा चुनौति थपिरहेकोले नयाँ प्रविधिको प्रयोगलाई सामाजिक उत्तरदायित्वसहित बहन गर्न सुझाब दिएका छन् ।

संघका केन्द्रिय अध्यक्ष अवतार राईले पत्रकारितामा मातृभाषालाई स्थापित गर्ने लक्ष्य लिएर संघ अघि बढेको बताए । स्थापना दिवस कार्यक्रम किरात राई यायोक्खा भवन कोटेश्वरमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?