+
+

‘हिमालयन रि’मा उपासना : १० अर्बको कम्पनीमा ३७ वर्षे महिला सीईओ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते २०:१२

१४ असोज, काठमाडौं । १० अर्ब रुपैयाँ चुक्ता पूँजीको कम्पनी हिमालयन रि–इन्स्योरेन्स कम्पनीले ३७ वर्षीया नेपाली महिला उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दिएको छ ।

कम्पनी सञ्चालनमा आएपछि नै सीईओ तथा डेपुटी सीईओसहितका व्यवस्थापनका मुख्य पदहरुमा भारतीय प्रोफेसनलहरुलाई नियुक्त गरिएको थियो । तर, प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरण राममूर्तिले राजीनामा दिएपछि डेपुटी सीईओका रुपमा १० महिनाअघि कम्पनीमा भित्रिएकी पौडेललाई नेतृत्व सुम्पने निर्णय सञ्चालक समितिले गरेको हो ।

कम्पनीले पौडेललाई सीईओ नियुक्त गर्ने प्रस्ताव स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उपासनालाई सीईओ नियुक्त गर्ने सञ्चालक समितिको निर्णय प्राधिरकणमा आएको र प्राधिकरणले स्वीकृति दिन भने बाँकी रहेको बताए ।

नेपाल सरकारको समेत लगानीमा स्थापना भएको नेपाल रि– इन्स्योरेन्सपछि पुनर्बीमा क्षेत्रमा निजी लगानीमा पहिलोपटक हिमालयन रि–इन्स्योरेन्स सञ्चालनमा आएको थियो । १० अर्ब चुक्ता पूँजीको कम्पनीले तीन अर्ब रुपैयाँ प्राथमिक निस्कासन (आईपीओ)मार्फत जुटाउँदै छ । कम्पनीमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा सञ्चालक समितिको अध्यक्ष रहेको कम्पनीले पुनर्बीमाजस्तो चुनौतीपूर्ण काम गर्नुपर्ने ठूलो कम्पनीको व्यवस्थापकीय नेतृत्व नेपालीले गर्न सक्छन् भन्ने विश्वाससहित पौडेललाई दायित्व सुम्पेको छ ।

हिमालयन रिमा डेपुटी सिईओका रुपमा भित्रनुअघि उनी युनाइटेड इन्स्योरेन्स कम्पनीकी सीईओ थिइन् । उनी सम्भवतः नेपालका बैंक तथा बीमा कम्पनीहरुमा सबैभन्दा कम उमेरकी सीईओ हुन् ।

३४ वर्षमा युनाइटेड इन्स्योरेन्सको सीईओ हुँदा पनि उनी सबैभन्दा कम उमेरकै थिइन् । त्यति मात्रै होइन, नेपाली बीमा क्षेत्रको पहिलो महिला सीईओ पनि उनै हुन् । डिसेम्बर २०१९ मा उनी युनाइटेड इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रवेश गरेकी उनले अप्रिल २०२१ मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् । अप्रिल २०२१ देखि नोभेम्बर २०२२ सम्म उनले युनाइेट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेकी थिइन् ।

भारतमा उच्च शिक्षा हासिल गरेको उपासनाले बीमा करिअरको सुरुवात पनि त्यहीँबाट गरेकी हुन् । उनले भारतको भारती एएक्सए जनरल इन्स्योरेन्समा सिनियर हेडका रुपमा काम गरेकी थिइन् । त्यस्तै, आईसीआईसीआई लम्बर्ड जनरल इन्स्योरेन्स कम्पनीमा पनि उनले सिनियर मार्केटिङ म्यानेजरको रुपमा काम गरिन् । त्यसबीचमा उनले टेलिकम कम्पनी भोडाफोनमा सिनियर म्यानेजरका रुपमा तीन वर्ष भूमिका निर्वाह गरिन् ।

नेपालमा भने उनले सानिमा जनरल इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा काा सुरु गरेकी थिइन् । भारतका प्रतिष्ठित कम्पनीहरुमा काम गरिसकेको भए पनि नेपालमा नै थप करिअर अघि बढाउने सोचले स्वदेश फर्किएको उनी बताउँछिन् । सानिमामा २०१८ अगस्टदेखि २०१९ अक्टोबरसम्म काम गरेपछि उनी युनाइटेडमा जोडिएकी थिइन् ।

संकटपूर्ण अवस्थामा रहेको र वर्षौंदेखि लगानीकर्ताले लाभांश नपाएको युनाइटेड इन्स्योरेनसलाई सुधार गरेर आफूले लाभांश वितरण गर्दै कम्पनीबाट बाहिरिएको पौडेल बताउँछिन् । जनरल इन्स्यारेन्समा काम गरेपछि प्रोफेसनलहरुको अगाडिको लक्ष्य पुनर्बीमा नै हुने भएकोले आफूले हिमालयन रि–इन्स्योरेन्स रोजेको उनले बताइन् । पुनर्बीमा कम्पनी पनि नेपालीले नै व्यवस्थापकीय नेतृत्व गर्छ सक्छन् र त्यो क्षमता आफूमा देखेर नै नै कम्पनीले उक्त जिम्मेवारी दिएको उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?