+
+

स्टार्टअपमा लगानी गर्न साढे ३० अर्बको कोष

विजय पराजुली विजय पराजुली
२०८० असोज १६ गते १९:३२

१६ असोज, कठमाडौं । नवीनतम ज्ञान, सीप-क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसायमा लगानी गर्न ३० अर्ब ५० करोडको कोष स्थापना भएका छन् । विभिन्न आठ कम्पनीले स्थापना गरेका यी कोषलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अनुसार कोष व्यवस्थापकको इजाजत पाएका कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्डले यस्तो अनुमति दिएको हो ।

गत आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डले १२ कम्पनीलाई  विशिष्टीकृत लगानी कोष व्यवस्थापकको कार्य गर्न इजाजात दिएको थियो । नवीनतम ज्ञान, सीप-क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न लगानीको नयाँ स्रोतको व्यवस्था गर्नसक्ने गरी नेपाल धितोपत्र बोर्डले २२ फागुन २०७५ मा  विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ कार्यान्वयनमा ल्याएको थियो ।

नयाँ व्यवसायहरू सुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड, हेज फण्डमार्फत् अर्थतन्त्रमा लगानीको नयाँ स्रोतको व्यवस्था गर्ने उद्देश्यसहित सो नियमावली कार्यान्वयनमा ल्याइएको थियो ।

नेपाल धितोपत्र बोर्डमा कोष व्यवस्थापकको लाइसेन्सका लागि १७ कम्पनीले निवेदन दिएका थिए । तर, १२ कम्पनीले मात्रै लाइसेन्स पाएका छन् ।  लाइसेन्स पाउनेमा ग्लोबल इक्विटी फण्ड लिमिटेड, अवसर इक्विटी लिमिटेड, एनआईसी एशिया क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, एनआईएमबीएस क्यापिटल, एनएमबि क्यापिटल, प्रभु क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । यस्तै आध्यनता फण्ड म्यानेजमेन्ट लिमिटेड, अल्फा प्लस भेञ्चर लिमिटेड र नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, रिलायबल भेञ्चर क्यापिटल लिमिटेड कोष व्यवस्थापन गर्न लाइसेन्स पाएका थिए ।

तीमध्ये एनआईसी एशिया क्यापिटल, ग्लोबल इक्विटी फण्ड लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ र एनएमबि क्यापिटलले भने अहिलेसम्म कोष दर्ता नगराएको धितोपत्र बोर्डले जनाएको छ ।

सबैभन्दा सुरुमा अवसर इक्विटीले ५ अर्ब रुपैयाँ बराबरको अवसर इक्विटी डाइभर्सिफाइड फण्ड दर्ता गराएको थियो । अवसर इक्विटीले दर्ता गरेको कोषमा स्रोत संकलन गरेर लगानी पनि सुरु गरिसकेको प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले बताए । ४ अर्ब ५६ करोडको स्रोत जुटाएर एउटा हाइड्रोपावर परियोजनामा लगानी समेत सुरु गरेको उनले बताए ।

यो फण्डमा कोष व्यवस्थापक अवसर इक्विटीको २ प्रतिशत लगानी गरेको छ । यस्तै कोष प्रवर्द्धकको रुपमा सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकले २.५ प्रतिशतको दरले १० प्रतिशत लगानी गरेका छन् । अन्य लगानीमा करिब १ अर्ब व्यक्तिगत लगानीकर्ता र अरु संस्थागत लगानीकर्ताको लगानी रहेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिना बताउँछन् ।

अन्य सात वटाले भने धितोपत्र बोर्डको कोष दर्ता गराए पनि स्रोत जुटाउन भने बाँकी रहेको छ । अल्फा प्लस भेञ्चरले २ अर्बको अल्फा प्लस भिजन फण्ड दर्ता गरेको छ । जसमा कोष व्यवस्थापक अल्फा प्लस भेञ्चरको २.५ प्रतिशत र कोष प्रवद्र्धक प्रभु बैंकको १० प्रतिशत लगानी छ ।

यस्तै, प्रभु क्यापिटलले ५० करोड रुपैयाँको प्रभु डाइनामिक प्राइभेट इक्विटी फण्ड १ दर्ता गराएको छ । जसमा कोष व्यवस्थापक प्रभु क्यापिटलको  २ प्रतिशत र कोष प्रवर्द्धकमा प्रभु बैंकको  १० प्रतिशत लगानी छ ।

आध्यानता फण्ड म्यानेजमेन्टले  ३ अर्ब रुपैयाँको नेपाल अपर्च्युनिटी फण्ड १ दर्ता गराएको छ । उक्त फण्डको कोष व्यवस्थापक आध्यानता फण्ड म्यानेजमेन्टले २ प्रतिशत लगानी गर्दा प्रवद्र्धकको रुपमा लक्ष्मी बैंकले ५ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले २.६७ प्रतिशत, महालक्ष्मी विकास बैंकले १.६७ प्रतिशत र ज्योति विकास बैंकले १.०१ प्रतिशत लगानी गर्ने भएका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १ अर्ब रुपैयाँको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड दर्ता गराएको छ । जसमा कोष व्यवस्थापकको २ प्रतिशत र कोष प्रवद्र्धकको रुपमा लक्ष्मी सनराइज बैंकले १० प्रतिशत लगानी गर्ने भएको छ ।

छैटौं कोषको रुपमा एनआईएमबि एस क्यापिटलले सबैभन्दा ठूलो १० अर्ब रुपैयाँको एनआईबीएल इक्विटी पार्टनर्स नामक कोष दर्ता गराएको छ । यसमा कोष व्यवस्थाक एनआईएमबि एस क्यापिटलले १० प्रतिशत र कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० प्रतिशत नै लगानी गर्ने भएका छन् ।

सातौँ कोषको रुपमा रिलायबल प्राइभेट इक्विटी फण्ड दर्ता भएको हो । रिलायबल भेञ्चर क्यापटिलले व्यवस्थापन गर्ने उक्त कोषमा कोष व्यवस्थाकले २ प्रतिशत लगानी गर्ने भएको छ । यस्तै कोष प्रवर्द्धकको रुपमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले ४ प्रतिशत, मल्टीपर्पस फाइनान्सले ३.५ प्रतिशत र कुमारी बैंकले २.५ प्रतिशत लगानी गर्ने भएका छन् ।

आठौं कोषको रुपमा ७ अर्ब रुपैयाँको नेशनल इक्विटी फण्ड दर्ता भएको छ । कोष व्यवस्थापक नेशनल फण्ड म्यानेजमेन्ट  लिमिटेड रहेको उक्त कोषमा कोष व्यवस्थाकले २ प्रतिशत लगानी गर्नेछ । यस्तै कोष प्रवर्द्धकको रुपमा सानिमा बैंकले १० प्रतिशत लगानी गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत कोष व्यवस्थापकको पहिलो लाइसेन्स २४ साउन २०७९ मा ग्लोबल इक्विकटी फण्ड लिमिटेडलाई दिएको थियो ।

बैंकको लगानी सहज बनाउन सेबोनको लबिङ

कोष दर्ता भएपनि कोषमा लगानी जुटाउन समस्या भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलमा लगानी गर्ने वातावरण बनाउन राष्ट्र बैंकसँग लबिइङ गरिरहेका छन् । गत साता गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बोर्ड अध्यक्ष हमालले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलजस्ता वैकल्पिक लगानी माध्यममा स्रोत व्यवस्थापन गर्न बैंक लगानी सहजीकरण दिनुपर्ने विषयमा छलफल गरेका थिए । त्यसमा गभर्नर अधिकारी पनि सकारात्मक रहेको बोर्ड अध्यक्ष हमालले  बताए  ।

हाल बैंकहरूले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्दा उच्च जोखिममा वर्गीकरण १५० प्रतिशत जोखिम भार गणना गर्नुपर्ने व्यवस्था रहेको अवसर इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  ध्रुव तिमल्सिना बताउँछन् । साथै, बैंकहरूले यस्ता फन्डमा कतिसम्म लगानी गर्न सक्छन् भनेर राष्ट्र बैंकले नतोक्दा समस्या भएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा बैंकहरूले लगानी कुनै रोकतोक नरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट  बताउँछन् । ‘राष्ट्र बैंकको निर्देशनमा उल्लेखित सीमाभित्र रहेर बैंकहरूले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्छन्,’ उनले भने, ‘यस्ता फण्डहरू साना उद्यमी, उद्यमशीलता विकास, स्टार्टअपमा जानुपर्छ । त्यसले आर्थिक गतिविधि  विस्तार भई अर्थतन्त्र थप मजबुत बनाउँछ ।’

तर, यस्ता फन्डमा लगानी गर्न बैंकहरूलाई प्राविधिक रुपमा सहज भने नरहेको राष्ट्र बैंकको उच्च अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकको एकीकृत निर्देशन नं. ८ मा लगानी तथा सहायक कम्पनी सम्बन्धी व्यवस्था छ । सोहीअन्तर्गत बैंकहरूले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्छन् ।

‘धितोपत्र विनिमय बजारमा सूचीकृत नभएका संगठित संस्थाको सेयर वा डिबेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नुपर्नेछ,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानी जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ, ‘त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न पाइने छैन ।’ सोही व्यवस्थाका आधारमा बैंकहरुले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्छन् । यस्तो कोष नेप्सेमा सूचीकृत नहुने भएकोल बैंकहरूले ३ वर्षमा लगानी निकाल्ने अर्थात शतप्रतिशत जोखिम व्यवस्था गर्नुपर्ने हुन्छ ।

बैंकहरूले कुनै एक संगठित संस्थाको सेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पूँजीको १० प्रतिशतमा नबढ्ने गरी गर्नुपर्ने र सबैमा गरेर बढीमा आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्नुपर्ने हुन्छ । यस्तो लगानी संस्थाको चुक्ता पूँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सोही व्यवस्थाभित्र रहेर अधिकांश बैंकले कोष प्रवर्द्धकको रुपमा १० प्रतिशत मात्रै लगानी गरेका हुन् ।

यदि बैंकहरूले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बाहिर गएर लगानी गरेमा जति लगानी गर्छ, त्यो बराबर पूँजीकोषमा घटाउनुपर्ने व्यवस्था एकीकृत निर्देशनमा गरिएको छ । सोही कारण लगानी गर्न पाउने भए पनि राष्ट्र बैंकको नियामकीय व्यवस्थामा रहेको कठोर व्यवस्थाले बैंकहरू लगानी गर्न हच्किएका हुन् ।

लगानीको प्रशस्त अवसर छ : कम्पनीहरू

कोष जुटाउन सके लगानीको पर्याप्त अवसरहरू रहेको अवसर इक्विटीका प्रमुख कार्यकारी अधिकृत तिमल्सिना बताउँछन् ।

‘लगानीको लागि धेरै प्रस्ताव आएका छन्, तिनको विश्लेषण भइरहेको छ, विशेष गरी सानासाना स्टार्टअपहरूले धेरै लगानी खोज्छन्,’ उनले भने, ‘तर, धेरैजसो स्टार्टअपहरू दिगो हुन्छन् कि हुँदैनन् भन्ने जोखिम देखिन्छ ।’

लगानीका लागि नयाँ आइडिया छनोट गर्दा लगानी गर्दा भोलि व्यवसायमा कन्भर्ट गर्न सकिने देखियो भने नै फण्ड लगानी गर्न इच्छुक हुन्छ ।’

के हो वैकल्पिक लगानी कोष ?

यो स्टक, बन्ड र नगदजस्ता परम्परागत लगानीका औजारहरूभन्दा भिन्न किसिमको वैकल्पिक लगानी कोष हो । यो कोषमा जटिल प्रकृति र फरक जोखिमको स्तर हुने भएकोले यसमा संस्थागत लगानीकर्ताहरू वा मान्यता प्राप्त, उच्च नेट–वर्थ व्यक्तिहरूद्वारा लगानी गरिन्छ । प्राइभेट इक्विटी फण्ड र भेञ्चर क्यापिटल फण्ड वैकल्पिक लगानी कोषका औजारहरू हुन् ।

प्राइभेट इक्विटी फण्डमा निर्धारित पूँजी इकाइ धनीहरू (उच्च नेटवर्थ भएका लगानीकर्ताहरू) बाट संकलन गरी उच्च प्रतिफलको सम्भावना रहेका विभिन्न प्राइभेट फर्महरूमा लगानी गर्ने गरिन्छ । फण्डको रकम लगानी गर्दा कोष व्यवस्थापकले बजारको निरन्तर अनुसन्धान गरी भविष्यमा वृद्धिको सम्भावना भएका प्राइभेट फर्महरूको पहिचान गर्छ । त्यस्तो फर्मको व्यवस्थापनमा प्रत्यक्ष संलग्न रही फर्मको प्रतिफल वृद्धि गर्नमा केन्द्रित रहन्छ । लगानी गरेको निश्चित समयपछि त्यस्ता फर्महरूको आर्थिक हैसियत बलियो बनाई बिक्री वा सार्वजनिक निष्कासनको माध्यमबाट अन्य समूहलाई प्रवेश गराई आफ्नो लगानी फिर्ता लिई फर्मबाट बाहिरिने गरिन्छ ।

भेञ्चर क्यापिटल फण्ड पनि प्राइभेट इक्विटी जस्तै हो । तर यसमा नयाँ वस्तु, सेवा तथा प्रविधिमा आधारित, बौद्धिक सम्पत्तिसँग सम्बन्धित नवीनतम उद्यम वा व्यवसाय गर्न चाहने, पूँजीको अभाव भएका तर सार्वजनिक निष्कासनमा तत्कालै जान नसक्ने वा सार्वजनिक निष्कासनको खर्च व्यहोर्न नसक्ने भविष्यमा बढोत्तरीको उच्च सम्भावना भएका साना तथा प्रारम्भिक व्यवसायहरू भेञ्चर क्यापिटल फण्डको रोजाइमा पर्छन् । यसमा पनि उच्च नेटवर्थ भएका लगानीकर्ताहरू नै इकाइधनी हुन्छन् । भेञ्चर क्यापिटलले लगानी गरेपछि त्यस्तो कम्पनीको निर्णय प्रक्रियामा अधिकार राख्दछ । तर, भेञ्चर क्यापिटल फण्डले पूँजीमा मात्र लगानी नगरी प्राविधिक वा व्यवस्थापकीय विशेषज्ञको रूपमा समेत सहयोग गर्दछ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?