+
+
ब्लग :

एनआरएनएले खोजिरहेको नयाँ संस्कृति

कुनै पनि शैक्षिक ज्ञान र सीप आर्जन नगरिकनै विदेश बसेको वर्षका आधारमा आफूलाई विज्ञका रूपमा प्रस्तुत गर्नु हाम्रो संस्कृति नै बनेको छ।

 

बाबुराम दाहाल बाबुराम दाहाल
२०८० असोज १७ गते १४:२०

गैरआवासीय नेपाली संघ अर्थात् एनआरएनए र गैरआवासीय नेपाली अर्थात् एनआरएन। विविध कारणले नेपाल बाहिर खासगरी सार्क मुलुक बाहेकका देशमा गई कुनै पेशा, व्यवसाय तथा रोजगारी गरी त्यहीं बसोबास गर्ने नेपाली हुन् एनआरएन। जीवन निर्वाह गर्ने क्रममा केही समय र आम्दानी बचाएर जन्मभूमि, मातृभूमि र सिंगो नेपालीको हितमा संस्थागत रूपमा कार्य गर्ने गरी एनआरएनएको स्थापना भएको हो।

हामी एउटा पुरातन संस्कृतिमा जन्मियौं, हुर्कियौं र त्यसैमा रमाइरहेका छौं। शायद अझै निकै समयसम्म रमाइरहने छौं पनि। यही संस्कृतिले हामीमा स्वनिर्णय क्षमता विकास हुन अरु निकै समय लाग्ने देखिन्छ, आफ्नै व्यवहार र सोचका कारण। यही संस्कृति नै हाम्रो लागि जीवन बन्यो। हामी जहाँ गए पनि हामीलाई हाम्रै संस्कृति प्यारो लाग्छ र त्यसैमा हामी खुशी हुन्छौं।

हामीले हाम्रो संस्कृतिलाई परिमार्जन गर्न नचाहेको हो वा नसकेको हो, त्यसबारेमा चर्चा गर्दै गरौंला। तर, करिब एक दशकको समयावधिमा एनआरएनको रूपमा जीवन निर्वाह गर्दैगर्दा मैले बुझेको नेपालीको व्यवहार र संस्कृति समयसान्दर्भिक रूपमा केही पनि परिवर्तन भएको पाएको छैन।

बरु उल्टै विदेशमा रहेका नेपालीको सोचाइमा एकातिर संकुचन बढ्दै गएको पाइन्छ भने अर्कोतिर ‘एस म्यान’को रूपमा अरुको विश्वासमा परेर आफूलाई कमजोर बनाउँदै लगेको पाइन्छ।

उदाहरणका लागि- एउटा नेपालीले अर्को नेपालीलाई आफ्नो बुद्धि, विवेक, क्षमता र निःस्वार्थ भावनाले सहयोग गर्नुपर्ने हो। तर व्यवहारमा यसको विपरीत कार्य गर्ने परम्परा मौलाउँदै गएको प्रष्ट देख्न र अनुभव गर्न सकिन्छ। यसले विदेशमा नेपालीको जीवनस्तर अत्यावश्यकीय रूपमा जुन रूपमा सबल हुनुपर्ने हो त्यसो हुन सकेको पाइँदैन।

हामीमा व्यक्तिगत, सामाजिक एवं संस्थागत संस्कृतिमा केही पनि परिवर्तन हुनसकेको देखिंदैन। विदेशका सकारात्मक र वैज्ञानिक ज्ञान–सीप सिकेर आफ्नो अनुभवलाई नेपाल र नेपालीको समृद्धिमा उपयोग गर्नुको सट्टा नेपालकै पुरातन सोच र संस्कृतिलाई आफू बसेको ठाउँमा हुबहु लागू गर्न तल्लीन रहन्छौं।

अझ प्रष्ट भन्दा, आप्रवासी नेपालीमा विकसित राष्ट्रको व्यवस्थित प्रणालीलाई नेपालमा पुर्‍याउनुको सट्टा नेपालको विद्यमान परिस्थिति वा प्रणालीलाई आफू बसेको राष्ट्रमा सँगै लैजाने प्रवृत्ति हावी छ।

एउटा नेपाली शैक्षिक, आर्थिक, व्यावसायिक रूपमा अगाडि बढ्दै गर्दा अर्कोले त्यसलाई शिरोपर गर्दै साथ, सहयोग गर्दैन। ज्ञान आर्जन गर्नुको सट्टा उसको विरुद्धमा सक्रिय हुने परम्परा हाम्रो समुदायमा बढ्दै गएको पाइन्छ।

साथै, सफलतातिर अगाडि बढिरहेको एक प्रवासी नेपाली आफ्नो ज्ञान, अनुभव र सफलतालाई आफ्नो समुदाय र राष्ट्रसमक्ष सेयर गर्ने, त्यसतर्फ प्रोत्साहन गर्नुको सट्टा बरु समुदाय र राष्ट्रबाटै टाढा हुँदै जाने संस्कृति मौलाएको पाइन्छ। एउटा ज्वलन्त उदाहरण हो– सामाजिक सञ्जालमा फैलिने नकारात्मक सोच र प्रतिक्रियाको डङ्गुर।

समाधानको उपाय हुँदैन तर अरूलाई गाली र नकारात्मक प्रतिक्रिया मात्र गरिन्छ भने यसले हाम्रो ज्ञानको सीमितता र दरिद्रता प्रकट गर्दछ। कुनै पनि शैक्षिक ज्ञान र सीप आर्जन नगरिकनै विदेश बसेको वर्षका आधारमा आफूलाई जानकार र विज्ञका रूपमा प्रस्तुत गर्नु हाम्रो संस्कृति नै बनेको छ।

कुनै पनि संघ-संस्थामा आफू हुँदा सबै ठीक अनि आफू नहुँदा सबै बेठीक भन्ने संस्कृति अर्को समस्या हो। संस्थासँग जोडिएको व्यक्तिगत स्वार्थलाई मात्र प्रमुख विषय मान्दा मानिसले यसरी गैरजिम्मेवार अभिव्यक्ति दिन सक्छ। यही अभ्यासले विदेशमा व्यक्तिगत स्वार्थका आधारमा विना योजना र आवश्यकता अत्यधिक संख्यामा संघ-संस्था जन्माइरहेका छन्।

यसलाई चिर्दै सक्षम गैरआवासीय नेपाली र समृद्ध नेपाल निर्माणमा संस्थागत कार्य गर्न एनआरएनएको नेतृत्व गर्न इच्छुक एवं अग्रजहरूमा समेत यस्तै संस्कृति भेटिन्छ। संस्थाको नेतृत्व गर्ने व्यक्तित्वको सोच, संस्कृति र व्यवहारमा परिवर्तनको एकदमै खाँचो रहेको देखिन्छ।

नेतृत्वकर्तामा संस्थागत ज्ञान, गरिमा, पदीय मर्यादा र दायित्वका बारेमा पर्याप्त ज्ञान हुनुपर्छ। नेतृत्व चयन गर्ने विशेषाधिकार प्राप्त मतदाताले कसैको स्वार्थमा नपरी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्दा विवेकसम्मत निर्णय गर्नुपर्छ। नेतृत्वमा अराजकता र संस्थाको बदनामीको पछाडि मतदाताको बढी हात हुन्छ। त्यसैले सक्षम र उपयुक्त नेतृत्व चुन्ने संस्कृति मतदाताले नै बसाउनु आवश्यक छ।

एनआरएनएको आधारभूत काम विदेशमा बस्ने नेपालीलाई एकजुट बनाउँदै नेपालभित्र र बाहिर उनीहरूको हितलाई प्रवर्धन गर्नु हो। गैरआवासीय नेपाली र नेपालको हितमा काम गर्ने एक गैरनाफामूलक सामाजिक संस्था भएकोले आप्रवासी नेपाली बसोबास गरिरहेका मुलुकमा उनीहरूको स्थायित्व, सुरक्षित वैदेशिक रोजगार र समग्र हितका लागि क्रियाशील रहनुपर्छ। उनीहरूको हित रक्षा गर्दै नेपालको हित प्रवर्धन गर्नुपर्छ। एनआरएनएले संसारभरिका नेपाली संघ-संगठनहरूसँग समन्वय गर्दै विश्व सञ्जाल स्थापना गरी गैरआवासीय नेपालीको साझा संस्थाको रूपमा तिनको प्रतिनिधित्व गर्नुपर्छ। तर व्यवहारमा उल्लिखित कामहरूमा संस्था सचेत र अग्रसर देखिंदैन।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-आईसीसी)को ११औं महाधिवेशन यही १७-२० अक्टोबर २०२३ मा काठमाडौंमा हुँदैछ र नयाँ नेतृत्व पनि चयन हुँदैछ। यस अधिवेशनबाट गैरआवासीय नेपालीको साझा संस्थामा सबैको साझा, सक्षम र स्वतन्त्र नेतृत्व चुनिनुपर्छ न कि कुनै आस्था वा समूहको आड-बलमा।

नयाँ नेतृत्वले विगतमा गुमेको यो संस्थाको साखलाई पुनर्ताजगी गर्दै सबैको सम्मानित संस्था बनाउन सक्नुपर्छ। एनआरएनए-आईसीसीको २०२३-२०२५ कार्यकालका लागि नेतृत्वका आकांक्षीले पदीय मर्यादा, संस्थाको उद्देश्य, गरिमा, अनुशासन, सम्मानको संस्कृतिलाई बुझेको हुनुपर्छ। यस पटक आफ्नो नजिकको तथा चिनजानको व्यक्ति भएकै कारण नभई अनुभवी, सक्षम, संस्थाका सदस्यहरूको आवश्यकता बुझेको, प्रतिबद्ध र इमानदार व्यक्तित्वलाई मतदान गरौं। तब मात्र एनआरएनए गैरआवासीय नेपाली र नेपालले गर्व गर्न लायक उत्कृष्ट संस्था बन्नेछ।

लेखक नेपाल–अमेरिका पत्रकार संघ (नेजा)का महासचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?