+
+

उडुसको प्रकोपले फ्रान्सेली सिनेमा घरमा दर्शक घटे

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १६:२९
पेरिसको एक सिनेमा घरमा भ्याकुम लगाउँदै हलका कर्मचारी

काठमाडौं । फ्रान्सले यतिबेला अनौठो खालको प्रकोपको सामना गरिरहेको छ । राजधानी पेरिसका बजार, रेल, सिनेमा घर, विमानस्थल र अस्पतालमा उडुसको प्रकोप फैलिएपछि सरकारलाई टाउको दुखाइ बनेको छ ।

गर्मीयाममा मानिसले पेरिसस्थित सिनेमा घरका सिटमा उडुस फैलिएको भिडियो पोस्ट गर्दै गुनासो गर्न थालेका थिए । उनीहरुले शरीरमा उडुसले टोकेका तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । त्यसपछि रगत चुस्ने परजीवी कीराको प्रकोप मुलुकभर फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ । फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको बताइन्छ । यस्तो प्रकोप बढ्न थालेपछि मानिसले आउँदो वर्षको सुरुवातमा हुने ओलम्पिकसँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न गर्न थालेका छन् ।

सिनेमा घरमा पनि उडुस फेला पर्न थालेपछि यसलाई गम्भीरता साथ लिइएको अधिकारीहरुले बताएका छन् । पेरिसको युजीसी बर्सी सिनेमाले दर्शकले उडुसले टोकेको गुनासो गर्न थालेपछि माफी मागेको छ । सोमबार विज्ञप्ति जारी गर्दै सञ्चालकले उडुसले टोकेका सबै पीडितप्रति माफी मागेका हुन् ।

यसका लागि हल सञ्चालकले उडुसलाई मार्न कीटनाशक औषधि प्रयोग गर्ने, उच्च तापक्रम भएको पानी छर्किने जस्ता उपाय अपनाइरहेका छन् । प्रकोप फैलिएको फोटो भिडियो इन्टरनेटमा फैलिन थालेपछि पेरिसका फिल्म हलले दर्शक गिरावटको सामना गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेरिसको अर्को मल्टिप्लेक्स सिनेमा घर एमके टुले पनि उच्च तापक्रम, अन्धकार र फेब्रिकले ढाकिएका कुर्सीमा उडुस फैलिएको बताएको छ । विगत दुई-तीन दशकदेखि उडुसको प्रकोप बढ्न थालेको बताइन्छ । यो समस्या फ्रान्समा मात्र नभएर अन्यत्र पनि छ ।

विश्वव्यापीकरणका कारण हुने कन्टेनर प्रयोग हुने व्यापार, पर्यटन र आप्रवासन जस्ता गतिविधिले उडुसको प्रकोप बढेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?