 
																			‘डाक्टरमाथि हातपात’— दिनहुँजसो यो अप्रिय समाचार दोहोरिन थालेको छ । डाक्टर किन कुटिन्छन् ? किन उनीहरूमाथि दूर्व्यवहार हुन्छ ? सर्वसाधारण र डाक्टरबीच के कारणले फाटो आइरहेको छ ? यसलाई एकपक्षीय विश्लेषण गरेर हुँदैन ।
सतहमा के देखिन्छ भने चिकित्सक र सर्वसाधारणबीच दूरी बढ्दो छ । अर्कोतिर आपसी विश्वास घट्दो छ । कुनै पनि उपचार गरिरहँदा चिकित्सकहरू त्रासद मनस्थितिबाट गुज्रनुपर्ने अवस्था छ भने कमसल चिकित्सा प्रणालीको कारण सर्वसाधारण ढुक्क हुन सकिरहेका छैनन् ।
बिरामीको बाध्यता र आक्रोश
तीतो सत्य के भने, नेपालको चिकित्सा प्रणाली आफैंमा सक्षम छैन । राजनीतिक हस्तक्षेप र अनेक जटिलताले त्यसलाई थला पारेको छ । त्यसैले त सर्वसाधारणले भनेको ठाउँमा अस्पताल पाउँदैनन्, भनेको जस्तो चिकित्सक पाउँदैनन्, खोजेको जस्तो उपचार पाउँदैनन्, सोचेको जस्तो स्वास्थ्य सेवा पाउँदैनन् ।
अस्पतालहरू च्याउसरी छन् तर शहरमा मात्र । गाउँमा स्वास्थ्य चौकीको भर पर्नुपर्ने बाध्यता छ । धेरैजसो जिल्लामा भएका अस्पतालहरू स्रोतसाधन र दक्ष जनशक्तिको अभाव खेपेर मर्नु न बाँच्नुको अवस्थामा छन् । पहाडका जिल्लाहरूमा सामान्य रोगको उपचार गर्न पनि असम्भव जस्तै छ । त्यसैले सानोतिनो रोग लाग्नासाथ मुख्य शहर त्यसमा पनि काठमाडौं आउनैपर्ने बाध्यता छ ।
अस्पतालको चक्कर लगाउँदा-लगाउँदा बिरामीका आफन्त नै बिरामी हुने स्थिति हुन्छ । सरकारी अस्पतालका कर्मचारी बिरामीमैत्री छैनन् । उनीहरूले गर्ने व्यवहार रुखो हुन्छ, जसले बिरामीलाई थप अत्याउने गरेका छन् ।
अर्कोतिर उपचार र औषधिमा लाग्ने खर्चको कुनै निश्चित आकार छैन । मनलाग्दी र मनपरी छ । सर्वसाधारण जब उपचारका लागि अस्पताल पुग्छन्, भएभरको घरखेत नै बेच्नुपर्ने हो कि भन्ने चिन्ता हुन्छ ।
परिवारका सदस्य बिरामी भएपछि उपचारको खोजीमा दौड्दा दौड्दै धेरै खर्च भइसकेको हुन्छ । एकातिर लग्यो- चिकित्सक, आवश्यक उपकरण वा प्रविधि हुँदैन । अर्कोतिर लग्यो-दक्ष चिकित्सक भेटिंदैनन् । रोग पहिचान गर्नै समय लाग्छ । रोग पहिचान भएर उपचार सुरु हुँदासम्म एउटा बिरामीले धेरै कष्ट व्यहोरिसकेको हुन्छ ।
यसले उनीहरूमा चिन्ता, निराशा पैदा गरिदिन्छ । त्यो निराशाले हिंसात्मक प्रवृत्तिको विकास हुन्छ । त्यही प्रवृत्ति कमजोर चिकित्सकमाथि पोखिन्छ ।
चिकित्सकको अवस्था र यथार्थ
अधिकांश चिकित्सक चाहन्छन् कि, आफूले हेरेको बिरामी निको होस् । तर मान्छेको शरीर हो । शरीरको अवस्था र रोगको प्रकृतिले उपचारलाई फरक पारिदिन्छ । कुनै उपचार सफल हुन्छ, कुनै असफल ।
चिकित्सक पनि मान्छे हुन् । उनले आफ्नो ज्ञान, अनुभवको आधारमा रोग पहिल्याउने र उपचार गर्ने हो । यस्तो अवस्थामा कारणवश कुनै बिरामीको अवस्था तल–माथि परेमा त्यो सम्पूर्ण दोष चिकित्सकमाथि थोपर्नु पक्कै जायज होइन ।
एउटा चिकित्सकले दैनिक बिरामी जाँच्नुपर्यो, शल्यक्रिया गर्नुप¥यो, उनीहरूको स्वास्थ्य इतिहास पत्ता लगाउनु पर्यो र परामर्श पनि दिनुपर्यो ।
सरकारी अस्पतालमा चिकित्सकको संख्या र बिरामी जाँच्ने समय थोरै हुन्छ भने बिरामीको चाप धेरै हुन्छ । यस्तोमा चिकित्सकले बिरामीलाई पर्याप्त समय दिन भ्याउँदैनन् । यो चिकित्सकको बाध्यता हो, रहर होइन ।
युरोप, अमेरिका जस्ता विकसित देशमा हरेक अस्पतालमा मेडिकल साइकोलोजिस्टको व्यवस्था गरिएको हुन्छ । बिरामीलाई चिकित्सकको उपचार कस्तो लाग्यो ? अब के गर्ने, कस्तो उपचार अपनाउने भनेर परामर्श दिइन्छ । नेपालमा यस्ता मेडिकल साइकोलोजिस्टको दरबन्दी नै हुँदैन । जसले गर्दा बिरामीले आफ्नो समस्या खुलेर राख्नै पाउँदैनन् र जटिलता निम्तिन सक्छ ।
यसको अर्थ यो होइन कि चिकित्सकले गल्ती नै गर्दैनन् । कतिपय चिकित्सक, क्लिनिकले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड पनि गरिरहेका हुनसक्छन् । त्यस्तो अवस्थामा उपचारमा कुनै त्रुटि भए चिकित्सकलाई हातपात गर्नु, अस्पताल वा क्लिनिक तोडफोड गर्नु समस्याको समाधान होइन ।
उपचार प्रणाली नै बिरामी
नेता-मन्त्रीहरू भन्ने गर्छन्– ‘नेपालमा कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनुपर्दैन ।’ तर थुप्रै बिरामी उपचारकै अभावमा कष्ट खेपिरहेका, ज्यान गुमाइरहेका छन् । अस्पतालहरू पनि व्यवस्थित छैनन् । उपचार खर्च कतै अचाक्ली महँगो छ कतै उपचार सेवा एकदमै कमजोर ।
क्यान्सर अस्पतालमा रेडियोथेरापी हुँदैन, धेरै अस्पतालमा मुटुको शल्यक्रिया हुँदैन, पर्याप्त मात्रामा स्रोत–साधन नभएकोले बिरामीलाई उपचारको लागि एउटा अस्पतालबाट अर्को र अर्कोबाट अर्कोमा सिफारिस गर्दागर्दै बिरामीको अवस्था नाजुक हुन्छ । अन्त्यमा यी सम्पूर्ण दोष एउटा निर्दोष चिकित्सकको टाउकोमाथि थोपरिन्छ । उसलाई कुटपिट गरिन्छ, क्षतिपूर्ति मागिन्छ ।
कानुनी कुरा
प्रा.डा. ढुण्डीराज पौडेल भन्छन्, ‘यदि कसैले चिकित्सकमाथि आक्रमण गर्छ वा कोही चिकित्सकले उपचारको क्रममा लापरबाही गर्छ भने त्यसको छानबिन गरेर तत्काल सजाय दिनुपर्छ । यसो गरियो भने यो गल्ती दोहोरिने सम्भावना कम हुन्छ ।’
उपचारको निहुँमा चिकित्सकमाथि हातपात गर्नेलाई २ वर्षसम्म कैद, २ लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । तर, यसलाई कडाइका साथ कार्यान्वयनमा नल्याउँदा समस्या ज्यूँका त्यूँ छ ।
न्याय प्रणाली चिकित्सकको पक्षमा मात्र छैन । यदि चिकित्सकले त्यस्तो कुनै त्रुटि गरेको छ भने उसलाई पनि तुरुन्त कारबाही गर्नुपर्ने प्रा.डा. पौडेल बताउँछन् । ‘हरेक समस्याको हल कानुनी बाटोबाट खोज्ने संस्कार विकास हुनुपर्छ’ उनी भन्छन्, ‘यसो भएमा चिकित्सक कुटिने वा चिकित्सकले त्रुटि गर्ने क्रम धेरै हदसम्म रोकिन्छ ।’
तर, हाम्रो मुलुकमा कानुनी प्रक्रिया चुस्त नहुँदा मान्छेहरू यो बाटो समात्ने धैर्य गर्दैनन् । त्यसैले कानुनी प्रक्रियालाई पर्खने भन्दा पनि आफैं अगाडि सरेर जाइलाग्ने गर्छन् ।
यसको अर्थ, यदि कसैले चिकित्सकमाथि हातपात गर्छ भने र यदि कुनै चिकित्सकले लापरवाही गर्छ भने तुरुन्तै कानुनी कारबाही हुनुपर्छ । यस्तो व्यवस्था भइदियो भने कुट्ने र कुटाइ खाने उपक्रम रोकिन्छ ।
चिकित्सकमाथि हातपात हुने जुन प्रवृत्ति छ त्यसको लहरो हाम्रो मुलुकको खराब प्रणालीसँग पनि जोडिन्छ । हामीकहाँ कुनै पनि काम गराउने सोझो होइन बाङ्गो बाटो अपनाउनुपर्ने बेथिति व्याप्त छ । हरेक कुरा सम्पन्न गर्न पैसा खर्च गर्नुपर्छ भन्ने धारणा छ । यसरी नै उपचारमा पनि अतिरिक्त पैसा दिनुपर्छ भन्ने धेरैलाई लाग्न सक्छ । यसको असर इमानपूर्वक काम गर्ने चिकित्सकमाथि पनि सर्वसाधारणले गलत धारणा बनाइदिन्छन् । अनि अन्धाधुन्ध आक्रमण गर्छन् ।
कानुनभन्दा पनि विवेक महत्वपूर्ण
चिकित्सकको हक–अधिकारका लागि बनेका ऐन–कानुन कडा भयो भने सबै कुरा सही हुन्छ भन्ने बुझाइ धेरै चिकित्सकको छ । यद्यपि सबै कुरा कानुनले मात्र गर्दैन । यसमा त सबैभन्दा ठूलो कुरा मान्छेको विवेक र समझदारी हो ।
बिरामीका आफन्तले चिकित्सकको जटिलता बुझ्नुपर्छ भने चिकित्सकले पनि बिरामीको विवशतालाई मनन गर्नुपर्छ । यसले दुवैबीच हार्दिक सम्बन्ध स्थापित गर्छ ।
प्रा.डा. पौडेल भन्छन्, ‘चिकित्सकले एमबीबीएस, एमडी गरे पनि उनीहरूलाई बिरामीसँग राम्रो सम्बन्ध कसरी बनाउने भन्ने ज्ञान हुँदैन । त्यसैले उनीहरूलाई यसको तालिम दिनुपर्छ । यस्ता आक्रमण कम गर्न चिकित्सकलाई बिरामीसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा सिकाउनुपर्छ ।’
स्वास्थ्य सेवा आम मानिसको पहुँचमा सहज हुने हो भने पनि स्वास्थ्य क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन हुन्छ र यस्ता आक्रमण कम हुन्छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4