+
+
इजरायलबाट विद्यार्थीको सन्देश :

‘इजरायलमा विद्यार्थीमात्रै होइनन्, हाम्रा छोराछोरी फसेका छन् भनेर बुझिदिनोस्’ 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते २१:२४

२१ असोज, पोखरा । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृंखलालाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा रहेका विद्यार्थीहरुले आफ्ना साथीले गोली लाग्यो, मलाई बचाउ भन्दै फोन गर्दा पनि केही गर्न नसकिएको दुखेसो पोखेका छन् ।

इजरायलबाट अनलाइनखबरको सम्पर्कमा आएका उनीहरुले पानीबाहेक केही खान नपाएर बंकरमा बस्नुपरेको सन्देशसमेत पठाइरहेका छन् ।

इजरायलमा भएको घटनाबारे शनिबारबाट नै हाम्रो सम्पर्कमा आएका विद्यार्थी लुइस रिजालले आफू रहेकोे बंकरबाट भिडियो सन्देश पठाएका छन् ।

जहाँ उनीहरुको मधुरो आकृतिमात्र देखिएको छ ।

यस्तो छ, रिजालको भिडियो सन्देशः

नमस्कार सम्पूर्ण नेपालीबासी र हाम्रो परराष्ट्र मन्त्रालयमा हाजिर हुनुभएका पावरमा हुनुहुने सम्पूर्ण नेतागणहरुलाई, नेपालमा हुनुभएका दलका नेताहरुलाई !

हाम्रो सानो आग्रह के छ भने, मलगायत मेरो ४९ जना साथीहरु सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इन्टर्नसिप गर्न ११ महिनाका लागि यहाँ आएका थियौं । यहाँ आउँदा सबै खुसी नै थियौं, धेरै सपना थियो ।

एक महिनाको तलब आउन पनि २ दिनमात्रै बाँकी थियो । हामीहरु ६ समूहमा बाँडिएका थियौं । निकै खुसी थियौं । खै, कसको आँखा लाग्यो ? के भयो त्यो थाहा भएन । एक्कासी बिहानपख प्यालेस्टाइनले आक्रमण ग¥यो । हाम्रो फार्मको कुरा गर्दा थाहा पाउँदासम्म त्यस्तो भयानक थिएन, नर्मल नै थियो । भिडियोहरु बनाएर मिडियाहरुमा पनि हालेका थियौं ।

तर, भिडियो बनाइसकेपछि साथी विपिन जोशीले हेल्पको लागि भनेर रक्ताम्य भएर फोन गर्‍यो । त्यसपछि मलगायत मेरो फार्ममा भएका साथीहरुले, यहाँ बस्नुभएका दाइदिदीहरुलाई फोन गर्‍यौं । त्यसपछि एम्बुलेन्स पठायो । एम्बुलेन्स आएर पनि उहाँहरु सम्पर्कमा आउन नसकेपछि एम्बुलेन्स फिर्ता आयो । त्यसपछि घन्टा/घन्टामा साथीहरुले विचल्ली भएर पानी…पानी… मलाई बचा, मलाई गोली लाग्यो.. भन्दै फोन गर्न थाल्नुभयो ।

साथीहरुले त्यस्तो गुहार्दा, चोट लाग्दा पनि हामीहरु केही गर्न सकेनौं । हामी पनि हिजो ७ बजेदेखि एउटा बंकरभित्र, कालो कोठाभित्र ११ जना साथीहरुसँगै छौं । अहिलेसम्म केही पनि खान पाएका छैनौं, पानीमात्रै छ हामीसँग । बस्ने ठाउँमा एकदम चिसो छ । त्यही चिसोले गर्दा होला, हाम्रो स्वास्थ्य पनि बिग्रँदै गइरहेको छ । सबैलाई पखाला लागिसक्यो । तातो पानी खाने पनि सुविधा छैन ।

सरकारलाई, एम्बेसीलाई सबै ठाउँमा फोन गर्दा पनि ‘हुन्छ, हामी गर्छौं । १–२ घन्टामा गर्छौं, तिमीहरु नआत्यौ’ भनेर आश्वासनमात्रै दिनुहुन्छ । यो झुठो आश्वासनले हाम्रो ज्यान जोगिन्छ कि जोगिँदैन भन्ने कुरा हजुरहरुले पनि बुझिदिनुपर्‍यो ।

सम्पूर्ण नेपालीहरुले नेपालमा रहेको परराष्ट्र मन्त्रालयलाई जसले जे सक्नुुहुन्छ, आआफ्नो तर्फबाट दबाब दिएर हुन्छ कि के गरेर रेस्क्यु गरेर जति जना छौं, साथीहरु १० जना लापत्ता हुनुहुन्छ, सम्पर्कविहीन हुनुहुन्छ उहाँहरुलाई पनि खोज्न एउटा टिम र हामीहरुलाई रेस्क्यु गरेर, सबैलाई जम्मा गरेर हामीलाई, हाम्रो स्वास्थ्यलाई हेरचाह गर्न र हाम्रो मानसिक स्वास्थ्यलाई बलियो बनाएर आत्मबल बढाउनका लागि अभियान चालौं ।

अभियानका लागि हामी आग्रह गर्दछौं । यहाँ मेरो साथीहरु सबैजना हुनुहुन्छ । एउटा कोठामा हामी ३ जना महिला हुनुहुन्छ, बाँकी केटाहरु छौं । यसरी हामी बसिरहेका छौं । यो कतिदिनसम्म चल्ने हो, केही पनि थाहा छैन । सबैले यत्ति बुझिदिनुहोला, ‘गएका विद्यार्थीमात्रै होइनन्, मेरा छोराछोरी पनि फसेका छन्’ भनेर बुझेर यो कदमलाई जोडदार चालिदिनुहोला म त्यही भन्न चाहन्छु !

भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?