 
																			२२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको समयमा काम गरेका वीर अस्पतालका २७६ जना कर्मचारीलाई एकैपटक हटाएको छ । स्वास्थ्यमन्त्रीको निर्देशनमा ठूलो संख्यामा कर्मचारी एकैपटक हटाउँदा अस्पतालमा शल्यक्रियादेखि आईसीयूसम्मका सेवा प्रभावित भएका छन् ।
कोरोना महामारीको समयमा वीर अस्पतालको सर्जिकल भवन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालय मातहातमा ८३१ पुल दरबन्दी सृजना गरिएको थियो ।
पछिल्लो समय अस्पतालले मन्त्रालयको स्वीकृति लिएर करारलाई निरन्तरता दिएको थियो । बेड संख्या बढाउनुका साथै आकस्मिक, डायलाइसिस, अप्रेशन (ओटी) लगायतका सेवा बढाएकाले करारका दरबन्दीलाई निरन्तरता दिन अस्पतालले असारमा मन्त्रालयलाई आग्रह गरेको थियो । ‘स्वास्थ्य मन्त्रालयबाट जवाफ सकारात्मक आएन,’ अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अनलाइनखबरसँग भने ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बजेट दिन नसक्ने बताएपछि १५ असोजमा बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्को बैठकले २७६ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ ।
‘अहिले देशको आर्थिक अवस्था राम्रो नभएको र स्वास्थ्य मन्त्रालयबाट थप बजेटको व्यवस्था गर्न नसकिने र करारमै राख्ने परे आफ्नै आन्तरिक स्रोतले राख्नू भन्ने निर्देशन भयो,’ डा. पौडेलले भने, ‘अस्पतालका सेवा निःशुल्क भएका छन् । आफ्नै आम्दानी राख्न नसक्ने भएपछि बाध्यताबस उहाँहरुलाई हटाउनुपर्यो ।’

अस्पताल प्रशासनका अनुसार २७६ जना कर्मचारीको तलब भत्ताका लागि एक महिनामा एक करोड रुपैयाँ चाहिन्छ । मन्त्रालयबाट दरबन्दी स्वीकृत नहुँदा आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सम्भब नभएकाले यो निर्णय लिएको पौडेलले बताए ।
कोरोना महामारीमा दिनरात काम गरेको आफूहरुलाई पूर्वसूचना समेत नदिई हटाएको कर्मचारीहरुको गुनासो छ । ‘अस्ति शुक्रबार आजबाट ड्युटी नआउनू भन्ने सूचना निकाल्दिनु भयो । चाडबाडको बेलामा विना जानकारी एक्कासी निकाल्दा हामी अलपत्र भयौं,’ नर्स एलिसा फुयाँलले अनलाइनखबरसँग भनिन्, ‘कोरोना, डेंगु जस्ता महामारीमा परिवार छोडेर बिदा नलिई बिरामीको सेवा गर्यौं । अहिले अस्पताल प्रशासनले अमानवीय व्यवहार गर्यौं ।’
आफूहरु अन्यायमा परेको भन्दै उनीहरु स्वास्थ्य मन्त्रालय लगायतका निकाय धाइरहेका छन् । तर अहिलेसम्म कतैबाट सकारात्मक जवाफ पाएका छैनन् । करारका कर्मचारीलाई पूर्वसूचना नदिई निकाल्नुमा स्वास्थ्यमन्त्रीदेखि अस्पतालका पदाधिकारीको स्वार्थ रहेको मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।
अहिले करारमा भएका जनशक्तिलाई हटाएर आफ्नो मान्छे भर्ति गर्न स्वास्थ्यमन्त्री लागेको उनीहरुको भनाइ छ । ‘मैले राखेका जनशक्ति पनि होइन, अब मेरा मानिसलाई नियुक्त गर्नुपर्छ भन्ने निर्देशनका साथ अहिलेको जनशक्तिलाई तत्काल हटाइएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अब आफ्नो मानिस करारमा भर्ना गर्न मन्त्रीदेखि अस्पताल प्रशासनको मिलेमतो छ ।’
अस्पतालको सेवा प्रभावित
स्वास्थ्यमन्त्री बस्नेत मञ्च पायो कि आफूले वीर अस्पतालमा ७०० बेड निःशुल्क गरेको भन्न छुट्टाउँदैनन् । बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्नुका साथै नियमित शल्यक्रिया, आईसीयू सेवा बढाएको दाबी गर्दै आएका छन् ।
अस्पताल प्रशासनका अनुसार पछिल्लो समय ५०० बेडलाई ९०० पुर्याइएको थियो भने अप्रेसन थियटरलाई ८ बाट १५ वटा, आईसीयू ३० बाट ६५ बेड पुर्याइएको थियो । निःशुल्क र विस्तारित सेवालाई निरन्तरता दिन कम्तिमा पनि अहिले भएका जनशक्तिलाई कायमै राख्नुपर्थ्यो । तर स्वास्थ्यमन्त्री बस्नेतले बजेट अभाव देखाएर करार अवधि नथप्न निर्देशन दिए ।
मन्त्रीको निर्देशनअनुसार कार्यकारी परिषद्ले २७६ जना कर्मचारी हटेपछि अप्रेशन थियटरदेखि बढी चाप हुने युरोलोजी, न्यूरो लगायतका विभागका सेवा प्रभावित भएका छन् । अस्पताल प्रशासनका अनुसार २३ बेड आईसीयू घटाउनुपर्ने अवस्था आएको छ । ‘हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण गर्ने भन्ने थियो, अब सम्भव हुँदैन’ डा. पौडेलले समस्या सुनाए, ‘न्यूरोको सर्जिकलमा एउटा टिममा १४ जनामध्ये ६ जनाले छोडेपछि सेवा त प्रभावित नै हुने भयो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4