+
+

‘शिक्षक र मिटरब्याज पीडितको आन्दोलनसँग कौसीदको कथा जोडिएको छ’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १६:२४

काठमाडौं । हालसालै काठमाडौंका सडकमा दुई भिन्न आन्दोलनका दृश्य देखिए । मिटरब्याजको गलपासोबाट मुक्त गर्न भन्दै पीडितले माइतीघरमा हप्तौं लामो अनसन बसे ।

अर्कोतर्फ, सार्वजनिक विद्यालयका शिक्षकले राजधानीको सडक प्रणालीलाई नै अस्तव्यस्त बनाउने गरी तीन दिन लामो प्रदर्शन गरे । यी दुई आन्दोलनको केन्द्रमा जनजीविका र सामाजिक सुरक्षाको सवाल जोडिएको थियो ।

यही मर्ममा आधारित रहेर कुमार भाष्करले फिचर फिल्म निर्देशन गरेका छन् ‘कौसीद’। यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुँदैछ । रणवीर कपुरसँग बलिउड फिल्म ‘बर्फी’ खेलेर चर्चा बटुलेका भोलाराज सापकोटादेखि अभिनेत्री ऋचा शर्मासम्मले यो सोसल–ड्रामा फिल्ममा अभिनय गरेका छन् ।

संस्कृत भाषामा ‘कौसीद’को अर्थ बैंकबाट लिइएको ऋणसम्बन्धी हो । मधेशमा जन्मे-हुर्केका भाष्करले पारिवारिक र सामाजिक भोगाइलाई फिल्ममा चित्रण गरेका छन् । तर कथावस्तु चाहिं बागलुङका एक शिक्षकको परिवारबाट लिइएको हो ।

‘कौसीद’को कथावस्तु हालैका मिटरब्याज पीडित र शिक्षक आन्दोलनसँग समान रहेको निर्देशक भाष्कर बताउँछन् । ‘हामीले यसलाई फिचरको रुपमा ढालेका हौं । बुवा सरकारी जागिरे छन् । छोरालाई उच्च शिक्षा पढाउनुपर्‍यो, छोरीको विवाह गराइदिनुपर्‍यो, घर बनाउनुपर्‍यो, यो बेला सम्झिने भनेको बैंक हो,’ उनी भन्छन्, ‘खासमा बागलुङका एक शिक्षकले भोगेको परिणिती हो यो । यसलाई फिचरमा ढालेका हौं ।’

उनले दुई वर्षअघि आफूहरुले लेखेको कथा आजको कथासँग सम्बन्धित रहेको बताए । शिक्षक आन्दोलन र मिटर ब्याजको समस्यासँग फिल्मको कथा जेलिएको छ । ‘हामीले दुई वर्षअघि लेखिएको कथा आज सडकमा देखिंदैछ । शिक्षकको परिवेश र संघर्षसँग धेरै निकट रहेर लेखेका छौं,’ भाष्करले भने ।

समाजसँग जोडिएको कथावस्तुमा फिल्म बनेको भन्दै उनले अबको दुई वर्षपछि पनि फिल्म रिलिज गर्दा यसको कथावस्तु बासी नहुने बताए । ‘यो मात्र होइन, दर्शकलाई अपील गर्नको लागि फिल्मभित्र केही व्यंग्यात्मक कुरा छन् । यसमा दर्शकले इन्जोय गर्न सक्नुहुन्छ,’ उनी भन्छन् ।

सुरुमा यो फिल्मको कथावस्तु तराईको पृष्ठभूमिमा तयार गरिए पनि अभिनेत्री ऋचा शर्माको गर्भावस्था र कोभिडको कारणले हिंड्डुल गर्ने परिस्थिति नभएकाले छायांकन थलो पहाडमा सिफ्ट गरिएको भाष्करले बताए । ‘पहाडमा साइकल प्रयोग गरिंदैन तर एक्टर भोला सरले स्कुल आउन जानलाई साइकल प्रयोग गर्नुभयो,’ उनले सम्झिए ।

निर्देशकलाई कला वा बक्स अफिस कुन पक्षले अर्थ राख्छ ? भाष्करलाई लााग्छ, उनका लागि कला भनेको अमरत्व हो र बक्स अफिस भनेको क्षणिक कुरा हो । ‘मलाई आर्टले अर्थ राख्छ । किनभने जीवन भनेको जीवन हुने कि अमरत्व पाउने । बक्स अफिसले सुख दिन्छ र कलाले अमरत्व दिन्छ । मैले रुचाउने नै आर्ट हो,’ उनले भने ।

उनी दर्शकलाई आकर्षित गर्न लार्जर द्यान लाइफ शैलीका फिल्म मात्र सबथोक नहुने बताउँछन् । ‘सामान्य कथावस्तुमा पनि समाजका कथावस्तु भन्न सकिन्छ । कथावस्तु राम्रो छ भने धेरै जसोलाई मन पर्न सक्छ,’ भाष्कर भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?