+
+
Shares
नयाँ पुस्ताको देश-११ :

‘नयाँ पुस्ताले पनि जातकै कुरा गर्ने ?’

अरू सबै मानिस झैं म पनि मानिस नै हो भनेर प्रमाणित गरिराख्नु पर्दैनथ्यो। मेरो नाम मात्र काफी थियो। मेरो जात, मेरो घर, मेरो पारिवारिक अवस्था आदि कुनै कुराले मेरो व्यक्तित्वमा फरक पार्दैनथ्यो।

रीता परियार रीता परियार
२०८० असोज २५ गते १९:१५

हामीलाई एकातिर संसारकै दाँजोमा उभिएको समृद्ध मुलुक बन्नुछ। अर्कातिर हामीलाई जातविशेषमा जन्मनु नै विशेष हक र पहुँचको हकदार भए जस्तो अनुभूति एकैसाथ हुन्छ। यही विरोधाभास बोकेर नेपाल अघि बढ्ने कि पछाडि नै फर्कने मानसिक अन्तरद्वन्द्वमा जेलिएको छ जस्तो लाग्छ।

खासगरी जात व्यवस्थामा आधारित मेरो समाज, मेरो राज्य, जहाँ दलित भएर जन्मनु नै एउटा ठूलो अभिशाप हो। हो, म त्यही समुदायबाट आएको एक नागरिक हुँ। तर यो देशले भने अझै पनि मलाई र मेरो समुदायलाई सबै नागरिक झैं आत्मसम्मानका साथ बाँच्ने अधिकार भने दिएको छैन।

कतिले त भन्छन् पनि– २१औं शताब्दीमा आएर पनि कति जातको कुरा गरेको ? आखिर हामी सँगै बसेर खाएकै छौं। स्कुल पनि जान पाएकै छौं। झन् अहिले त आरक्षणले गर्दा धेरै सजिलो छ दलितलाई भन्ने अपूरो भाष्यहरू निर्माण गरिंदैछ दिनानुदिन तर आरक्षणको बुझाइ बारे भने अल्पज्ञान छ हाम्रो समाजमा। आरक्षण त सबैले पाएका छन् खस आर्य, आदिवासी/जनजाति, अल्पसङ्ख्यक, मधेशी, त्यो विषयमा एउटा अर्को छुट्टै बहस जरुरी छ।

त्यसैले म यो प्रश्न उहाँहरूलाई नै छाड्न चाहन्छु– नयाँ पुस्ता भएर पनि तपाईंहरू जातकै कुरा गर्ने ? आरक्षण या विशेषाधिकार भन्नेबित्तिकै सामाजिक न्यायबाट भाग्ने ? किनभने हामीले रंग, वर्ण आदिका आधारमा पछि रहेका देशहरूले गरेका प्रगतिहरू पनि देख्यौं। आफ्नो ज्ञानका सीमाहरूलाई चिनेर उनीहरूले गरेका आत्मस्वीकारोक्ति पनि नजिकैबाट बुझ्ने मौका पायौं।

यस्तै यथार्थ अवलोकन गर्दागर्दै, सपनाहरू बुन्दाबुन्दै मैले केही समय देश बाहिर गएर बस्ने मौका पाएँ। तब मान्छे भएर बाँच्नुको आधारहरू अझै फराकिला देखिन थाले। कहाँ मन्दिर पस्नु, धारामा पानी छुने अधिकार पाउनु, स्कुलमा सबैसँग बसेर खाजा खान पाउनु र समाजमा दलित मात्र नभई मान्छे भएर बाँच्नु मात्र रहेछ र ? मान्छे भएर बाँच्नुको त अझै बढी आधारहरू रहेछन्।

आत्मसम्मानका साथ बाँच्नु त एकातिर छ र अर्कोतिर देशका राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक लगायत सबै क्षेत्रमा आफ्नो प्रतिनिधित्व पाउनु झन् ठूलो रहेछ। विशेषतः ऐतिहासिक रूपमा पछाडि पारिएको दलित, मधेशी, अल्पसङ्ख्यक, जनजाति र महिलाहरूको झन् ती क्षेत्रमा समावेश हुनु अत्यन्त जरुरी रहेछ।

मान्छे भएर बाँच्ने मौका त मैले भरपूर पाएँ। आफूलाई विश्वकै एक नागरिक (सिटिजनसीप अफ द वर्ल्ड) हुँ भन्ने लाग्थ्यो। अरू सबै मानिस झैं म पनि मानिस नै हो भनेर प्रमाणित गरिराख्नु पर्दैनथ्यो। मेरो नाम मात्र काफी थियो। मेरो जात, मेरो घर, मेरो पारिवारिक अवस्था आदि कुनै कुराले मेरो व्यक्तित्वमा फरक पार्दैनथ्यो।

मलाई लाग्छ प्रत्येक नेपालीले आफूलाई बुझ्न, समाजलाई बुझ्न, अझ समयको महत्व बुझ्न बाहिर जान आवश्यक छ । छोटो समयमा भए पनि धेरै कुरा थाहा पाइहालिन्छ । जीवनमा कसरी स्वतन्त्र बन्ने र आफ्नो मर्जीका निर्णय गर्ने थाहा पाउन पनि विदेशको हावामा रम्नुपर्छ ।

हो, म त्यही खुला आकाशमा पखेटा फिंजाई निर्धक्कसँग उडेको चराको जस्तो अनुभूति गर्दथें। केही समय मलाई त्यो आजादी हदै मन पर्‍यो। तर जीवन जिउने क्रममा त्यो आजादी मात्र पर्याप्त नहुने रहेछ। मलाई मान्छे भएर बाँच्नुका अरू आधारहरू सबैमा हस्तक्षेप गर्न मन लाग्यो। विदेशमा बसेर ती सबै कुरामा हस्तक्षेप गर्नु सम्भव थिएन। त्यसैले म नेपाल आएँ।

संसारको परिवर्तनसँगै नेपालमा पनि केही परिवर्तन देखियो। ती परिवर्तन भौतिक मात्र थिएनन्, ठूला बिल्डिङ, फराकिला सडक, तीनतारे, पाँचतारे होटलहरू, राजधानी काठमाडौं लगायत अन्य शहरहरूमा पनि थिए। गाउँ पनि भूकम्पपछि कुरूप र अव्यवस्थित साना शहरहरूमा रुपान्तर भएछन्। तर मान्छेका सोच, विचार, धारणा र व्यवहारमा भने खासै परिवर्तन देखिएन।

यी सबै कुराले मलाई नेपाली समाज खासै रुपान्तरण भएको जस्तो लागेन। हुन त भौतिक परिवर्तन भन्दा सामाजिक परिवर्तन जटिल भएर पनि होला, आजसम्म पनि मैले दलितलाई मान्छे सरह व्यवहार गरेको देखेकी छैन। अपवादको कुरा अलग हो।

देशका युवाहरूमा चरम निराशा पाएँ। चियापसल, चौतारा, सार्वजनिक यातायात, पठाओ चालक, ट्याक्सी चालकदेखि ठूला रेस्टुरेन्ट, रिसोर्ट, डिपार्टमेन्टल स्टोर जताततै निराशाको चर्चा सुनें, ‘नेपालमा अवसर छैन। यहाँ रोजगारी पाइँदैन। भएको व्यापार, व्यवसाय पनि राम्रोसँग चल्ने वातावरण छैन। लकडाउनमा पनि बैंकले एकसुको पनि ब्याज मिनाहा गरेन। भएको लगानी पनि सारा डुब्यो। ऋण माथि ऋणले टाउको थिचेको छ। सरकार बनाउन र ढाल्नमै मस्त छ।’

लकडाउनको समयमा कतिले त आत्मदाह पनि गरे। दिनहुँ हजारौं हजार युवाले देश छोड्दैछन्। देश छोड्नुका उद्देश्य फरक–फरक हुन सक्छन्: घुम्न जानु, पढ्न जानु र काम गर्न जानु फरक कुरा हुन्। स्वेच्छा र बाध्यतामा विदेश जानु त्यो पनि फरक कुरा हो। बाध्यता नभई जोखिमयुक्त काममा कोही पनि विदेशिंदैन।

युवाले चाहेको देश युवा आफैंले बनाउने हो। उससँग बनाउने सपना मात्र होइन, समय पनि हुन्छ, ऊर्जा पनि हुन्छ। अब यहाँबाट देश कसले बिगार्‍यो, कहिले बिगार्‍यो र कसरी बिगार्‍यो भन्नेतर्फ नलागौं। आउनुहोस्, हामी युवाले चाहेको देश हामी आफैं बनाऔं

यो देशका लाउन खान मजाले पुगेकाहरू पनि विदेश पुगेका छन्। विद्यार्थी, डाक्टर, इन्जिनियर, प्राध्यापक, नर्स, प्राविधिक जस्ता नागरिक पनि विदेश गएका छन्। तिनीहरू विदेश गएर ज्ञान आर्जन गरेर फर्किन्छन् भने देशलाई घाटा लागेको भन्न मिल्दैन। तर उतै बस्न यो देशको अवस्थाले बाध्य बनायो भने देशलाई ठूलो घाटा लाग्दछ। जो खान, लाउन नपाएर र ऋणमा डुबेर खाडी मुलुक र द्वन्द्वग्रस्त मुलुक पुगेका छन्, तिनीहरूको अवस्था अत्यन्तै दुःखदायी छ। यति दुःखदायी कि तिनीहरूमध्ये कतिको देह दिनहुँ बाकसमा फर्किरहेको छ।

विडम्बना अर्को के छ भने, देश तिनीहरूको पसिनाको कमाइले (रेमिट्यान्सले) धानेको छ। इजरायलमा अहिले द्वन्द्व फेरि सुरु भएको छ । संवेदनशील इलाकाहरुमा समेत नेपाली पठाइनु गलत हो ।  सरकारले तिनीहरूमाथि गरेको व्यवहार अक्षम्य छ। सरकार पनि एकै देशका जनतालाई युरोप, अमेरिका बस्ने र खाडी मुलुक बस्ने भन्ने छुट्याउँछ। जसरी पानी नचल्ने भनेर दलितलाई समाजले छुट्याइआएको छ।

जात मात्र समस्या होइन रहेछ यो देशमा। वर्ग, पहुँच, शिक्षा, वर्चस्व र भूगोलका आधारमा पनि विभेद हुन्छ, भइरहेको छ। त्यसो त सबै जात, वर्ग र भूगोलका महिलाहरू झनै पीडित छन्। विदेशिनेमा धेरै पुरुष नै छन्, चाहे ती धनी हुन् या गरिब, उपल्लो या तल्लो जात, तराईवासी हुन् या पहाडवासी।

समस्यै समस्याको पहाड हुँदाहुँदै पनि देशको मुहार फेर्नलाई दिनरात तल्लीन नेपालीलाई भने नजरअन्दाज गर्न मिल्दैन। तिनीहरू यही देशको बिग्रेको सिस्टम, राजनीतिक अवस्था, आर्थिक अवस्था, शैक्षिक अवस्था, स्वास्थ्य अवस्था, सामाजिक अवस्था, सांस्कृतिक अवस्था, जात व्यवस्था, महिलाको अवस्थाबारे निरन्तर बोलिरहेका छन्, लेखिरहेका छन्। दिनहुँ माइतीघरमण्डलमा घामपानी नभनी न्यायको लागि अहोरात्र खटिएका छन्।

देशको चिन्ता लागेर देश नछोडी यहीं संघर्ष गर्ने र बाध्यतामा देश छोड्ने नागरिक दुवै देशका सन्तान हुन्। यी सबै समस्याको बाबजुद नेपालको बाटो र माटोमा पनि पैसा छ, यहाँ अवसरको कमी छैन भन्ने जमातको पनि कमी छैन।

हो, म त्यही जमातमा आफ्नो अस्तित्व खोजिरहेछु। मैले म जस्तै लाखौं युवालाई देशमै बसेर केही गर्ने हौसला दिंदैछु। जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ। नेतालाई मात्र गाली गरेर केही हुँदैन । हामीले देखेको समस्या र समाधान हामी आफैं खोजी गर्न सक्छाैं ।

हो, त्यही समाधानको खोजी हामीले गर्नुपर्छ। कतिपय हामी समस्या समाधानभन्दा समस्याबाट भाग्ने सोच बनाउँछौं। त्यो आम मानिसको स्वभाव पनि हो।

भन्छन् नि, पस्किएको भात पनि आफैंले मुछेर खानुपर्छ। सजिलो त छैन यो अवस्था बिग्रेको देशलाई बनाउन तर सबै लागिपरेर प्रयास गर्ने हो भने नबन्ने पनि होइन। यस्ता अवस्थाबाट माथि उठेका धेरै देश छन् विश्वमा। त्यहाँका जनताको प्रयासले नै ती देश माथि उठे, आत्मनिर्भर बने न कि कुनै विदेशी सहयोगले मात्र ती बन्न सफल भए। सफलता बाहिरबाट होइन, अन्तरबाट फुटेपछि मात्र सम्भव हुन्छ।

तसर्थ हामी युवाहरू नै विकासको मूल फुटाउन र त्यही मूलमा अवसरहरू खोज्न लागि पर्नुपर्दछ। बनाएर यो देश कसैले दिने होइन हामीलाई। हामीले नै बनाउनुपर्दछ। इतिहास गवाह छ, विश्वका ती देशहरू जुन बने, ती त्यहींका नागरिकहरूको योगदानबाट बने।

युवाले चाहेको देश युवा आफैंले बनाउने हो। उससँग बनाउने सपना मात्र होइन, समय पनि हुन्छ, ऊर्जा पनि हुन्छ। अब यहाँबाट देश कसले बिगार्‍यो, कहिले बिगार्‍यो र कसरी बिगार्‍यो भन्नेतर्फ नलागौं। आउनुहोस्, हामी युवाले चाहेको देश हामी आफैं बनाऔं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?