+
+

कोशीले बढायो शेखर र गगनको दूरी

कांग्रेसको १४औं महाधिवेशनमा बनेको शेखर–गगन समूहको एकता कोशी घटनाले खल्बलिएको प्रष्ट संकेत देखिन थालेको छ । यो अझै बढेमा त्यसको लाभ सभापति शेरबहादुर देउवालाई हुने देखिन्छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० असोज २८ गते २२:३१

२८ असोज, काठमाडौं । नेकपा एमालेको समर्थनमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौंको सत्ता गठबन्धनलाई चक्मा दिए ।

कार्कीको नाम सुन्न नचाहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कार्कीकै नाममा सहमति जनाउन बाध्य भए ।

यसले डा. शेखर नेताका रुपमा फेरि स्थापित भएको उनी निकटवर्तीहरुको विश्लेषण छ । मंसिर २०७८ मा भएको महाधिवेशनमा पार्टी सभापतिमा प्रतिस्पर्धा गरेर ४० प्रतिशत मत पाएका शेखर कांग्रेसमा नेताका रुपमा उदाएका थिए, तर झण्डै दुई वर्षको गतिविधिले उनीमाथि प्रश्न उठ्न थालेको थियो ।

तर अहिले कोशीमा संस्थापनविरुद्ध विद्रोह गरेर आफूलाई फेरि नेताको रुपमा स्थापित गरेको निकटवर्तीहरु बताउँछन् । डा. शेखरले लिएको जोखिमपूर्ण पहल अन्ततः कामयाब बन्न पुगेको भन्दै उनीहरु निर्णय क्षमताको प्रशंसा गरिरहेका छन् ।

तर कोशीको कम्पन यत्तिमै सकिनेवाला देखिंदैन । कोशी घटनापछि कांग्रेसको १४औं महाधिवेशनमा बनेको शेखर–गगन समूहको एकता खल्बलिएको प्रष्ट संकेत देखिन थालेको छ ।

नेताहरुका अनुसार १४ औं महाधिवेशमा जोडिएका डा. शेखर र गगनबीच सुरुदेखि नै थोरै अविश्वास र थोरै तनावको सम्बन्ध थियो । डा. शेखरलाई कुनै पनि बेला गगनले धोका देला कि भन्ने त्रास थियो । गगनलाई फेरि पनि डा. शेखर मात्र भनिरहँदा आफू कहिले नेतृत्वमा पुग्ने त भन्ने हुटहुटी थियो ।

तर महाधिवेशनका क्रममा नेता कार्यकर्ताको दबाब, प्रचण्ड बहुमतका साथ पार्टीको नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवासँग संघर्ष गर्न पनि दुवैलाई एकसाथ बस्नुको विकल्प थिएन । त्यसैले एक अर्काबीचमा थोरै आशंका, थोरै गुनासो हुँदाहुँदै पनि दुवैले हामी एक ठाउँमा छौं भनिरहे ।


मन्त्री नियुक्ति लगायतका सन्दर्भमा डा. शेखरले सभापतिसँग एकलौटी डिल गर्दा गगनले गुनासो मात्रै गरे, विद्रोह गरेनन् । संसदीय दलको नेता लड्ने घोषणा लगायतका कतिपय सन्दर्भमा गगनले एकलौटी निर्णय गर्दा पनि शेखरले मौन सहमति जनाए । नेताहरुका अनुसार थोरै आशंका, थोरै त्रास, धेरै संस्थापन बन्न चाहने नेता कार्यकर्ताको पङ्तिको दबावमा दुई नेता आपसी सहकार्यमै रहिरहेका थिए ।

तर कोशी घटनाले शेखर र गगनको दुरी त बढाएकै छ, यो समूह नै फुट उन्मुख भएको छ । नेताहरुका अनुसार कोशीमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने क्रममा डा. शेखरले महामन्त्री गगन थापासँग सम्वाद नै गरेका छैनन् । मुख्यमन्त्रीमा दाबी गरेपछि शेखरलाई भेट्न पुगेका नेताहरुले महामन्त्रीसँग संवाद गर्न आग्रह गरेका थिए । तर डा. शेखरले रुचि देखाएका छैनन् ।

मुख्यमन्त्री बन्नुअघि पटकपटक काठमाडौं आए पनि कार्कीले महामन्त्री थापालाई भेटेनन्। मुख्यमन्त्री बनेलगत्तै काठमाडौ आए पनि उनले शेखरलाई भेटे, थापालाई भेटेनन्।  बरु डा. शेखर निकट नेताहरुले सभापतिको ‘अत्याचार’ विरुद्ध उभिंदा पनि साथ नदिएको भनेर महामन्त्री थापाको आलोचना गरेका छन् ।

पार्टी नेतृत्वले कोशीको रणनीति बनाउने जिम्मा दुई महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई दिएपनि कोइरालासँग फिटिक्कै सल्लाह नगरेको उनीहरुको गुनासो छ । अहिले पनि सभापतिले माओवादीलाई मुख्यमन्त्री बुझाउन लाग्दा पनि महामन्त्री थापाले नरोकेको यो पक्षको आरोप छ ।

‘कोशीमै बस्नुहुन्छ शेखर दाइ, उहाँहरुले कहिले सोध्न आउनुभयो ?’ एक नेता भन्छन्, ‘कांग्रेसको मुख्यमन्त्री बन्ने अवस्था देखिन छाडेपछि शेखर दाइले पहल गर्नुभएको हो । उद्धव थापा, केदार कार्की वा जो कोही भएपनि कांग्रेसको मुख्यमन्त्री हुनुपर्छ भनेर भन्नु गल्ती हो ?’

कोशी प्रकरण र आफ्नै समूहका नेताहरुले गरेको आलोचनाबारे महामन्त्री थापाले मुख खोलेका छैनन् । निकटवर्तीहरु भने सभापति देउवा आफैंले डा. शेखरलाई बालुवाटार लगेर गठबन्धनप्रति प्रतिवद्ध छु भनेर लिखत गराइसकेकाले विद्रोह गरे भनी गरिएको प्रचार आत्मरती मात्रै भएको बताउँछन् ।

तर कोशी प्रकरणले डा. शेखर एकल रुपमा बढ्न खोजेको प्रष्ट भएको थापा निकट नेताहरु बताउँछन् । कांग्रेसभित्रको राजनीतिको विश्लेषण गर्दै आएका सुदर्शन आचार्य एमालेसँग सहकार्य गर्न सकिने राय दिएका महामन्त्रीलाई विश्वासमा लिन सकेको भए हुन्थ्यो भन्छन् । उनले अगाडि भने, ‘यो विद्रोह गर्दा आफ्नै समूहका नेताहरुलाई विश्वासमा लिएर गर्नुपर्ने थियो ।’

शेखर पक्षका नेताहरु भने महामन्त्रीसँग छलफल नै नगरिएको स्वीकार गर्दैनन् । एक नेताका अनुसार बिहीबार केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गर्नुअघि महामन्त्री थापासँग कुरा गर्न शेखरले उपसभापति धनराज गुरुङलाई अह्राएका थिए । तर बिहीबार उपसभापति गुरुङ र महामन्त्री थापाबीच कोशीको विषयलाई लिएर छलफल नै नभएको थापा पक्षका नेताहरुको दाबी छ ।

उनीहरुका अनुसार यदि डा. शेखरले छलफल गरेको भए महामन्त्री थापाले सहजै स्वीकार गर्थे । किनकी उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको बैठकमै कोशीमा एमालेसहित सरकार बनाउने र सत्ता गठबन्धन जोगाउने प्रस्ताव राखेका थिए । ‘कदाचित अस्वीकार गरेको भए मैले भनेको हुँ, गगनले मानेनन् भन्न पाउनुहुन्थ्यो’ एक नेता भन्छन्, ‘तर उहाँले छलफल नै गर्न चाहनुभएन ।’

दरारले देउवालाई लाभ

कोशी प्रकरणले झट्ट हेर्दा कांग्रेसमा सभापति देउवाले हारेको र डा. शेखरले बाजी जितेको जस्तो देखिन्छ । तर कोशीको कम्पनले संस्थापन इतर समूहमा आएको दरार बढ्दा सबभन्दा लाभ देउवालाई हुने देखिन्छ ।

थापा निकट नेताहरुका अनुसार पछिल्लो समय दलको नेता परिवर्तनका लागि गृहकार्य भइरहेको थियो । ८८ सांसद भएको कांग्रेसमा दलको नेता परिवर्तन गर्न ४५ मत चाहिन्छ । ७ पुस २०७९ मा भएको दलको चुनावमा देउवाले ६४ मत पाउँदा गगनकुमार थापाले २५ मत पाएका थिए । थापा निकटवर्तीहरुका अनुसार यदि शेखर–गगन समूह एक ढिक्का भएको भए त्यो बेला नै थापाको मत ३२ वा सोभन्दा माथि आउनुपर्थ्यो ।

अहिले डा. शेखर कोइरालालाई नै संसदीय दलको नेतामा अघि सारेर सबै लाग्दा ४५ सांसद पुग्न पनि सक्ने अवस्था रहेको थापा निकटवर्तीहरु बताउँछन् ।

तर कोशी प्रकरणले दलको नेता परिवर्तनको सम्भावना समाप्त भएको छ । किनकि शेखर–गगन अलग हुँदा दुवैसँग १२/१५ सांसद भन्दा रहने छैनन् । यो अंकको बलमा दलको नेता बन्न सम्भव छैन ।

‘सभापतिलाई अंकको मतलव छ । उनले सबैतिर अंक हेरे, केही क्षति भएको छैन,’ एक केन्द्रीय सदस्य भन्छन् , ‘घाटा त डा. शेखरलाई भयो, ४० प्रतिशतको शक्ति आफैंले घटाउने काम गर्नुभयो । देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न संसदीय दलको नेता बन्ने अवसरबाट टाढा पुग्नुभएको छ ।’

देउवा दलको नेता रहँदासम्म  माओवादीसँग गठबन्धन तोड्न पनि सम्भव छैन । अझ देउवाले सत्ता गठबन्धनलाई बलियो बनाउने लिखित सहमतिमा डा. शेखरलाई नै हस्ताक्षर गराएर प्रधानमन्त्री प्रचण्डको पनि विश्वास जित्न सफल भएका छन् ।

शेखरसँग अलग हुँदा महामन्त्री थापालाई पनि क्षति नै हुनेछ । किनकी ४० प्रतिशत दाबी गर्दै आएको समूहको नेतृत्व महामन्त्रीका रुपमा पार्टीमा उनले गर्दै आएका थिए । अब त्यो घटेर १५/२० प्रतिशततिर झर्ने जोखिम हुनेछ, जसका कारण पार्टी नेतृत्वले उनलाई जति महत्व दिएको छ, त्यो भोलि नदिन सक्छ ।

थापा निकट नेताहरु भने यसलाई सकारात्मक रुपमा लिएर जान पनि सकिने बताउँछन् । उनीहरुका अनुसार महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमा पराजित भएका नेता प्रदीप पौडेलको साथ छ ।

तीन नेता एकठाउँमा उभिने हो भने पार्टीमा ध्रुवीकरण हुने र बलियो समूह बन्नसक्ने उनीहरु बताउँछन् । विश्वप्रकशलाई समूहमा भित्र्याउन डा. शेखरले आनाकानी गरेको भन्दै गगन–विश्व निकट नेता भन्छन्, ‘कोशी प्रकरणले गगन–विश्व–प्रदीप पौडेलको अर्को धार बनाउने बाटो खुल्न सक्छ ।’

संस्थापनइतरका पूर्व विद्यार्थी नेता मनोजमणि आचार्य पनि समूह तितरबितर हुनसक्ने आकलन गर्छन् । ‘१३ औंबाट १४ औं महाधिवेशनसम्म आइपुग्दा रामचन्द्र पौडेल समूहको अवस्था कस्तो भयो, देख्नुभएकै हो’ उनले भने, ‘यस्तै हो भने १५ औं सम्म रहँदा सबै एक ठाउँमा हुन्छन् भन्ने के हुन्छ र ?’

शेखर पक्षीय नेताहरु भने एउटा घटना विशेषका कारणले समूह संकट आएको वा नयाँ धार जन्मियो भन्नु हतार हुने बताउँछन् । पार्टीले अंगालेको गलत बाटोबाट राजनीतिलाई ट्रयाकमा ल्याउन लागि गरिएको पहलका रुपमा कोशी परिघटनालाई बुझ्नुपर्ने शेखर पक्षीय नेताहरुको भनाइ छ ।

‘एक/दुई एजेण्डा र कार्यशैलीलाई लिएर समूह टुक्रिंदैन र टुक्रिन हुँदैन’, दुई नेताबीच संवाद हुनासाथ असमझदारी हट्ने विश्वासका साथ केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल भन्छन्, ‘अरु तलका मान्छेहरुले टुक्रियो भन्नुले अर्थ राख्दैन, बाँकी शेखर दाइ र महामन्त्रीले मिलाउने कुरा हो ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?