+
+
कथा :

फेसबुक प्रेम

उसलाई श्रीमतीको औधी माया लागेर आयो । मन मनसँग रिसायो । मन श्रीमतीसँग कुरा गर्न व्याकुल बन्यो । प्लेकार्ड फ्याँकेर शवरीलाई भेट्न जान मन लाग्यो ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८० असोज २९ गते ७:५९

शार्दूलले फेसबुक खोल्यो । धेरैभन्दा धेरै साथी बनाउन थाल्यो । स्वदेशी विदेशी, चिनेका नचिनेका, साना–ठूला, महिला–पुरुष सबैलाई रिक्वेस्ट पठायो । जागिरे साथीहरू लगायत पुराना स्कुल कलेज पढ्दाका साथीहरूसँग भेट भयो । मन बढ्दै गयो । साथीहरूको लामो सूची तयार भयो ।

फेसबुक चलाउन थालेपछि अधिकांश समय कम्प्युटरको अगाडि बसेर बित्न थाल्यो । कम्प्युटरको स्क्रिनमा हेर्दा–हेर्दा आँखा सम्बन्धी समस्या देखियो । डाक्टरलाई देखायो । डाक्टरले चश्मा दिएपछि कम्प्युटरको स्क्रिन हेर्न सजिलो भयो । कम्प्युटरमा बस्ने उसको समय झन् बढेर गयो ।

फेसबुकको वालमा सूचना वा स्ट्याटस लेख्ने, राख्ने, पढ्ने, कमेन्ट गर्ने खेलो कहिल्यै सिद्धिदैनथ्यो, एक पछि अर्को आई–जाई हुन्थ्यो । विश्वको पूर्वदेखि पश्चिम गोलाद्र्ध र उत्तरदेखि दक्षिण अयनसम्मका साथी भएपछि कोही न कोहीसँग च्याट भइरहन्थ्यो ।

शार्दूललाई कम्प्युटर छोड्न मनै नलाग्ने हुँदै गयो । एउटा गजबको नेटवर्क बन्यो । साथीहरूसँग च्याट गर्ने बानी झन् झन् बढ्यो । फेसबुकमा केही लेखेपछि वा फोटो राखेपछि कतिले लाइक गरे ? कतिले कमेन्ट गरे ? त्यो हेर्न नै रमाइलो लाग्ने लत बस्यो । अनुहार नचिने पनि धेरै नजिकका जस्ता साथी ह्वात्तै बढे । शार्दूललाई फेसबुक अद्भुत आविष्कार लाग्यो ।

एकदिन, फेकबुक खोल्ने बित्तिकै ‘एड एज फ्रेण्ड’ मा ग्रेसको राम्रो फोटो देखियो । शार्दूलले तत्काल रिक्वेष्ट पठायो । ग्रेसले पनि तत्काल एसेप्ट गरी । उनीहरू साथी भए, च्याट हुन थाल्यो ।

शार्दूलले ग्रेसको सुन्दर फोटाको तारिफ गर्दै लेख्यो ।

ग्रेस, परीहरू स्वर्गमा मात्र हुन्छन् भन्थे, मैले त पृथ्वीमा नै भेट्टाएँ । कति कसिलो वान्की परेको तिम्रो शरीर, तेजिलो, हँसिलो रसिलो अनुहार, अनि तिम्रो आकर्षक मुस्कान, लोभ लाग्दा आँखाहरूले तिमी परी हौ भन्ने सिद्ध गरिरहेछन् । ’

‘तिम्रो विश्लेषण मन पर्यो, शार्दूल । सबैले मलाई राम्री र आकर्षक परी भन्छन् । तर, म परी होइन । एनी वे, थ्याङ्क यु फर योर एक्सलेन्ट कमेन्ट ।’ ग्रेसले शार्दूलको इमोशनलाई राम्ररी समेट्दै लेखेकी थिई ।

‘तिम्रो सुन्दरताको मैले पहिचान गर्न सके नि, होइन त ?’ शार्दूलको मन चञ्चल बन्यो ।

‘यु आर अल्सो गुड लुकिङ्ग’ ग्रेसले पनि प्रशंसाको पुल बाँधी ।

‘ग्रेस, हाम्रो भेटघाट एउटा निरन्तर यात्राको पाटो हुनेछ । रमाइलोसँग अगाडि बढाउनुपर्छ’, शार्दूलले थप्यो ।

‘भैहाल्छ नि ! अहिले तिमी नेपालमा छौ । म फिलिपिन्समा छु । फिलिपिन्स यूनिभर्सिटीमा मेरो पीएचडीको अन्तिम वर्ष चलिराखेको छ । छिट्टै काठमाडौं आउने मेरो योजना छ । काठमाडौं आउँदा भेटौंला, रमाइलो गरौंला ल ।’

ग्रेसले भेट्ने र रमाइलो गर्ने रोमान्टिक मनसुवा प्रकट गर्दै लेखी ।

‘धन्यवाद ग्रेस, म तिमीलाई पर्खिरहनेछु’ शार्दूल रोमान्टिक बन्दै गयो ।

‘थ्याङ्कस् डियर’ ग्रेस पनि खुबै उत्सुक बनेकी थिई ।

‘ग्रेस ! मलाई मकाती खुब मन पर्यो । झन् फिलिपिन्स युनिभर्सिटीबाट जिप्सी चढेर जाँदा जिप्सीमा ‘वायाँ दो’ भन्दै भाडा उठाउने र ड्राइभरले ऐनाबाट अनुगमन गर्ने तरीका कस्तो रमाइलो ? तिमी बागियो घुुमेकी छ्यौ नि ? बागियो उपत्यका त ठ्याक्कै काठमाडौं जस्तो छ । मनिलाबाट बागियो जाँदा उकालो बाटोका फनफन्ती घुम्ने घुम्ती त नेपालको जस्तै !’

शार्दूलले ग्रेसलाई फिलिपिन्स भ्रमण गरेको विवरण मेसेन्जरमा पठायो ।

‘अहो ! तिमी फिलिपिन्स आइसकेका छौ । मलाई पनि बागियो खुब मनपर्छ । बागियो त हाम्रो समर राजधानी हो नि ! म कतिपल्ट गइसकें । बागियो आकर्षण नै सुन्दरता र ठण्डा हो । मकाती त घर जाँदा–आउँदा बाटैमा पर्छ । साँच्ची तिमी फिलिपिन्स कहिले आएका थियौ हँ ?’ ग्रेसले शार्दूलको विषयमा धेरै कुरा जान्न खोजी ।

‘मैले सन् २००० मा फिलिपिन्स भ्रमण गरेको थिएँ । फिलिपिन्स यूनिभर्सिटी (पीयू) मा जनसंख्या विषयको तालिम थियो, झण्डै ३५ दिनको । पीयूभित्रै बसेको छु । साह्रै गर्मी, जून–जुलाईमा त फिलिपिन्स । चिसो बागियो कस्तो आनन्द’ शार्दूलले ग्रेसलाई जानकारी गरायो ।

‘हामीलाई त गर्मी खप्ने बानी परेको छ’ ग्रेसले गर्मीलाई सामान्य बताई ।

****

‘हजुरले कम्प्युटरसँग बिहे गरे भयो, अब । अफिसबाट फर्केपछि छोराछोरी श्रीमतीसँग गफसप गर्नु–वर्नु छैन । जतिखेर पनि कम्प्युटरकै अगाडि । कम्प्युटर अगाडि बसेर पनि समाचार पढ्ने, कथा कविता लेख्ने गरे पो हुन्छ । खाली फेसबुक, फेसबुक भन्या छ, छ !’

चिया राख्दै श्रीमती पड्किन थालेपछि शार्दूलले ग्रेससँगको च्याटलाई मिनीमाइज गर्यो ।

चिया राखेर शवरी फर्कने बित्तिकै ऊ फेरि ग्रेससँग च्याट गर्न थाल्यो ।

‘बाबु ! बाबाले नि कम्प्युटरमा के के लेख्दै हुनुहुन्थ्यो । म पुग्दा त लेख्दै गरेको झरे जस्तो भएर सबै हरायो । के भएको हो ? भन त ।’

श्रीमतीले छोरासँग राखेको जिज्ञासा शार्दूलले सुनिरहेको थियो ।

छोरो जोडले हाँस्यो, सँगसँगै छोरी पनि हाँसी । ‘मामुलाई कम्प्युटर सिक्नुस्, इन्टरनेट चलाउनुस् भन्दा मान्नुहुन्न । बाबाले के लेख्दै हुनुहुन्थ्यो मामुलाई लुकाउन मिनिमाइज गर्नुभएको होला नि !’

छोराले मामुलाई समयअनुकूल हुन अनुरोध गर्यो ।

ग्रेससँगको च्याट बाक्लिंदै जाने क्रममा शार्दूल मनमनै एककिसिमको द्वन्द्वमा फस्दै गयो । हरेक मान्छेसँग दुई मन हुन्छन्, एउटा स्वार्थी छाडा र अर्को इमानदार निस्वार्थी ।

‘ल आउ छोरा, मलाई कम्प्युटर सिकाइदेऊ त ! सिक्नै पर्यो, मैले पनि । आजकल त कलेजमा पनि कम्प्युटर राखिदिएको छ, टेबलमा’, शवरीले मुस्कुराउँदै छोरालाई बोलाइन् ।

‘मामुलाई म सिकाउँछु’, छोरीले शवरीलाई डोर्याउँदै ल्याई ।

छोरी आउन लागेको सुइँको पाउनासाथ शार्दूलले ग्रेससँगको संवादलाई काटेर अमेरिका बसेकी भतिजीसँग च्याट गर्न थाल्यो ।

‘खै त बाबा, मामु त सारै लाटी हुनुभयो । च्याट गर्दागर्दै बाबाले अर्की बुढी ल्याएको पनि थाहा नपाउनुहोला भन्ने डर’, छोरीले हातबाट माउस समाती ।

शार्दूल झसङ्ग भयो ।

छोरीलाई ‘ल बस’ भन्दै शार्दूल आफ्नो फाइल बन्द गरेर उठ्यो । शवरी कम्प्युटरको अगाडि बसिन् ।

छोरीले मामुलाई सँगै बसालेर धेरै थोक सिकाई । ‘बुझें बुझें । अब त म पनि बुढाको छड्के जाँच गर्न सक्ने भए नि’ शवरी रमाउँदै सिकिरहेकी थिइन् ।

बुढीको आत्मविश्वास शार्दूलले मोबाइलमा खेल्दै गर्दा सुनिरहेको थियो । छोरीको भनाइ र ग्रेससँग बढ्दै गएको वार्तालाप बीच शार्दूललाई कहीं न कहीं सम्बन्ध भए जस्तो पनि लाग्यो । शार्दूल उद्वेलित भयो, तत्काल के गरुँ, के गरुँ भएर आयो ।

शार्दूलले ग्रेससँगको संवादलाई सतही रूपमा राख्ने निर्णय गर्यो । तर मन बसमा राख्ने निरर्थक प्रयासको कुनै अर्थ रहेन । शार्दूल कर्कलाको पातमा गुडुल्किरहने पानी जस्तो चञ्चल मन लिएर हिंडिरह्योे ।

ग्रेसले आफ्ना भावनाहरू निर्बन्ध पोखिरहेकी थिई । शार्दूललाई ग्रेसको लेखाइ खुब मन पर्दथ्यो । ग्रेसको रेस्पोन्स एकैछिन मात्रै ढिला हुँदा पनि छट्पटाउँथ्यो । जवाफ आएपछि उत्तेजित हुन्थ्यो । रमाउँथ्यो । सबै काम छोडेर च्याट गर्न थाल्थ्यो ।

‘म काठमाडौं आउँदैछु’ एकदिन ग्रेसले फेसबुक म्यासेन्जरमा खबर लेखी ।

वाह् ! ग्रेस आउने खबरले शार्दूल रोमाञ्चित भयो । मन झन् भड्कियो । दुई जना मात्रै घुम्दा कत्ति रमाइलो हुने होला ? ग्रेससँग घुम्ने, रम्ने र छाडा हुने योजना बनाउन थाल्यो । अफिसबाट बिदा लिने भयो ।

‘तिमी काठमाडौं आउने खुसीको कुरा हो, ग्रेस । हामी भेटौंला । कुरा गरौंला र धेरै राम्रा राम्रा ठाउँहरू घुमौंला’ शार्दूलले ग्रेसलाई जवाफ लेख्यो ।

‘ल राम्रो । म पनि तिमीसँग रमाइलो गर्ने मूडमा छु’, ग्रेसले शार्दूललाई थप रोमाञ्चित बनाई ।

ग्रेससँगको च्याट बाक्लिंदै जाने क्रममा शार्दूल मनमनै एककिसिमको द्वन्द्वमा फस्दै गयो । हरेक मान्छेसँग दुई मन हुन्छन्, एउटा स्वार्थी छाडा र अर्को इमानदार निस्वार्थी । छाडा मन मान्छेलाई विधि, संस्कृति र सभ्यता विपरीत कर्म गर्न उक्साउने गर्दछ । छाडा मनले जित्यो भने मान्छे बहकिन थाल्छ । भ्रष्ट आचरण गर्छ ।

निस्वार्थी मन धर्मभीरु, विधिपालक र नैतिकवान हुन्छ । मानिसलाई असल कर्म गर्न र सत्मार्गमा यात्रा गर्न प्रेरित गर्दछ ।

शार्दूल खुसी, भय र द्वन्द्वको त्रिसाँधमा उभिन पुग्यो ।

मन बरालिएर बाहिरी महिलासँगको अनैतिक संगतले सुखी परिवार विखण्डन हुन सक्छ । भ्रष्ट विचारको उदय हुन्छ । भ्रष्टाचार गर्न थाल्दछ । हाँसीखुसी जीवन र परिवारमा समेत द्वन्द्व र दुःखले प्रवेश गर्छ । इमानदार मनको तर्क थियो । ग्रेससँग घुम्न रमाउन रहर गर्ने मन रम्न नै सही मान्दै थियो ।

‘शार्दूल ! मेरो होटल बन्दोबस्त गर है ! मैले सुनेकी छु नेपालमा काठमाडौं हेरेपछि सगरमाथा हेर्न हिमाली उडान गर्नुपर्छ रे ! पोखरा, लुम्बिनी, सौराहा र जनकपुर घुम्नै पर्छ रे ! तिमीले हप्ता–दश दिनको कार्यक्रम बनाउ ल’, ग्रेसको अनुरोध आयो ।

मनमा विस्तारै मनयुद्ध सङ्ग्रालिन थाल्यो । धत् ! यो फेसबुकको संवाद त घरपरिवार नै बर्बाद गर्ने मेलो पोे होला जस्तो छ ।

‘हप्ता दिन मात्रै किन प्रिय, म महिना दिन नै बिदा लिउँला नि !’ शार्दूल फेसबुक प्रेममा तरुनी ग्रेससँग घुम्ने र छाडा हुने अभिलाषामा हरायो । खुसीमा रमाउँदै एकसासमा ग्रेससँग रमाइलो गर्ने कार्यक्रम बनाएर पठायो ।

‘कार्यक्रम बडो राम्रो लाग्यो, शार्दूल’, ग्रेस पनि कार्यक्रम देखेर रमाई ।

शार्दूल ग्रेस आउने योजनाले निरन्तर उत्तेजित थियो । पलपलको खबर पाउन, गफ गर्न कम्प्युटरसँग चपक्कै टाँसिएर बस्ने गर्न थाल्यो । ग्रेस पनि उसैगरी बस्दथी । शार्दूलले केहीबेर ढिलो जवाफ लेख्दा नै, किन के कारणले ढिला भयो भनेर प्रश्न गर्दथी ।

शार्दूल र ग्रेसबीचको सम्बन्ध अत्यन्त घनिष्ट, आकर्षक र गहिरो बन्दै गइरहेको थियो । च्याट गर्दा उनीहरू दुवै समय गएको पत्तै पाउँदैनथे । मन फुकाएर गफ गर्दथे ।

ग्रेससँगको घनिष्टताले शार्दूल श्रीमतीसँग टाढिंदै गयो । श्रीमतीले केही भन्यो कि झनक्क रिसाउँथ्यो । ओछ्यानमा पनि ढिलो गरी जान्थ्यो । छोराछोरीसँग पनि स–सानो कुरामा झर्किन्थ्यो । शार्दूलले फेसबुक चलाइरहेको शवरीलाई पटक्कै मन परेको थिएन ।

‘अफिसबाट फर्केपछि बुढाबुढी बसेर रमाइलो कुराकानी गर्न पाए पो हुन्छ । काम न धाम फेसबुकमा जाम ।’ डाक्टर सन्दुक रुईतले भन्नुभएको– ‘एकघण्टा मोबाइल टिभी हेरेपछि बीस–तीस सेकेण्ड आँखा चिम्लनुपर्छ रेष्टको लागि’ श्रीमतीले फनफनिंदै कम्प्युटरको स्वीच अफ गरिदिइन् ।

शार्दूलले स्वीच अन गर्यो । फतफताउँदै श्रीमती भान्सातिर लागिन् । कम्प्युटर चलाउँदै श्रीमती रिसाएको विषयमा विश्लेषण गर्न थाल्यो । मनमा कर्तव्यबोध र स्वार्थलोभको द्वन्द्व मच्चिइरह्यो ।

ग्रेस काठमाडौं आउने दिन भड्किंदै आइरहेको थियो । ग्रेस नेपाल आउने कुरा श्रीमतीलाई भन्ने वा नभन्ने ? अनुरागी शार्दूल दोमनमा थियो । एउटा मन ग्रेससँग घुम्ने रमाउने सोचमा मग्न थियो र आतुर पनि । अर्को मन श्रीमतीलाई भन्ने, ग्रेसलाई घर बोलाउने र अन्तर्राष्ट्रिय साथी बनाउने योजना बनाउँथ्यो ।

मनमा विस्तारै मनयुद्ध सङ्ग्रालिन थाल्यो । धत् ! यो फेसबुकको संवाद त घरपरिवार नै बर्बाद गर्ने मेलो पोे होला जस्तो छ । मेरो इमानदारितालाई निःशर्त विश्वास गर्ने मेरी श्रीमतीलाई धोका हुन्छ । मैले ग्रेससँगको सम्बन्धको विषयमा कि त शवरीलाई भन्नुपर्छ कि पूर्णविराम लगाउनुपर्दछ । भावनामा बग्नुहुँदैन । शार्दूलको इमानदार मनमा कर्तव्यबोधको उच्चानुभूति भइरहेको थियो ।

के हुन्छ र ! ग्रेससँग भेट्दा र बोलचाल गर्दा ? आधुनिक युगमा केटी केटा साथी, केटा केटी साथीसँग घुम्नु, रमाउनु अर्घेल्याईं हो र ? केटी साथीसँग गरिने व्यवहार कुनै अपराध, धोका वा बेइमान त होइन नि ! शार्दूलको स्वार्थी मन ग्रेससँग घुम्ने सोचलाई न्यायसंगत बनाउन खोजिरहेको थियो ।

आनन्द त जहाँ मन रमाउँछ त्यही हुन्छ । भौतिक मनोरञ्जनमा जीवन बिताउनु पो जीवन । वैराग्यमा के को स्वाद छ ? तैंले संसारको कुनै सुखसयल गर्नै दिइनस् मलाई ।

स्वार्थी मन निस्वार्थ मनमाथि दोष थुपार्दै भनिरहेको थियो ।

हेर ! आनन्द भोगमा छैन, त्यागमा छ, नैतिकतामा छ । असल सम्बन्धमा छ । नैतिकता भनेको विधिसंगत व्यवहार हो । त्याग भनेको इच्छाको त्याग हो । इच्छाको त्याग भनेको आसक्ति र अनैतिकताको त्याग हो आत्मा बाहेक सबै दृश्य पदार्थहरू मिथ्या हुन्, सपनामा देखेका दृश्य वा पदार्थ जस्तै ।

सपनामा देखेको पदार्थ मिथ्या हो भनेर जानेकाले हामी त्यसको कहिल्यै इच्छा गर्दैनौं । त्यस्तै भौतिक चराचर र वस्तु सम्बन्धी ज्ञानले ती सबै पदार्थ मिथ्या हुन् भन्ने जानकारी दिन्छ । इच्छाको त्याग गर्न सहज र सम्भव हुन्छ । त्यागले असल सम्बन्धले मानिसलाई इमानदार बनाउँछ । सुखी बनाउँछ ।

निस्वार्थी मनले स्वार्थी मनलाई बुझाउँदै गयो ।

काम, कर्तव्य निभाउँदै भोगविलास गर्नु पाप होइन, ऐश्वर्य प्राप्त गर्नु हो । आनन्द प्राप्त गर्नु हो ।

स्वार्थी मन ग्रेससँग रमाउने बाटो खोजिरहेको थियो ।

ज्ञानाभावले मानिस बरालिन्छ, मन बिथोलिन्छ । बिथोलिएको मन लिएर हिंड्ने मानिसको मनोदशा पनि सही हुँदैन । मानिसले ज्ञार्नाजन गर्ने, नियममा बस्ने, कर्तव्य निभाउने काम गर्यो र लालसा, माया र कामुकता त्याग गर्यो भने सुख, शान्ति र परमानन्द प्राप्त गर्दछ । ज्ञान र विवेक प्राप्ति गरेपछि अभय प्राप्त गर्दछ । नैतिकताले सिञ्चित हुन्छ । आफ्नो र पराया सबैलाई समान देख्छ । ज्ञानी मान्छेमा भय, दुःख, चिन्ता, शोक, लोभ केही हँुदैन । निस्वार्थी मन स्वार्थी मनलाई सम्झाउन छोडेको थिएन ।

मान्छेको अठोटले परिस्थितिलाई सहज बनाउन सक्छ । आत्मानुशासन आफैंप्रतिको विश्वास हो । विश्वास अनुरूपको कर्मले मान्छेलाई सफल बनाउँछ । खराब र असल जान्दाजान्दै पनि सही निर्णय गर्न नसक्नु असल मन खराब मनसँग पराजय हुनु हो । स्वार्थभन्दा माथि उठ्न नसक्नु हो । शार्दूल द्वन्द्व र दुष्कर्मबाट निस्कने कोसिस पनि गर्दैथियो ।

निस्वार्थ बन्ने चाहना हुँदाहुँदै पनि बाध्यता, रहर, माया, लोभ र रिस–रागले मान्छेको प्राकृतिक चाहना हार्ने रहेछ । स्वार्थपे्ररित, स्वार्थजनित क्रियाकर्म सबै दुष्परिणाम र पीडाका थैला हुन् भन्ने जान्दा जान्दै पनि हामी स्वार्थकुण्डमा फाल हानिरहेका हुन्छौं । मन जति बढायो उति तन्कन्छ, रबर जस्तो । मान्छे स्वार्थको दास रहेछ ।

स्वार्थले हो रहेछ मानिसलाई भ्रष्ट बनाउने । विधिको शासन र स्व–अनुशासनमा बस्न अनि स्वनियन्त्रित हुन मान्छेले मन व्यवस्थापन गर्न सक्नुपर्छ । शार्दूलको मन स्वार्थ र निस्वार्थ भावको संघर्षमा त्रिशूलीमा र्‍याफ्टिङ्ग गरे झैं हुत्तिने र बत्तिने गरिरह्यो ।

कति अत्तालिएको हजूर ? मान्छे वा लोकले के भन्छ ? भन्ने हो भने त संसार स्थिर जड बन्ने थियो । परिवर्तन गर्न क्रमभङ्ग गर्नुपर्छ । यथास्थितिलाई परिवर्तन गर्नु, नयाँपन दिनु त महत्वपूर्ण योगदान हो, जीवनजगतमा । एकपटक तपाईं ग्रेससँग रमाएर त हेर्नुस् । जीवन के रहेछ बल्ल जानकारी हुन्छ ।

स्वार्थी मन आफ्नो अडानबाट पछि हटेको थिएन ।

मन के रहेछ ? म मनलाई किन स्थिर गर्न सकिरहेको छैन ? मनले मेरा इन्द्रियहरूलाई किन भड्काइरहेछ, बासनातर्पm दौडाइरहेछ । बगरेले बोका घिच्याए झैं म मनले जता डोर्याउँछ उतै किन गइरहेछु ? मान्छे आफैंभित्र रहेछ, खराब र असल मन । शार्दूल आफ्नो मनकर्म सही छैन भन्ने अनुभूत भइरहेर पनि संयम धारण गर्न सकिरहेको थिएन ।

मन मगन भएर आधुनिकताको भोग गर्नु जीवन हो । स्वार्थी मन शार्दूललाई भोगवाद पढाउन छोडेको पनि थिएन ।

मन शरीरकै अंग हो ? तर स्थूल होइन । मन दृश्य हुँदैन । मन भाव हो । शरीरमा जुन सुख–दुःख हुन्छ त्यो मन हो । मन र आत्माबीच नजिकको साइनो हुन्छ । मन हजुरको सारथि हो । ऊ हजुरलाई स्वतन्त्र बनाउन र मनमानी कर्म गराउन प्रेरित गर्दछ । मन चञ्चल हुनु भनेको तनावमा फस्नु हो । मनलाई नियन्त्रण गरेर संयम धारण गर्नुुपर्दछ ।

योगाभ्यासले बहर गोरुलाई दाए झैं मनलाई पनि स्थिर गर्न सकिन्छ । गलत विचार, खराब व्यसन तथा खराब सोच, खराब खानपानको परित्यागले मनलाई काबुमा राख्न कुनै कठिन छैन । मनलाई आफूले भने अनुसार चलाउन पनि सकिन्छ । स्वार्थी मनले हजुरलाई कुन भड्खालामा लगेर हाल्छ ? निस्वार्थी मन शार्दूललाई सचेत गराउन छोडेको थिएन ।

मन स्वतन्त्र हुन्छ । स्वतन्त्र मनलाई वशमा राख्नु भनेको एक किसिमको अपराध हो ।

स्वार्थीमन तर्क गर्न चुकेको थिएन ।

जहाँ काम, क्रोध, लोभ र मोह हुन्छ त्यहाँ मानिसलाई मोहित पार्ने धेरै कारक हुन्छन् । आत्मज्ञानले लोभ्याउने सबै साधन र आधार चिन्नुपर्छ । आफ्नो स्थापित सिद्धान्तबाट विचलित हुनुहुँदैन । निस्वार्थी मन स्वार्थी मनसँग शार्दूललाई सजग गराइरहेको थियो ।

शार्दूललाई स्वार्थी मनले विस्तारै न्याक्दै लग्यो, चङ्गाले धागो ताने झैं । उसलाई श्रीमती छोराछोरी देख्दा नै एकतमासको तनाव पैदा हुन्थ्यो । ग्रेसको एउटै समाचारले असाध्य खुसी बनाउँथ्यो । शवरीको कचकच र गनगनले दुःखी । शार्दूल तनाव र रोमाञ्चको दोसाँधमा बल्झिरह्यो । दुई मनको मनमुटाव बाझा–बाझ गरेर छताछुल्ल होला भन्ने डर थियो ।

‘आजकल हजुर एकोहोरो बन्नुभएको छ । धेरै बोल्नु पनि हँुदैन । बिरामी जस्तो देखिनुहुन्छ’ शवरीले शार्दूलको बदलिएको व्यवहारको मूल्यांकन गर्दै भनिन् ।

‘हो हगि मामु । बाबा बदलिनुभा’को छ’, छोराछोरीले पनि शवरीलाई सही थाप्दै भने ।

‘केही भएको छैन ?’ शार्दूल उतर्सियो । हाकिमले हप्काएको घटना सम्झियो । मन मनको रडाको शवरीलाई अनुभूत भएको महसुस गर्यो ।

शार्दूल एकान्तमा रमाउन थाल्यो । मान्छे स्वार्थी मनसँग हारेपछि मानसिक सन्तुलन कायम गर्न सक्दो रहेनछ । स्वार्थी मनको लहलहैमा आफूलाई बिकाउँदै हिंड्दो रहेछ । स्वार्थी जमातको पक्षमा समर्थन र निर्णय गर्न थाल्दो रहेछ । सत्य, इमानदार र नैतिकताको मार्ग बिर्संदो रहेछ ।

मान्छेको स्वार्थलाई उत्प्रेरित गर्ने प्रबल तत्वहरू क्रोध, लोभ, मोह वा कामवासना दुर्घटना हुन्, जो कहिल्यै तृप्त हुँदैनन् र भरिन्नन् पनि । जानाजानी गल्ती गर्ने मान्छे अत्यन्त कमजोर हुन्छ । सत्य ढाकछोप गर्न रिसाउँछ, भाग्छ । शार्दूललाई गे् ससँग एक्लै घुम्ने इच्छाले लोभी, कायर र अन्धो बनाइरहेको थियो । निस्वार्थी मनले जति सम्झाए पनि कामेच्छाबाट मुक्त हुनसकेको थिएन ।

ग्रेससँगको वार्ताबाट विकसित फेसबुक प्रेमले शार्दूलको जीवनलाई एउटा मोडमा लगेर खडा गरिदियो । क्षणिक आनन्दको इच्छा छोडेपछि मनको चञ्चलता नाश हुन्छ । मनको चञ्चलता नाशपछि मानिसले कामेच्छाबाट मोक्ष प्राप्त गर्दछ र खुशी हुन पुग्छ । मन मनसँगको युद्धमा शार्दूल विस्तारै कामुक मनको पासोमा पर्दै गयो । कर्तव्य र जिम्मेवारी भुल्दै गयो । आफंैले आफूलाई बिर्सियो । अन्ततः ऊ स्वार्थी मनसँग पराजित भयो र ग्रेससँगको भ्रमण गोप्य राख्ने निधो गर्न पुग्यो ।

आफ्नै गतिविधिले हुने पश्चात्ताप र पीडाको रापले मान्छे सद्बुद्धिमा फर्कने आशा गर्दै निस्वार्थी मन मूकदर्शक भयो । स्वार्थी मन शार्दूलसँग रमाइरह्यो ।

‘शार्दूल ! हामी सँगसँगै घुम्नुपर्छ । अफिसमा विदा मिलाऊ है’, ग्रेसले आफ्नो हवाई उडान कार्यक्रम पठाउँदै भनी ।

वाह् ! मन युद्धरत नै भए पनि आनन्द र रमाइला धेरै कथाहरू बुन्दै शार्दूल अचम्मसँग रमायो ।

ग्रेसस आउने दिने नजिकिंदै आयोे । ‘म टर्मिनल बाहिर पर्खिरहनेछु, ग्रेस’, शार्दूलले म्यासेज पठायो ।

‘ओके शार्दूल ।’ ग्रेसस ढुक्क भई ।

ग्रेस नेपाल आउने दिन । अफिसमा विदा लिएर शार्दूल प्लेकार्ड सहित एयरपोर्ट टर्मिनल बाहिर स्वागत गर्नेहरूको लाममा उभियो । प्लेन उड्ने र बस्ने गरेको आवाज कानमा गुञ्जिरह्यो । पटक–पटक उसका आँखाहरू टिभी स्क्रिनमा पुग्थे । प्लेन आइपुग्ने समय हेर्थे । मन तुलबुल, तुलबुल थियो ।

श्रीमतीलाई आजसम्म कुनै कुरा लुकाएको थिएन । ग्रेस नेपाल आउने कुरा लुकाएकोमा शार्दूलको मनमा गम्भीर अपराधबोध भयो । पश्चात्तापको अग्निकुण्डमा मन पोलेर छट्पटायो । जति जति शवरीलाई सम्झन्थ्यो उति उति मन पोल्न थाल्दथ्योे ।

म श्रीमती, छोराछोरीलाई अत्यन्त माया गर्ने मान्छे । ग्रेसससँगको वार्ता र ऊ आउने खबरले मात्र मेरो मनमा एककिसिमको पाप पैदा भएको हो । पापी मन । शार्दूल स्वयं सचेत बन्यो । सत्मार्ग खोज्यो ।

उसलाई श्रीमतीको औधी माया लागेर आयो । मन मनसँग रिसायो । मन श्रीमतीसँग कुरा गर्न व्याकुल बन्यो । प्लेकार्ड फ्याँकेर शवरीलाई भेट्न जान मन लाग्यो । झट्पट् श्रीमतीको मोबाइलमा फोन गर्यो । फोन लागेन । छटपटी झन् बढ्यो ।

प्लेन अझै आएको थिएन । शार्दूलले श्रीमतीलाई दोहोर्याई तेहर्याई फोन गर्यो । कसै गरे पनि फोन लागेन ।

प्लेन आउन ढिलो भयो र पनि ऊ प्लेकार्ड लिएर पर्खिरह्यो । प्लेकार्ड लिएर उभिंदा अरूले देखे के भन्लान् भन्ने लाज बल्ल आयो । प्लेकार्ड फ्याँकेर घर हिंड्न मन लाग्यो । तर सकेन, ग्रेससँग रमाउने उसको मन अझै ज्यूँदो थियो ।

शार्दूलले श्रीमतीलाई पटक–पटक डायल गरिरह्यो । बल्लतल्ल फोन लाग्यो । फोन काटियो । उसले प्लेकार्ड लिएर उभिएका सबैलाई नियाल्यो ।

केहीबेरपछि शवरीको फोन आयो । फोन उठायो तर शार्दूल केही बोल्न सकेन । सबैले उसलाई गिज्याए जस्तो लाग्यो, निहुरमुन्टो लगाएर उभिरह्यो ।

एयरपोर्टमा भीड बढ्दै गयो । शार्दूलको छटपटी रोकिएको थिएन । मन मान्दै मानेन । उसले श्रीमतीलाई फोन गर्यो । श्रीमतीले फोन उठाएपछि शार्दूल खुसीले फुरुङ्ग हँुदै सुनायो, ‘बुढी म त फिलिपिनो साथी ग्रेससलाई स्वागत गर्न एयरपोर्टमा छु । जहाज ढिला भयो ।’

शार्दूलले एकसासमा भन्यो ।

‘ए हो ! ग्रेसलाई घरै लिएर आउनुस् न त । रमाइलो गरौंला नि ! हुन्न ?’ शवरीले अनुरोध गरिन् ।

कति शान्त, सौम्य र सरल शवरीको मन ? शार्दूल श्रीमतीको इमानदारीबाट कृत–कृत्य भयो । मनबाट भय, द्वन्द्व र कामेच्छा क्षणभरमा हराएर गयो । सत्यको उजागरले तनाव शून्य भयो । मन शान्त भयो, ठूलो विजय प्राप्त गरे झैं ।

मान्छे बिग्रिने, कमजोर हुने त मन नियन्त्रण गर्न नसकेर पो रहेछ । नैतिक सत्य स्वीकार नगरेर पो रहेछ । उसलाई मनसँग खेलबाड गर्न नहुने चेत आयो । मन सङ्लो र शुद्ध भयो । शार्दूलले आफैसँग माफी माग्यो । निस्वार्थी मन खुसीले गद्गद् भयो । स्वार्थी मन भित्तामा छेल परेर बस्यो ।

प्लेन ल्याण्ड गर्यो । सबै यात्रुहरू निस्किए । शार्दूल परपरसम्म ग्रेसलाई खोज्दै थियो । प्लेकार्ड लत्रक्क निहुरिएको थियो ।

‘हेलो शार्दूल ! आई एम ग्रेस’ भन्दै एक प्रौढ वृद्ध फिलोपिनो महिलाले शार्दूललाई अंकमाल गरिन् र ‘हि ईज माइ हसबेण्ड’ भन्दै लोग्नेलाई चिनाइन् । शार्दूल ग्रेससको अँगालोमा टोलाइरह्यो ।

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?