+
+

खसीको पक्कु : दशैंको स्वादिलो परिकार (भिडियो)

सोमराज बजगाई सोमराज बजगाई
२०८० असोज ३० गते १८:०९

नरम र भित्रैसम्म मसला पुगेको खसीको पक्कु सम्झदा मुखमा पानी आउँछ । खसीको पक्कु भन्नसाथ धेरैले दशैं सम्झन्छन् । हो पनि, यो दशैं विशेष परिकार हो ।

दशैं ‘मीठो मसिनो खाने’ पर्व । त्यसमा पनि खसीको व्यञ्जन खास मानिन्छ । खसीको अनेक परिकार बन्छ । त्यसमध्ये पक्कु सर्वपिय छ । दशैंमा पाहुना लाग्न जाँदा होस् वा पाहुनालाई मानमनितो गर्दा, तात्तातो पक्कु पस्कने गरिन्छ ।

पक्कु बनाउन झन्झटिलो छैन । खसीको रोज्जा मासुलाई मरमसलाको मात्रा राम्ररी मिलाएर पक्कु बनाउन सकिन्छ । यद्यपि यसका लागि धैर्यताको जरुरी छ । किनभने पक्कुलाई धेरै समय लगाएर पकाउनुपर्छ ।

यो नेपाली भान्साको मौलिक परिकार हो । त्यसैले नेपाली जिब्रोले रुचाउने स्वाद यसमा मिश्रित हुन्छ । जिरा, धनिया, खुर्सानी, अदुवा, लसुनदेखि दालचिनी, जाइफल, मरिचसम्मको मरमसलाको स्वाद आउनुपर्छ, पक्कुमा ।

पक्कुले हाम्रो पूर्खाको पाककला मात्र झल्काउँदैन । तयारी मासुलाई लामो समयसम्म भण्डारण गरेर कसरी राख्ने भन्ने विधि पनि थाहा हुन्छ । पक्कु खासमा लामो समयसम्म राखेर आवश्यक्ता अनुसार खानकै लागि तयार गरिने परिकार हो ।

पहिले पहिले खानेकुरा राख्नका लागि फ्रिज हुँदैनथ्यो । त्यसैले दशैं जस्तो चाडपर्वमा पकाइएका कतिपय खानेकुरा यत्तिकै बिग्रन सक्थ्यो । त्यसैले लामो समयसम्म कसरी तयारी मासु राख्ने भन्ने खोजले नै पक्कु पकाउने प्रचलन सुरु भएको पाइन्छ ।

त्यसमाथि दशैंमा एकपछि अर्को पाहुना आइरहन सक्छन् । पाहुना आउदैपिच्छे मासु पकाउन संभव पनि नहुन सक्छ । यस्तो अवस्थामा पाहुनाका लागि छिटो छरितो परिकार पस्कनका लागि पक्कु उपयुक्त हुने भयो ।

एक पटक पकाएको पक्कुलाई एक साता वा दश दिनसम्म राखेर खान सकिन्छ । यसमा जुन हिसाबले मसलाको मिश्रण गरिन्छ र जसरी पकाइन्छ, त्यसको कारण लामो समयसम्म बिग्रिन पाउँदैन ।

दशैंमा हरेकजसोले घरमै सिंगो खसी ढाल्ने गर्छन् । एउटा खसीको मासु एकैदिन पकाएर खान संभव नहुन सक्छ । यस्तो अवस्थामा खसीको मासुलाई लामो समयसम्म राखेर खानुपर्ने हुन्छ । त्यसको सर्वोत्तम विकल्प हो, पक्कु  ।

पक्कु पकाउनका लागि खसीको ताजा मासु जरुरी हुन्छ । सकेसम्म ठूल–ठूलो चोक्टा राम्रो हुन्छ । त्यसलाई अदुवा–लसुनको पेस्ट, धनिया–जिराको धुलो, दालचिनी–सुकुमेल–ल्वाङ–जाइफलको धुलो, काश्मिरी खुर्सानीको धुलो, बेसार मिसाएर राम्ररी मुछ्ने । स्वाद अनुसार नुन राख्ने, थोरै घिउ राख्ने । त्यसमा केही चम्चा दही राखेर फेरी राम्ररी मुछ्नुपर्छ । दहीले मासुलाई भित्रैसम्म नरम बनाउँछ । अब यसमा भुटेको तोरीको तेल पनि राख्नुपर्छ । यसरी मरमसला हालेर मुछेको मासुलाई केही समयसम्म राख्नुपर्छ ।

पक्कुलाई कसौडीमा पकाउनु उपयुक्त हुन्छ । तेलमा राम्ररी भुटेपछि सानो आगो बनाएर यसलाई लामो समयसम्म पकाइरहनुपर्छ । तीन–चार घण्टा पकाएपछि बल्ल पक्कु तयार हुन्छ ।

बजगाई सिलौटो कटेज, अनामनगरका सेफ हुन्

फोटो–भिडियो : आर्यान धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?