+
+

नेपाली सेनाका गजेन्द्र राईले जिते ११ औं लिगलिगे दौडको उपाधि

बिकास मरहट्टा बिकास मरहट्टा
२०८० कात्तिक १ गते ११:५०

१ कात्तिक, गोरखा । गोरखाको पालुङटारमा बुधवार आयोजित ११ औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । उपाधि जितेसँगै उनी ११ औं ‘लिगलिगे राजा’ बन्न सफल भएका छन् ।

चेपेघाटदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए । खोटाङ घर भएका उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।

निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बनेका छन् । त्यसैगरी यसअघिका बिजेता अनिस थापा यसपटक तेस्रो बनेका छन् । निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।

दौडको उपाधि बिजेता राईलाई विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गर्ने कार्यक्रम रहेको आयोेजक लिगलिग विकास अभियानका अध्यक्ष संजिव राना मगरले बताए । त्यस्तै एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र पनि दिइने बताइएको छ । दौडमा दोस्रो भएका रावतले ५० हजार र तेस्रो बनेका थापाले २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

दौडमा २१ जना स्थानीय धावकसहित कुल ७० जनाको सहभागीता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो हुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।

नेपाल एकीकरण अघि बाइसे÷चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्राउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ ।

वि.सं. १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?