+
+

जानकी मन्दिरमा ६२ वर्षदेखि चलिरहेको ‘अखण्ड सीताराम भजन’

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० कात्तिक ३ गते १३:०७

३ कात्तिक, जनकपुरधाम । ‘सीताराम, सीताराम, जय सीताराम…’ । धनुषाको जकपुरधाममा अवस्थित विश्व प्रसिद्ध जानकी मन्दिर भित्र प्रवेश गरेपछि मूल मन्दिरको उत्तर छेउबाट यो जपको मधुर आवाज सुनिइरहन्छ । उत्तरतर्फ नियाल्दासाधुसन्तले ढोलक र हारमोनियमको तालमा ‘सीताराम’ भजन गाइरहेको देख्न सकिन्छ ।

सीताराम भजन एक क्षण नबिराई निरन्तर ६२ वर्षदेखि भइरहेको स्थानीय साधुसन्तहरु बताउँछन् । त्यसैले यो भजन कीर्तनलाई ‘आजन्म खण्ड, श्री सीताराम महायज्ञ’ नाम दिइएको छ ।

यो कुरा भजन भइरहेको अघिल्लोतिर भित्तामा झुण्याइएको बोर्डमा पनि उल्लेख छ । बोर्डमा सन् १९६१ विक्रम सम्वत २०१८ सालदेखि अखण्ड भजन सुरु भएको पनि उल्लेख छ ।

तत्कालीन जानकी मन्दिरका महन्त रामशरण दासले सीताराम भजन २०१८ वैशाख १ गतेदेखि सुरु गरेका थिए । त्यसै बेलादेखि निरन्तर चौबिसै घण्टा भजनकीर्तिन चलिरहेको मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

सीताराम भजन विभिन्न टोली बनाएर पालैपालो गाइन्छ । भजनमा खासगरी ५० कटेका साधुसन्तको टोली छ । अहिले १२ जना साधुसन्तको छुट्टाछुट्टै ४ वटा टोली रहेको भजनमा सहभागी सन्त सर्लाहीको ईश्वरपुर नगरपालिका बैलबासका ५७ वर्षीय रामएकवाल चौधरी बताउँछन् ।

‘म चार वर्षदेखि यो भजनमा सहभागी छु । हामी १२ जनाको ४ टोली छ । हाम्रो पालो ३ घण्टा दिउँसो र ३ घण्टा राति हो,’ उनी भन्छन्, ‘सीताराम भजनकीर्तनले आत्मालाई शान्ति अनुभूति हुन्छ ।’

तत्कालीन जानकी मन्दिरका महन्त रामशरण दासले सीताराम भजन २०१८ वैशाख १ गतेदेखि सुरु गरेका थिए । त्यसै बेलादेखि निरन्तर चौबिसै घण्टा भजनकीर्तिन चलिरहेको मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

रामनाम जपलाई सबैले आ–आफ्नो तरिकाले व्याख्या विश्लेषण गर्दछन् । कसैले व्यक्तिगत कल्याण चाहे पनि संसारका सबै प्राणीको कल्याण यस अखण्ड सीताराम भजन यज्ञको मूल उद्देश्य रहेको महोत्तरीको भंगहा नगरपालिका ४, रामनगर विर्ताका सन्त देवसुन्दर महतोको भनाइ छ ।

आफ्नो बाँकी जीवन यसमै अर्पण गर्ने बताउँदै महतो भन्छन्, ‘संसारको कल्याणकै लागि यो कीर्तन चलिरहेको छ । सबैको कल्याण होस् भन्ने यो अखण्ड सीताराम भजनको उद्देश्य हो ।’

सीताराम भजनको बेग्लै सांस्कृतिक महत्व र मौलिकता छ । यसले जानकी मन्दिरको गरिमालाई झन् बढाएको छ । अखण्ड सीताराम भजन विश्वमा आफ्नो फरक पहिचान कायम गर्न सफल अनौठो कृति भएको बाल्यकालदेखि निरन्तर जानकी मन्दिरमा पूजाअर्चना गर्न आउने ५७ वर्षीय प्रमोदानन्द झा बताउँछन् ।

‘म दिनहुँ दर्शन पूजाअर्चना गर्न आउने गर्छु । बाल्यकालदेखि अनवरत रुपमा चौबिसै घण्टा सीताराम भजन गाइरहेको देख्छु । मलाई लाग्छ यो विश्वकै अनौठो कृति हो,’ रामायणमा उल्लेख पंक्ति वाचन गर्दै उनी भन्छन्, ‘यो संसाररुपी भवसागर पार गर्न रामरुपी गंगामा स्नान गर्नैपर्छ । त्यसैले सीताराम भजन अखण्ड कीर्तन चल्दै आइरहेको छ, निरन्तर चलिनै रहन्छ ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?