+
+

दलित तथा शूद्रहरूले दशैंलाई कुन रूपमा मान्ने ?

कुनै पनि चाडबाडले शिल्पी, निर्माणकर्ता तथा सबैको निस्वार्थ सेवा गर्ने शूद्रहरूको बखान वा महत्वमा जोड दिएको पाइँदैन । त्यस्तो अवस्थामा दलित तथा शूद्रहरूले दशैंलाई कुन रूपमा मान्ने ? यो प्रश्न म पाठकसमक्ष राख्न चाहन्छु ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० कात्तिक ६ गते १७:३५

दशैंसँग जोडिएका बचपनका धेरै सम्झना पहाडे हिन्दुहरूका लागि धेरै मीठा र केही मात्र तीता होलान् । मेरो पनि त्यस्तै छ । म जन्मिएको ठाउँ पाल्पा जिल्लाको तानसेन भूगोल र क्षेत्रका हिसाबले सानो भए पनि जातीय विविधताले भरिएको थियो ।

काठमाडौंमा रहेका प्रायः सबै थरीका नेवारहरू त्यहाँ थिए भने दलितहरूमध्ये पहाडे दलितहरूमध्ये वादी बाहेक सबै अर्थात् विश्वकर्मा, परियार, मिझार तथा गन्धर्व र केही देउलाहरू समेत रहेका थिए । तर त्यहाँको सामाजिक सम्बन्ध भने पूरै जात र सामन्ती व्यवस्थामा आधारित थियो ।

तानसेनको अहिले बसपार्क भएको स्थान वास्तवमा गन्धर्वहरूको रैथाने बस्ती हो, शहरीकरण भएपछि हाल उनीहरू पूरै विस्थापित छन् । त्यहाँका गन्धर्वहरूको पेशा पुरुषहरू भए सारंगी बजाएर गीत गाउने अनि माग्ने, महिलाहरू सक्नेले खेतीपातीमा मजदुरी गर्ने नसक्ने वा नचाहनेहरूले घर-घरमा गएर माग्ने ।

यस्तोमा पुरुष सारंगी वादकहरूले शहरलाई विभिन्न भागहरूमा बाँडेर दशैंको बेलामा गीत गाउने तथा टीकाको केही दिनमा गाए बापत भाग बटुल्दै हिंड्ने । यस्तै काम गर्ने मध्येका एक थिए, सुकलाल जसलाई हामी सुके गाइने भनेर चिन्थ्यौं ।

कति सुत्यौ नन्दलाल, जागा भई जाउ रे, उठ पति कृष्णलाल… यसरी कृष्णको महिमा गान भएको भजन होस् वा गीत उनले सारंगीको धुनमा बिहानीपख करिब ३/४ बजे घरको पेटीमा बसेर सुनाउँथे, हामी त्यस बखत सधैं निद्रामा हुन्थ्यौं र त्यो गीतको आनन्द लिन्थ्यौं ।

त्यतिवेला उनीहरूले गाउने गीत मालसिरी रागमा आधारित छ भनी भन्थे, तर पछि रेडियो र टेलिभिजनमा सुनिने मालसिरी राग भने धेरै फरक थियो । संभवतः धेरै घरहरू भ्याउनुपर्ने भएको हुँदा कुनै पनि घरको पेटीमा बसेर उनीहरूले पूरा गीत गाउँदैनथे मुस्किलले दुई मिनेट गाउँथे होलान्, त्यसपछि अर्को घर ।

यसरी उनीहरूले गीत गाउने दिन दशैंको १५ दिनको अवधिमा टीका भन्दा अगाडिको दश दिनमध्ये ३/४ दिन गाउँथे अनि एकै पटक दशैंको टीकाको दुई तीन दिन पछि अर्थात् पूणिर्मा भन्दा अगाडि आफूले गीत गाएका घरहरूमा भाग उठाउँदै हिंड्थे ।

यसरी भाग उठाउँदा उनीहरूलाई घरको भर्‍याङ सँगै राखेर रक्सी, मासु, चिउरा खान दिइन्थ्यो भने भागमा मासु-चिउरा सहित घरमा पाकेको पकवान र पैसा राखेर दिइन्थ्यो जसलाई उनीहरूले झोलामा राखेर परिवारका लागि लैजान्थे ।

यसरी भाग माग्दा पुराना लुगाफाटा तथा कोटहरू पनि माग्थे । म काठमाडौंमा पढ्न आएपछिको एउटा दशैंमा त्यही परम्परा दोहोरिएको थियो, म प्रगतिशील विचारधाराबाट उत्प्रेरित भएर जातीय समानताको पक्षमा कुरा गर्ने भएपछि उनलाई त्यसरी भर्‍याङ मुनि राखेर खान दिइएको कुराले उनको धेरै अपमान भएको महसुस गरे ।

नेपालका सबै हिन्दु चाडहरू विभेदसँग प्रत्यक्ष जोडिएका छन् । जनैपूणिर्मा ब्राहृमणहरूको चाड मानिन्छ जसले जनै फेर्ने बहानामा ब्राहृमण अर्थात् द्विजहरूको श्रेष्ठतालाई कायम राख्छ । दशैं जहाँ शक्तिको उपासना गरिन्छ जसको उपयोगकर्ता क्षेत्री हो

उनलाई भनें- यसरी मागेर खाँदा तथा हिंड्दा तपाईंलाई लाज वा अप्ठेरो लाग्दैन ? यो प्रश्न एउटा १६/१७ वर्षको ठिटोबाट अनपेक्षित थियो । उनले जवाफमा तपाईंहरू मेरो आफ्नै घरको परिवार जस्तो भएको हुँदा यसो गरेको हुँ भनेर त भने तर उनको भित्रीमनमा चोट परेको कुरा लुकेको थिएन । अर्को वर्षदेखि उनी आउन छाडे । पछि उनले बसपार्कमै लाइटर, टर्चहरू मर्मत गर्ने काम सुरु गरेको देखें, मेरो बुझाइमा उनमा त्यो फर्किएको स्वाभिमान थियो ।

मेरो बुवाको मुख्य पेशा फलामका सामानहरू बनाउने तथा मर्मत गर्ने थियो, दशैंको बेलामा काटमार गर्ने हातहतियारहरू मर्मत र अर्जाप्ने काम प्रशस्तै हुन्थ्यो र प्रायः भ्याई-नभ्याई पनि । यी सबै काम ज्यालामा नभई जसरी मैले माथि उल्लेख गरेका सुके गाइनेको थियो त्यस्तै मेरो बुवाले पनि आफ्ना बिष्टहरूको घरमा ती सामानहरू पुर्‍याउन जानुहुन्थ्यो र हामीलाई पनि त्यहाँबाट भाग आउँथ्यो ।

हाम्रो परिवार शिक्षित हुँदै गएको हुँदा योसँग जोडिएको अपमान देखेको हुँदा मेरा दाइहरूले बुवालाई त्यस्तो काम गर्नबाट रोके र हामीलाई आउने भाग पनि बन्द भयो । त्यतिवेला वर्षको एकजोर लुगा पाउनु पनि हाम्रा लागि ठूलो कुरा थियो नगद हालेर लुगा किन्नुपर्ने, त्यसलाई सिलाउनु पर्ने र त्यतिवेला परियारहरूलाई बजारभरिका लुगा सिलाउँदा भ्याई-नभ्याई हुने भएको हुँदा एक-डेढ महिना अगाडि सिलाउन दिन पाइएन भने दशैंमा लुगा लगाउन हम्मे पर्थ्यो  ।

पछि थाहा हुन्थ्यो त्यसरी आउने लुगा किन्दा मेरो बुवालाई ऋण लागेको हुन्थ्यो, अर्थात् हाम्रा लागि आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई भन्ने उखान सार्थक हुन्थ्यो । तानसेन बजार भरिमा पीङ अत्यन्त कम हालिन्थ्यो भने हाम्रो टोलमा एउटा ठूलो पीपलको रूख थियो र बाटोमा गएको हाँगो पनि भएको हुँदा प्रायः लुङ भन्ने ठाउँबाट बाबियो खर ल्याएर त्यसको डोरी बाटेर पीङ बनाइन्थ्यो र लगभग पूरै बजारका मान्छेहरूले त्यसबाट मनोरञ्जन लिन्थे ।

त्यो बाबियोबाट पीङ बनाउने प्रक्रिया पनि रोचक र रमाइलो थियो, तीन चार वटा पोयोलाई बटारेर बनाउनुपर्ने भएको हुँदा बीचमा त्यसलाई मिलाउने व्यक्तिको भूमिका ठूलो हुन्थ्यो र मेरो बुवा त्यो मिलाउने काममा सिपालु, हाम्रा दाइ-दिदीहरू त्यो पोयो बटार्दै दाइँ लगाए जस्तो गरी वरिपरि घुम्थे र हेर्दाहेर्दै ४०/५० फिटको पीङको डोरी तयार हुन्थ्यो र पीपलको हाँगामा लगाइन्थ्यो । तर त्यो अब धेरै पुरानो कथा भइसक्यो, अहिले सो पीपलको बोट पनि ढलेको छ र पीङ खेल्ने संस्कार त कता हरायो कता !

मेरो मावली तानसेनबाट लगभग दुई कोस परको सामाकोट गाउँ हो, त्यहाँ लिपिन्देवी भन्ने देवीको मन्दिर छ । मन्दिर खासै भव्य छैन तर त्यसलाई कोट भन्न सकिन्छ । त्यो सामाकोटमा हटिया भन्ने ठाउँमा नेवारहरूको बस्ती थियो जुन अहिले उजाड भएको छ भने यतापट्टि सुनारहरूको बस्ती ।

खासगरी ती सुनारहरूको नेतृत्वमा पूणिर्माको अघिल्लो दिन रातभर जाग्राम बसेर लिपिन्देवीको आराधना गर्ने र भोलिपल्ट सरायनाच खेलिने परम्परा छ । पूणिर्माको दिन त्यहाँ भव्य मेला लाग्छ जहाँ तानसेनबाट सयौंको संख्यामा मान्छेहरू जाने भएको हुँदा हामी पनि त्यहाँ नजाने कुरा भएन ।

तिहारलाई लक्ष्मीको उपासना गरिने वैश्यहरूको चाड मानिन्छ, जहाँ बलि जो शूद्रहरूका राजा थिए उनलाई विष्णुको वामन अर्थात् ब्राहृमण रूपी अवतारले शिरमा टेकेर दमन गरेको कथा भनिन्छ र धनसम्पत्तिको पूजा गरिन्छ । त्यहाँ वैश्यहरूको श्रेष्ठतालाई स्थापित गरिएको छ ।

त्यो सरायनाचको ऐतिहासिक महत्व खासै थाहा थिएन, तर सेनाका सेवानिवृत्त जर्नेल प्रेमसिंह बस्न्यातको नेपाली सेनाको परम्परा सम्बन्धी लेख पढ्दा त्यसको महत्व बुझ्न सक्ने भएँ ।

पृथ्वीनारायण शाहले एकीकरण अभियान सुरु नगर्दासम्म सेनाहरू ब्यारेकमा बस्दैनथे । यसरी नबसेपछि नियमित जागिर वा तलब हुने कुरा भएन र यस्तो अवस्थामा उनीहरूको नियमित अभ्यास हुने कुरा पनि भएन ।

त्यतिवेला हातहतियारहरू घर-घरमा राखिन्थे वा त्यस्तै कोटडाँडामा जहाँ सानो देउराली वा मन्दिर हुन्थ्यो । जब बाहृय शत्रुले आक्रमण गर्थे अनि घरघरमा भएको हतियार वा कोटमा राखिएको हतियार झिकेर शत्रु पक्षसँग जाइलाग्थे । जो बलियो र हतियार चलाउन पोख्त छ उसले राज्य जित्थ्यो भने हार्नेको बिजोग हुने त भइहाल्यो ।

यस्तो परम्परालाई लिपिन्देवी जस्तो मन्दिरमा भएको कोटले धानेको मान्न त्यस्तो गहिरो अध्ययन गर्नुपर्ने थिएन । यो सरायनाच दुई तरिकाले खेलिन्छ, पहिले वाखै भनेर तरबारधारीले भन्छन् भने परियारहरूले डुङ डुङ गर्दै दमाहा बजाउँछन् र तरबारधारीले फेरि हृवा भन्छन् र मन्दिरको वरिपरि कैयौं फन्को लगाउँछन् ।

सो नाचको अन्त्यतिर तरबारधारीमध्येको सबैभन्दा सिपालु व्यक्तिले तरबारका विभिन्न करतब देखाउँछन् र दमाहाको विभिन्न तालमा अनेक युद्ध कौशलहरू देखाउँछन् । युद्ध हुँदा त्यस्तै व्यक्तिले युद्धको नेतृत्व गर्नु स्वाभाविक हुन्थ्यो होला ।

जब ब्यारेक, तलब र नियमित अभ्यासको परम्परा नहुँदा संभवतः यस्तै परम्पराको माध्यमबाट आफ्नो युद्ध-कौशललाई तिखार्ने काम हुन्थ्यो र आफ्नो राज्यको रक्षा । यो सम्पूर्ण सरायनाचको नेतृत्व र परिचालन सामाकोटका सुनारहरूले गरेको देख्दा उनीहरू नेपाल स-साना राज्यहरूमा विभक्त भएको समयमा आफ्नो राज्य सञ्चालक पनि थिए भन्दा फरक पर्दैन । अहिले सुनारहरू धेरै लाखापाखा लागेको हुँदा सो परम्परालाई मगरहरूले अघि बढाएको बुझिएको छ ।

नेपालका सबै हिन्दु चाडहरू विभेदसँग प्रत्यक्ष जोडिएका छन् । जनैपूणिर्मा ब्राहृमणहरूको चाड मानिन्छ जसले जनै फेर्ने बहानामा ब्राहृमण अर्थात् द्विजहरूको श्रेष्ठतालाई कायम राख्छ । दशैं जहाँ शक्तिको उपासना गरिन्छ जसको उपयोगकर्ता क्षेत्री हो ।

यो मार्फत क्षेत्रीको श्रेष्ठता चाहे त्यो रामको रावण माथिको विजयको रूपमा होस् वा ऋषिमुनि तथा देवताहरूको आहृवानमा सृजना गरिएको विभिन्न देवीहरूले दस्यु वा द्रविडरूपी राक्षसहरूको बध गर्दा होस् त्यहाँ क्षेत्रीहरूकै गुणगान गाइन्छ ।

तिहारलाई लक्ष्मीको उपासना गरिने वैश्यहरूको चाड मानिन्छ, जहाँ बलि जो शूद्रहरूका राजा थिए उनलाई विष्णुको वामन अर्थात् ब्राहृमण रूपी अवतारले शिरमा टेकेर दमन गरेको कथा भनिन्छ र धनसम्पत्तिको पूजा गरिन्छ । त्यहाँ वैश्यहरूको श्रेष्ठतालाई स्थापित गरिएको छ ।

शूद्रहरूको चाड फागुलाई मानिन्छ तर त्यहाँ पनि शूद्र अर्थात् दस्युहरूका राजा हिरण्यकश्यपकी बहिनी होलिका दहनको खुशीमा होली पर्व मनाइने किंवदन्ती छ । तर कुनै पनि चाडबाडले शिल्पी, निर्माणकर्ता तथा सबैको निस्वार्थ सेवा गर्ने शूद्रहरूको बखान वा महत्वमा जोड दिएको कथा तथा किंवदन्तीमा पाइँदैन । त्यस्तो अवस्थामा दलित तथा अन्य शूद्रहरूले दशैंलाई कुन रूपमा मान्ने यो प्रश्न म पाठकसमक्ष राख्न चाहन्छु ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?