
१३ असोज, काठमाडौं । निलम्बन फुकुवासँगै काठमाडौं महानगरपालिकाका ४२ जना नगर प्रहरी हवल्दार नियमित काममा फर्किएका छन् । बढुवा भएपनि असईको फुली नलगाइदिएको भन्दै गत २७ भदौमा उनीहरु आफैंले असईको फुली लगाएपछि महानगरपालिकाले कारबाही स्वरुप निलम्बन गरेको थियो ।
निलम्बनमा परेकाहरूले लिखित रुपमा गल्ती स्विकारेर माफी मागेपछि निलम्बन फुकुवा गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
‘२ कात्तिकमा उहाँहरुले लिखित रुपमा माफी मागेर आइन्दा यस्तो नगर्ने भनेपछि फुकुवा गर्ने निर्णय भएको थियो । अहिले उहाँहरु काममा फर्किसकेका छन्,’ पाण्डेले अनलाइनखबरसँग भने । निलम्बनमा परेकाहरू हवल्दारकै पदमा काममा फर्किएको उनकाे भनाइ छ ।
२५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेपनि पद भने वृद्धि नभएको महानगरले जनाएको थियो ।
आफैंले असईको फुली लगाएका नगर प्रहरीले भने आफूहरु बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दर्ज्यानी चिह्न नलगाइदिएका कारण अभिभावक मार्फत लगाएको प्रतिक्रिया दिएका थिए । काठमाडौैं महानगरपालिकामा अहिले ३२९ जना नगर प्रहरी कार्यरत रहेका छन् ।
प्रतिक्रिया 4