१३ कात्तिक, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशको अधिवेशनका क्रममा भएको निर्वाचनप्रति असन्तुष्टि जनाएका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा जुन जुनस्तरको स्वच्छता आवश्यक थियो, त्यसमा अलिकति कमी रहेको जनस्तरको टिप्पणी भएको पाएको उनले सुनाए ।
प्रदेश अधिवेशनका क्रममा ओलीले सबैतिर सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका थिए । सर्वसम्मत नभए हुने चुनावमा प्यानल बनाउन नपाइने पार्टीको अन्तरपार्टी निर्देशन नै थियो । तर पार्टी नेतृत्वले एउटा पक्षको नेतालाई अध्यक्ष बनाउनुस् भनेपछि धेरै ठाउँमा सहमति हुन नसकेको नेताहरु बताउँछन् ।
गण्डकीमा पनि भएको थियो । त्यहाँ नेता कार्यकर्ता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पक्षमा बाँडिएका थिए । अधिवेशनका क्रममा महासचिव शंकर पोखरेल समेत अधिकारीको पक्षमा खुलेपछि चर्को गुटबन्दीको अभ्यास भयो ।
निर्वाचनमा पृथ्वीसुब्बा पक्षको प्यानल नै विजयी भयो । पदाधिकारीदेखि सदस्यसम्म झण्डै एकै खाले मत आयो । नसोचेको हार बेहोरेपछि संस्थापन पक्षाक नेताहरुले पृथ्वीसुब्बा पक्षले कतिसम्म गरेको रहेछ भन्ने पुष्टि गरेको टिप्पणी गरे । पृथ्वीसुब्बा पक्षका नेता कार्यकर्तामा भने खुसीको भाव थियो, ‘फरक विचार राख्नेलाई निषेधै गर्ने, अवसर दिनै नखोज्ने र पाखा पर्ने गुटलाई हारको स्वाद चखाइयो ।’
विजयी पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरेर अधिवेशन समापन गर्दै १९ असोजमा गण्डकी प्रदेश इन्चार्ज तथा सचिव गोकर्ण विष्टले अध्यक्ष ओलीकै उपस्थितिमा सपथ ग्रहण गर्ने घोषणा गरे, मिति भने तोकेका थिएनन् ।
सोमबार अध्यक्ष ओलीकै उपस्थितिमा सपथ तथा कार्यकर्ता भेला राखेपछि ११ वटै जिल्लाबाट नेता कार्यकर्ता पोखरा आइपुगेका थिए । चुनावको मत परिणामयता हार–जीत हुने दुबै पक्षका नेता कार्यकर्ताको एउटै चासो थियो, ‘गण्डकी अधिवेशनको सन्देशलाई अध्यक्ष केपी शर्मा ओलीले कसरी ग्रहण गर्लान् ?’
ओलीले निर्वाचन स्वच्छ हुन नसकेको टिप्पणी गरे । अन्य केही ठाउँमा सर्वसम्मत हुँदा पनि गण्डकीमा प्यानलै बनाएर प्रतिस्पर्धामा गएको र त्यसमा स्वच्छतामा कमी देखिएको जनस्तरबाट टिप्पणी भएको ओलीले बताए ।
केही प्रदेशमा सर्वसम्मत भएको भन्दै उनले भने, त्यहाँ डेमोक्रेसी भएन होइन, उच्चस्तरीय डेमोक्रेसी भयो । समझदारीयुक्त डेमोक्रेसी भयो, जसले गर्दा यता भोट हालेको र यता भोट हालेको भन्ने रहेन । यो पक्ष, त्यो पक्ष भन्ने रहेन । धेरै राम्रो गर्नुभयो उहाँहरुले । तपाईंहरुले त्यो गर्न सक्नुभएन, चुनाव गर्नुभयो ।’
‘तपाईंहरु प्रतिस्पर्धामा जुनस्तरको स्वच्छता आवश्यक थियो, त्यसमा अलिकति कमी रहेको जनस्तरको टिप्पणी भएको तपाईंहरुलाई जानकारी गराइदिन्छु,’ ओलीले भने, ‘अलिकति त्यस्तो टिप्पणी छ । त्यसमा तपाईंहरु सचेत हुनुपर्छ, घाटा आफूलाई हुन्छ किनभने आफैंले कर्तव्य पालना गर्न सकिँदैन ।’
पार्टीको अधिवेशन कुनै पद र विचारको लडाईं नभए उद्धेश्य र गन्तव्यका लागि लडाईं हुनुपर्ने उनको भनाइ थियो । विरोधीसँग लड्नुपर्नेमा पार्टीभित्र लडेर फाइदा नपुग्ने ओलीको आशय थियो । उनले निषेधको राजनीतिले आफैंलाई सिध्याउने र घमण्ड र अहंकार छाडेर विरोधीलाई परास्त गर्नेगरी तयार रहन निर्देशन दिए ।
पार्टीको विचार तथा कामलाई जनतासम्म लैजान र आगामी निर्वाचनमा दुई तिहाइ ल्याउन मिसन २०८४ लाई सफल बनाउन निर्देशन दिए । दुर्गा प्रसाईंले आफूमाथि भ्रम फैलाएको भन्दै आपत्ति जनाए । कम्बोडियाको टेलिकममा ३ हजार रोड लगानी गरेको भनेर आरोप लगाइएको भन्दै उनले अघि भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’
सोमबारको कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारी, सचिव गोकर्ण विष्ट, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, उपाध्यक्ष रामबहादुर थापा र अध्यक्ष ओली मुख्य वक्ता थिए । बाहिर एकता र मिसन २०८४ को नारा घन्किए पनि नेताहरुबीच चुनावमा चिसिएको सम्बन्ध अझै न्यानो नदेखिएको नेताहरु बताउँछन् ।
कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बाले पार्टीभित्र व्यक्तिवादी संकृढता हाबी भएको र संगाठात्मक आराजकता तथा दक्षिणपन्थी आवसरवादालाई परास्त गर्नुपर्ने बताइरहँदा सदस्यमै पराजय बेहोरेका प्रदेश सांसद वेदबहादुर गुरुङले उनलाई ब्यंग्य गर्दै स्टाटस नै लेखे । निर्वाचनमा अन्तर्घात गरेका प्रमाणसहित कारबाहीको सिफारिस भएकालाई उल्टै पक्षपोषण गरिरहेको अवस्थामा कसरी संगाठात्मक आराजकता र दक्षिणपन्थी आवसरवादालाई कसरी परास्त गर्न सकिन्छ ? भन्दै गुरुङले उपदेश र व्यवहार नमिलेको फेसबुकमै लेखे ।
गत चुनावमा अन्तर्घात गरेका, बागी उम्मेदावरी हालेका र हराउन भूमिका खेलेका व्यक्तिलाई कारबाही गर्नुको साटो संरक्षण र झन् ठूलो जिम्मेवारी दिएको उनको आशय थियो । कास्कीमा गत चुनावमा अन्तर्घात गर्नेलाई संरक्षण गरेको एक समूहले अर्कोलाई आरोप लगाउने गरेका छन् । त्यस्ता केही आरोपितले त अहिले गुट नै फेरेर फाइदा लिइरहेको नेता–कार्यकर्ताको आरोप छ ।
कास्कीमा २०७४ सालयताबाटै उपमहासचिव पृथ्वीसुब्बा र स्थायी कमिटी सदस्य खगराजबीच प्रतिष्ठाको लडाईँ चले पनि प्रथम अधिवेशनपछि प्रदेशैभरि नेता–कार्यकर्ताबीच झनै बढी कित्ताकाट भएको छ । यो सम्बन्ध तत्काल नसेलाउने देखिएपनि अब केन्द्रीय राजनीतिमा पृथ्वीसुब्बाको भूमिकाले फरक पार्ने र आगामी निर्वाचनसम्मको अवधिले तय गर्ने एक नेताले बताए ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4