+
+

तिहारमा ४० लाख थान माला खपत हुने अनुमान, ८० प्रतिशत नेपालकै फूलले धान्ने

यस वर्षको तिहारका लागि ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । नेपाल फ्लोरीकल्चर एसोसिएसनकाअनुसार नेपालमा फूल खेतीमा देखिएको आर्कषणका बजार मागको ८० प्रतिशत फूलको माला भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० कात्तिक १४ गते १९:१०

१४ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा  ४० लाख थान मालाको खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा फूल खेतीमा देखिएको आर्कषणका कारण मागको ८० प्रतिशत हिस्सा भने नेपाली फूलको उत्पादनले नै धान्ने देखिएको छ ।

तिहार सुरु हुन दुई साता मात्रै बाँकी रहँदा फूल टिप्न र माला बुन्नका लागि किसानहरुले तयारी थालिसकेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्षको तिहारका लागि सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा लगभग नेपाल आत्मनिर्भर भएको बताए ।

उनकाअनुसार यस वर्ष नेपालमा ३५ लाख सयपत्री माला, ४ लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार हाराहारी मिक्स माला खपत हुने देखिएको छ । त्यसमध्ये मिक्स मालाका लागि आवश्यक पर्ने गुलाव लगायतका फूलहरु भने आयात गर्नुपर्ने देखिएको संघले जनाएको छ ।

सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेका कारण फूल र मालाको मूल्य बढ्ने देखिएको व्यवसायीहरुको दाबी छ ।

यसवर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ ।

यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने एसोसिएसनका अध्यक्ष तामाङ बताउँछन् ।

यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने एसोसिएसनले अनुमान छ ।

‘किसानबाट फूल किनेर बिक्री गर्ने व्यवसायीहरुको ५० लाख माथिको कारोबारमा भ्याट लाग्ने भएकाले गत वर्षको तुलनामा माला केही महँगो भएको छ,’ अध्यक्ष तामाङले भने ।

अहिले मूल्य अनुमान गरिएको माला एक मिटर आकारको भएको पनि एसोसिएसनले जनाएको छ । यद्यपि काँठ क्षेत्रका किसानले ३ देखि ४ मिटरसम्मको माला पनि बिक्री गर्ने भएकाले मालाको मूल्य थप महँगो हुन सक्ने देखिएको छ । मालाको गुणस्तर र छानोटमा भने उपभोक्ता स्वयम चनाखो हुनुपर्ने एसोसिएसनको भनाइ छ ।

एसोसिएसनका अनुसार नेपालमा हरेक वर्ष पुष्पखेती फैलिंदै गएको छ । खेती र उत्पादन बढेसँगै पुष्प कारोबार पनि वृद्धि भइरहेको छ ।

नेपालमा अहिले करिब ४४ हजार मानिसहरु पुष्प खेती र व्यवसायमा छन् । नेपालका ४८ जिल्लाका २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ भने यसमा ११ सय १६ जना पुष्प व्यवसायीहरु संलग्न छन् ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३० प्रतिशतले व्यवसाय वृद्धि भएर फूलको कारोबार २ अर्ब ३० करोड पुगेको थियो ।

तर, आर्थिक वर्ष २०७९/८० मा कारोवारमा ३३.६ प्रतिशतले उछाल आएको एसोसिएसनका अध्यक्ष तामाङ बताउँछन् ।

गत वर्ष नेपालमा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको पुष्प व्यासायको कारोबार भएको उनको भनाइ छ । सो वर्ष नेपालले ६८ करोड १८ लाख रुपैयाँ बराबरको फूल निर्यात गरेको सरकारी तथ्यांक छ ।

यस्तै नेपालले ३३ करोडको फूल आयात गरेको भन्सार विभागले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?