
१४ कार्तिक, काठमाडौं । व्यक्तिहत्याको मुद्दामा सजाय भोगिरहेका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले उक्त मुद्दालाई बुधबार पनि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको हो ।
सोमबारको बहसमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले कानून बमोजिम नै रिगलको कैद मिनाहा भएकाले त्यसलाई गैरकानूनी भन्न नहुने जिकिर गरेका थिए ।
आफ्ना पति चिरन मानन्धरको हत्यामा दोषी ठहर भएका व्यक्तिलाई गैरकानूनी रुपमा कैद छुट दिएको भनी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।
दशैंअघि परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दालाई प्राथमिकतामा राखेको छ । गम्भीर कानूनी प्रश्न देखिएको भनी संयुक्त इजलासले त्यो मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाएको हो ।
प्रतिक्रिया 4