+
+

ली खछ्याङ, एउटै नाम काफी छ

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० कात्तिक १५ गते १९:३२

२०२३ अक्टोबर २६ तारीखको बिहान एउटा समाचार पढेर मन अमिलो भयो । त्यो खबर थियो, चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन ।

साइनो–सम्बन्ध केलाउने हो भने, उनीसँग मेरो कुनै नाता छैन । हुने कुरा पनि भएन । न चिनजान नै हुने भयो । तैपनि उनको निधनले मलाई शान्त रहन दिएन ।

दुनियामा कति मान्छे यस्ता हुन्छन्, जसको अनुपस्थिती वा रिक्तताले कताकता मनलाई शोकाकुल बनाइदिन्छ । मलाई त्यस्तै रित्तो महसुष भयो, जब ली खछ्याङले यो धर्ती छाडेको खबर फैलियो ।

मलाई लाग्छ, उनी चीनका मात्र नेता थिएनन् । विश्वकै एक आदर्श नेता थिए । चीनको समृद्धिमा उनको देन सानो छैन । राष्ट्रपछि सी जिनफिङसँग काँधमा काँध थापेर, हातमा हात मिलाएर उनले चीनलाई समृद्ध तुल्याए । चीनलाई विश्वकै शक्तिराष्ट्रमध्ये एक बनाउन उनको योगदान अतुलनिय रह्यो ।

ली खछ्याङसँग मेरो दाँजो मिल्दैन । कहाँ उनी, कहाँ म । प्रशिद्धिले, कर्मले, श्रेणीले उनीसँग मेरो तुलना गर्नै नसकिने होला । यद्यपि मलाई पनि समृद्धिको चाह छ । आफ्नो जन्मभूमिको माटो उर्बर र उन्नत देख्ने चाह छ । र, यसका लागि मेरो आदर्श हुन्, ली खछ्याङ ।

चिरञ्जीवी मास्के

एउटा राज्य कसरी समृद्ध हुन्छ ? कसरी त्यहाँका जनता सुखी हुन्छन् ? यसको एउटै जवाफ हो, सुशासन । सुशासनका लागि जरुरी हुन्छ सही नेतृत्व । सही नेतृत्वका लागि जरुरी हुन्छ, सक्षम नेता । उनीहरु आफ्नो समर्पण, त्याग, दूरदृष्टि, दृढता, सादगी, सक्रियता, क्षमता आदिले राजनेता बन्छन् । हो, एउटा राज्यलाई समृद्ध बनाउन राजनेता चाहिन्छ ।

आज विश्वको इतिहास पल्टाउने हो भने, बेलाबखत यस्ता राजनेताको उदय भएको छ जसले आफ्नो मुलुकमा समृद्धिको झन्डा गाढेका छन् । शान्ति, सुव्यवस्था, विकास निर्माणले मुलुकलाई सुकिलो बनाएका छन् ।

चीन यस अर्थमा भाग्यमानी मुलुक हो । किनभने यहीँ जन्मिए सन यात्सेन, माओत्सेतुङ, देङ सियाओ पेङ, सि जिनफिङ, जियाङ जेमिन, ली खछ्याङ आदि ।

अब कुरा गरौं, ली खछ्याङकै ।

उनको जन्म सन् १९५५ मा भएको थियो । उनले समृद्ध चीनको सहयात्रामा १० बर्ष सक्रिय साथ दिएका थिए । सन् २०१३ मा जनवादी गणतन्त्र चीनको प्रधानमन्त्री बनेका ली खछ्याङले मार्च २०२३ सम्म चीनको बाह्रौ र तेह्रौ प्रधानमन्त्रीको रुपमा काम गरे ।

उनले चीनका लागि मात्र होइन, नेपालको समृद्धिमा पनि दीर्घकालिन महत्व राख्ने केही योजना स्वीकृत गराएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री भएको बखत चीन र नेपालबीचको पारवहन सन्धी, रेलमार्ग विस्तार जस्ता परियोजनामा सम्झौता भएको थियो । यसका लागि तत्कालिन प्रधानमन्त्री ली खछ्याङको भूमिका महत्वपूर्ण थियो ।

फेरी पनि ली खछ्याङकै चर्चा गरौं ।

स्व. ली खछ्याङ चिनिया कम्युनिष्ट पार्टीको १७, १८ र १९ औं केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिको सदस्य तथा राज्य परिषदका पूर्व प्रधानमन्त्री थिए । १० बर्ष चीनको राज्य परिषदको प्रधानमन्त्री हुँदा उनले समृद्धिको लागि जुन प्रकारको आर्थिक नीति अघि सारे त्यसैको परिणाम हो अहिलेको चीन । राष्ट्रपति सि जिन फिङको सोच, दृष्टिकोण र जनताप्रतिको सर्मपणमा ली खछ्याङको आर्थिक नीति एउटा दर्बिलो खम्बा थियो ।

उनले ल्याएको आर्थिक नीतिलाई चीनमा लिकोनोमिक्स नै भनिन्थ्यो । उनी बजारको अध्ययन गर्थे र सोहि अनुसारको नीति ल्याउने गर्थे । लगानीकर्तालाई केन्द्रमा राखेर आर्थिक नीति बनाउने ली खछ्याङले प्रविधिलाई उच्च प्राथामिकता दिएका थिए ।

कोरोना भाईरस कोभिड– १९ को सुरुवात चीनको उहानबाट भएको थियो । कोरोना महामारीले चीनलाई एकदमै थकायो । दुई बर्ष कोरोना महामारीको सामना गर्नुपर्दा चीन आर्थिक रुपमा निकै थाकिसकेको थियो । यस्तो विषम परिस्थितिमा उनै सरल तर महान नेता ली खछ्याङको परिपक्क आर्थिक नीतिकै कारण चीनले समृद्धिको उँचाईबाट तल ओलर्नुपर्र्ने अवस्था आएन ।

कोरोना महामारी पछि म चीनको उहाँन पुगेको थिएँ, जहाँबाट यो महामारीको सुरुवात भएको थियो । तर उहानको समृद्धि हेर्दा यस्तो लाग्थ्यो त्यहाँ कहिल्यै कुनै समस्या नै भएको थिएन । ली खछ्याङको प्रविधिमैत्री आर्थिक नीतिले उहानलाई यति छिटो रिकभर गरेको थियो कि कोरोना महामारीको भयङ्कर पीडा भोगेको त्यो सहरमा कहि कतै पनि कोभिड– १९ को बाछिट्टा बाँकी नै थिएन ।

चलायमान बजार, सवारी साधनको चाँप, पार्क र रेष्टुरेन्टहरु आन्तरिक पर्यटकबाटै भरिभराउ, हँसिला र उर्जावान नौ जवानहरुको चहल–पहल, स्वच्छ, सफा र हरियाली वातावरण, उहान साच्चै समृद्धिको टावर बनेर चम्किरहेको थियो । जसरी रात्रीकालिन समय उहानको चु नदी गोलघरको बत्तीले चम्किरहेको हुन्थ्यो ।

अहिले हामी चीनको जुनसुकै प्रान्त वा शहरमा पुगौं, हरेक ठाँउ विश्वमै विकासको अनुपम उदाहरण बनेका छन् । धेरैलाई चीन कम्युनिष्ट शासन भएको मुलुक आर्थिक नीति, मानव अधिकार, राजनीतिक अधिकार सबै कुण्ठित छन् होला भन्ने लाग्ने गरेको छ । तर वास्तविकतामा त्यो भन्दा भिन्न छ चीन । चीनमा हरेक नागरिक स्वतन्त्र छन् आफ्नो अधिकारको विषयमा । उनीहरु अनुशासित छन्, आफ्नो काम, आफ्नो जिम्मेवारी पहिलो कतव्र्य ठान्छन् र आफ्नो जिम्मेवारी पुरा गरेपछि घुमफिर, रमाईलो र खानपिनमा समय खर्चन्छन् ।

मुलुकको समृद्धिको लागि अनुशासन, मेहेनत, जिम्मेवारी र सम्मान तथा सद्भावको संस्कृति आवश्यक हुन्छ भन्ने कुरा चीनको चमत्कारी विकासले पनि देखाएको छ । चीनका हरेक नागरिक सम्मान र सद्भावको संस्कृतिबाट प्रशिक्षित छन् ।

चीनमा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, प्रविधिको चमत्कारी विकासको नमूना प्रशस्तै छन् र ती ठाँउहरुमा सयौं, लाखौं आन्तरिक पर्यटक पुगेका छन् । उनीहरुलाई आर्थिक, सामाजिक, राजनीतिक विकासको लागि परनिर्भर बन्नु पर्ने आवश्यकता नै छैन । र, यो नमूना योग्य विकासको मोडल तयार गरी कार्यान्वयन गर्ने कुरामा राष्ट्रपति सि जिन फिङलाई पूर्व प्रधानमन्त्री स्व. ली खछ्याङले साथ दिएका हुन् । वास्तवमा ली खछ्याङ समृद्ध चीनको रोल मोडल नै थिए ।

पूर्व प्रधानमन्त्री स्व. ली खछ्याङले सात बर्ष (सन् १९९८ देखि २००४ सम्म) हेनान प्रान्तमा काम गरेका थिए । हेनानको विकास र त्यहाँको जनताको जिविकोर्पाजनमा ली खछ्याङले खेलेको भूमिका स्मरणीय थियो । जतिबेला ली खछ्याङको मृत्युको खबर फैलियो हेनानका जनता भर्खर क्षितिज पारीबाट उक्लदै गरेको सूर्योदयलाई नियालेर आफ्नो दैनिकीमा लम्किरहेका थिए । उनीहरुको पाईला अनायासै भारी भयो अनि हठात रोकिए । र, उनीहरुले धेरै दिनसम्म पीडाबोधका साथ कामबाट विश्राम लिए ।

हेनानमा सात बर्ष काम गर्दा ली खछ्याङले त्यहाँको प्रान्तीय पार्टी कमिटीको गर्भनर र सचिवको जिम्मेवारी पुरा गरेका थिए । उनलाई हेनानवासीले कमरेड केकियाङ भनेर चिन्दथे । उनको खुला आर्थिक नीतिका कारण हेनानले छोटो समयमा विकासका चमत्कारी उदाहरण प्रस्तुत गर्न सक्यो । र त्यहि अनुभवले ली खछ्याङलाई १० बर्षे प्रधानमन्त्री कालमा परिपक्व नजिर बनेर साथ दिइरह्यो ।

हेनान एकेडमी अफ सोसल साईन्सका पूर्व अध्यक्ष यु सिनानले मार्च २०२३ मा एउटा लेख लेखेका छन्- ‘कमरेड केकियाङ केन्द्रिय मैदानको उदयका संस्थापकहरुमध्य एक हुन्’ भन्ने शीर्षकमा । यु सिनानको उक्त लेखमा केकियाङ अर्थात ली खछ्याङको विवेक, विशेषता र बुद्धिमताको मुक्तकण्ठले प्रशंसा गरिएको छ । किनभने स्व. ली खछ्याङले काम नै त्यस्तो गरेका थिए कि कोही पनि उनको प्रशंसा नगरी रहनै सक्दैनथे ।

म गम खाँदै छु, यु सिनानले जसरी मैले पनि मेरो देशको नेताको बारेमा प्रशंसाका शब्दहरु खर्चदै समृद्धिका उदाहरण कैले लेख्न सक्छु होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?