+
+
नेपाल भर्सेस युएई प्रिभ्यु :

नेपाललाई युएईविरुद्ध बदला लिँदै विश्वकपमा पुग्ने मौका

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक १७ गते ७:३१

१७ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । यो खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ ।

घरेलु मैदानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो ।

समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजा सहित समूह उपविजेता बन्यो । उता युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बन्यो ।

नेपालसामु ओमानलाई हराउँदै सेमिफाइनलमा युएईलाई छल्ने र बहराइनसँग खेल्ने अवसर थियो । तर ओमानसँग अन्तिममा चुक्दा युएईसँग खेल्ने समीकरण बन्यो ।

अझ नेपालले सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल्नुपर्ने भयो । ओमान र बहराइन बीचको सेमिफाइनल भने टीयू मैदानमा हुनेछ ।

नेपाल र युएईबीच पछिल्ला दुई वर्षभित्र धेरै महत्वपूर्ण प्रतियोगितामा निर्णायक खेलमा भिडेका छन् ।

२१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी-२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो ।

यस्तै एक साता अघि मात्रै नेपाल र युएईबीचको त्रिकोणात्मक शृंखलामा फाइनल भयो जहाँ युएई विजयी भयो ।

अब एउटा अर्को महत्वपूर्ण खेलको नजिक आइपुगेको छ । यहाँबाट एक टिमले मात्र अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको टिकट काट्नेछ । त्यसैले दुवै टोलीलाई यो खेलको उत्तिकै महत्व छ ।

विजयी हुने टिम टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै टी-२० विश्वकपमा पनि छनोट हुनेछ । पराजित हुने टिमले विश्वकप पुग्दा केही वर्ष पर्खनुपर्नेछ ।

डेढ वर्षअघि ओमानमा भएको टी-२० विश्वकप ग्लोबल क्वालिफायरको निर्णायक सेमिफाइनलमा पनि नेपाल युएईसँग नै पराजित हुँदा विश्वकप पुग्नबाट बन्चित भयो ।

मुलपानी मैदानमा जम्मा ३५०० दर्शक

मुलपानी मैदानमा दर्शक कम हुनेछन् । माथिल्लो मुलपानी मैदानमा यस छनोट प्रतियोगिताको समूह बी का खेलहरु भएका थिए । तर सेमिफाइनल भने नेपालले मुलपानी मैदानमा खेल्नुपर्दा दर्शकको उपस्थिति भने थोरै हुने भएको छ ।

नेपालले यस्तो महत्वपूर्ण खेल खेल्दा टी-२० मैदानमा यसअघि झण्डै २० हजार दर्शकले खेल हेर्थे । तर मुलपानी मैदानमा दर्शक बस्ने स्थायी व्यवस्था नहुँदा क्यानले सेमिफाइनलमा जम्मा ३ हजार पाँच सय टिकट मात्र बेच्ने जनाएको छ र अन्य दर्शकलाई घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ ।

यसअघि त्रिकोणात्मक शृखंलामा नेपालले मुलपानीमा खेलेका चारै खेल जितेको थियो । जसमा युएई र हङकङ विरुद्धको दुई-दुई खेल नेपालले जितेको थियो । तर टीयू मैदानमा भएको फाइनलमा भने नेपाल युएईसँग पराजित भएको थियो ।

विश्वकप छनोटका तीन खेल टीयू मैदानमै खेलेको नेपालले सेमिफाइनल पनि टीयूमै खेल्ने अपेक्षा थियो । तर ओमानसँग हारेपछि मुलपानीमा खेल्नुपर्ने भएको हो ।

मुलपानी मैदानमा यसअघि सिरिजमा खेलेको अनुभवलाई प्रयोग गर्नुपर्ने त्रिकेट एक्सपर्ट शरद भेषावकर र नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले बताए । उनले भने, ‘टीयू भन्दा मुलपानीको मैदान र पिच फरक छ । त्यहाँको कन्डिसनमा एडजस्ट हुनुपर्छ । यसअघि त्रिकोणात्मक शृंखलामा खेलेको अनुभवलाई नेपालले प्रयोग गर्नुपर्छ ।’

मुलपानीमा खेल्दा नेपालका ओपनरहरु संघर्ष गरेका थिए । टीयूमा आक्रामक सुरुवात गरेका कुशल भुर्तेलले मुलपानीमा चार खेलमा जम्मा २५ रन बनाएका थिए । आसिफले भने मुलपानीमा सुरुवात पाए पनि ठूलो स्कोर बनाउन संघर्ष गरेका थिए । यद्यपि उनले त्रिकोणात्मक शृखलाको युएई विरुद्धकै खेलमा अर्धशतक प्रहार गरेका थिए ।

नेपाल सामु डेढ वर्षपछि बदला लिने मौका

यसपटक टिम उही, खेल उही तर स्थान फरक छ । समर्थकको साथ छ र टिममा पनि धेरै परिवर्तन भइसकेको छ ।

पछिल्लो पटक नेपाली टिममै नरहेका रोहित अहले नेपालको कप्तान छन् । रोहितको कप्तानी र मोन्टी दासईको प्रशिक्षणमा नेपालले पछिल्लो समय गज्जबकै प्रदर्शन गर्दै आएको छ । यस्तै त्यसबेला शरद भेषावकरको स्थानमा खेलेका कुशल मल्ल अहिले मुख्य ब्याटर बनिसकेका छन् ।

चोटका कारण विश्वकप छनोट गुमाएका दुई अनुभवी बलर सोमबार करण नयाँ बल फाल्छन् । त्यो बेला मुख्य पेसर रहेका अविनाश बोहरा अहिले टी-२० टिममा फर्केर डेथ ओभर स्पेशलिस्ट बनेका छन् । त्यसबेला कप्तान रहेका सन्दीप लामिछाने मुख्य स्पिनरकै रुपमा छन् ।

मिडल अर्डरमा गुल्सन अलराउण्डरको रुपमा आएका छन् । सन्दिप जोरा ब्याटरको भूमिकामा छन् ।

ओपनिङमा कुशल भुर्तेल र आसिफ निरन्तर छन् । तर नेपाली टिमको स्टार अलराउण्डर अर्थात थ्रीडी क्रिकेटर दीपेन्द्र सिंह ऐरी यही बेला चोटका कारण खेल्न पाएका छैनन् । घरेलु समर्थकले उनलाई मैदानमा अभाव महसुस गरिरहेका छन् । ओमानसँगको खेलमा पनि उनको अभाव खड्किएको देखियो ।

दीपेन्द्र नहुँदा उनको स्थानमा विवेक यादवले तीन खेल खेले । दुई खेल खासै अवसर नपाएका विवेकले ओमान विरुद्ध झण्डै नेपाललाई जिताइसकेका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ३९ रन बनाए । अन्तिम ओभरमा २६ रन चाहिँदा अनुभी बलर बिलाललाई सुरुको तीन बलमा लगातार छक्का हान्दै जित नजिक नै पुर्‍याएका थिए । तर अनुभवको कमीले गर्दा उनी त्यसपछि आउट भएर गेम फिनिस गर्न सकेनन् । त्यसैले फाइनलमा नेपालले ओमानसँग गरेको गल्तीलाई कम गर्दै ब्याटिङमा सुधार गर्नुपर्ने अवस्था छ ।

उता युएईका कप्तान मुहम्मद वासिम लयमा छन् । यस्तै अलराउण्डद्वय बसिल हमिद र अली नासेर पनि यो प्रतियोगितामा लयमा छन् । वृत्य अरभिन्द, अलिसान सराफुले पनि राम्रो ब्याटिङ गरिरहेका छन् ।

‘वासिमको विकेट महत्वपूर्ण हुन्छ । किनकी उनी लयमा छन् । यस्तै नेपाली ब्याटरले उनीहरुको पेस बलरसँग कसरी खेल्छन त्यो महत्वपूर्ण हुनेछ,’ शरदले भने ।

यस्तै बलरमा जहुर खान र जुनैद सिद्दिकी पेस बलरको रुपमा छन् भने युवा स्पीनर बयान खानले पनि नेपाल विरुद्ध राम्रो खेल्दै आएका छन् । त्रिकोणात्मक सिरिज फाइनलमा आयान खानले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पराजित गर्न भूमिका खेलेका थिए ।

नेपालले बलिङमा राम्रो गरिरहेको छ र सेमिफाइनलमा बलिङमा सोमपाल लयमा फर्कनु नेपालका लागि राम्रो संकेत छ । यस्तै ब्याटिङमा कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख र रोहितको इनिङ्स महत्वपूर्ण हुनेछ ।

कप्तान र प्रशिक्षकले सेमिफाइनल खेलमा राम्रो खेलेर नेपाललाई विश्वकप पुराउने बताएका छन् ।

एक्सपर्ट शरदले ओमान विरुद्ध नेपालको ‘ब्याड गेम’ भएकाले युएई विरुद्ध राम्रो खेल्नुपर्ने र खेल्ने अपेक्षा राखेका छन् । ‘युएईको ‘ब्याड गेम’ आछैन त्यो सेमिफाइनलमा हुन सक्छ । नेपालले ओमानसँग गरेको गल्ती युएईसँग खेल्दा गर्नु हुँदैन । युएईसँग बदला लिएर विश्वकपमा छनोट हुने मौका छ,’ उनले भने ।

शरदकै भाषामा भन्दा नेपाल र युएईबीचको खेल ‘इन्ट्रेस्टिङ’ हुनेछ । किनभने दुवै टिम जितकै लागि छन् । विश्वकप पुग्न चाहन्छन् । तर एसियाका दुई उत्कृष्ट एसोसिएट टिममध्ये एक टिम मात्र विश्वकपमा पुग्नेछ भने अर्को टिमले टेलिभिजनमै टी-२० विश्वकप हेर्नुपर्नेछ ।

अर्को, नेपालाई डेढ वर्षअघिको पीडा भिलाउने अवसर पनि यो हुनेछ । त्यो पनि घरेलु मैदानमा समर्थकको अघि युएईलाई हराउँदै १० वर्षपछि विश्वकपको टिकट काट्न सके नेपाली क्रिकेटको लागि त्यो अर्को विशेष क्षण रउपलब्धि हुनेछ ।

युएईसँग हेड टु हेड

टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ८ खेल भएका छन् । जसमा दुवै टिमले ४-४ खेल जितेका छन् ।

नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी–२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २–१ ले जितेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

त्यसपछि २०२२ मा भएको चार देशीय टी–२० सिरिज र टी–२० विश्वकप छनोटमा नेपाल युएईसँग पराजित भएको थियो ।

यस्तै टी-२० विश्वकप छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपाल र युएईबीच फाइनल सहित तीन खेल भएका थिए । जसमा लिग चरणका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो र फाइनलमा भने युएई विजयी भएको थियो ।

मुलपानी मैदानमा भएको लिग चरणको खेलमा नेपाल ७ विकेट र ५ विकेटले विजयी भएको थियो तर टीयू मैदानमा भएको फाइनलमा भने युएईले नेपाललाई ४ विकेटले हराएर शृखंलाको उपाधि जितेको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?