+
+

कोशी सरकारबाट १९ दिनमै बाहिरियो एमाले, समर्थन फिर्ता लिनेबारे अन्योल

हरि अधिकारी हरि अधिकारी
२०८० कात्तिक १८ गते २०:३०

१८ कात्तिक, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागि भएको १९ दिनपछि बाहिरिएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिन कानुनी जटिलता देखाउँदै तत्काल फिर्ता नलिने भएको हो ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारबाट बाहिरिएपछि अब प्रतिपक्षमा बस्ने बताए । सरकारलाई दिएको समर्थनका बारेमा पछि निर्णय गर्ने उनले बताए ।

‘सरकारबाट बाहिरिएपछि हामी प्रतिपक्षमा बस्छौं’, उनले भने, ‘समयक्रमले सरकारका गतिविधिले, काम कारवाहीले समर्थनको विषय निर्धारण गर्छ ।’

मध्यावधि निर्वाचन रोक्नका लागि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै उनले सत्तारूढ गठबन्धन सहभागी भएपछि सरकारबाट एमाले बाहिरिएको बताए ।

‘समर्थन फिर्ता लिने विषयमा पार्टीको केही निर्णय भएको छैन’,  समर्थन फिर्ता लिने कि नलिने भन्ने प्रश्नमा उनले भने ‘यो निर्णय  (गठबन्धन सहभागी भए सरकार छाड्ने) चाहिँ पूर्व निर्धारित थियो ।…अरू त समयक्रमले निर्धारण गर्छ अहिल्यै नै यही भन्ने हुँदैन, अहिले हामीले राजीनामा मात्रै दिएर मन्त्री फिर्ता भएको  हो ।’

शनिबार नेकपा एमालेका नेताहरूले समर्थन फिर्ता लिए के हुन्छ भन्ने विषयमा छलफल गरेका थिए । तत्काल केही जटिलता भएका कारण फिर्ता लिने विषयमा कानुनी परामर्श गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी सांसदले व्यक्तिगत रूपमा समर्थन गरेका कारण फिर्ता पनि सोही अनुसार हुने बताउँछन् । कानुनी जटिलता देखिएका कारण  थप परामर्शपछि समर्थन गरिरहने कि नगर्ने भन्रे निष्कर्षमा पुग्ने उनले बताए ।

एमाले बाहिरिए के हुन्छ

प्रदेश प्रमुखले संविधानको धारा १६८ को  उपधारा ५ अनुसार सरकार गठनको  आह्वान गरेपछि  कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

२८ असोजमा सपथग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र काङ्ग्रेसबाट समशेर राईलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । १ कात्तिकमा उनलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा उनले ८६ जनाको समर्थन पाएका थिए । एमालेका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए मुख्यमन्त्री कार्कीले फेरि विश्वासको मत परीक्षण गर्नुपर्ने हुन्छ । उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धनमा ४७ जना सांसद छन् । जुन टुप्लुक्क  बहुमत मात्रै हो ।

एमालेका सांसदले समर्थन फिर्ता लिए राप्रपालाई सहभागी गराउने मुख्यमन्त्री  कार्कीसँग विकल्प  छ । राप्रपा  सरकारमा सहभागी भएको अवस्थामा उनको पक्षमा ५३ जना सांसद हुनेछन् ।

सरकारबाट बाहिरिएको एमालेले  समर्थन फिर्ता नलिए विश्वाको मत लिन पर्दैन । ‘समर्थन फिर्ता लिदा मध्यवधी निर्वाचनको डर छ, तत्काल कसैलाई मध्यवधीमा जाने रहर छैन,  अहिले त्यो अवस्था पनि छैन’, मुख्यमन्त्री निकट एक  नेताले भने, ‘एमालेले तत्काल त्यस्तो कदम चाल्दैन ।’ एमालेले समर्थन फिर्ता लिए राप्रपासँग पनि सहकार्य गर्ने ती नेताले बताए  ।

सहमतीय सरकारको ढोका खुल्ला :  मुख्यमन्त्री

नेकपा एमाले सरकारबाट बाहिरिएपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतीय सरकार निर्माणको बाटो सधैं खुल्ला हुने बताएका छन् ।

सरकार गठन गर्दा एमालेले गरेको सहयोग बिर्सन नसक्ने बताउँदै उनले सहमतीय सरकारको बाटो  खुल्ला रहने बताएका हुन् ।

शुक्रबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेबाट मन्त्री बनेका राम रानाले शनिबार पदबाट राजीनामा दिए । एमाले सरकारबाट बाहिरिएपछि पत्रकार सम्मेलन गरेका  कार्कीले  प्रदेशको समृद्धिका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने बताए ।

‘म नेकपा एमालेलाई आग्रह गर्न चाहन्छु । तपाईंहरुकै सहयोगमा म मुख्यमन्त्री बनेको हुँ । मध्यावधि रोक्न तपाईंहरुले गर्नुभएको उदाहरणीय कार्यलाई बिर्सिन सक्दिन’, कार्कीले भने, ‘त्यही भएकाले एमालेलाई पनि सँगै लिएर अघि बढ्न चाहन्छु । प्रदेशमा सहमतीय सरकार निर्माणको बाटो बन्द हुँदैन । सबै सँगै जाउँ, प्रदेशको हितमा काम गरौं ।’

‘सहकार्यले नै दलहरु सफल हुने हो । अहिले पनि प्रदेशमा सबै परिवर्तनकारी शक्तिहरु एकजुट हुन आवश्यक छ’, उनले फेरि भने, ‘हिजो विश्वासको मत दिँदा सबै एकै ठाउँमा थियौं ।’ एमालेले समर्थन फिर्ता नलिने बताउँदै मुख्यमन्त्री  कार्कीले समर्थन फिर्ता लिए  आफूसँग थप विकल्पहरू रहेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?