+
+

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा २५ विद्यार्थी मृत्यु, १०५ विद्यालय भवन पूर्ण क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १७:५५

२० कात्तिक, काठमाडौं । गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प जाँदा प्रारम्भिक तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिममा २५ जना विद्यार्थी, एक शिक्षकको मृत्यु भएको छ ।

जाजरकोट जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख रमेश मल्लका अनुसार आइतबार राती १० बजेसम्मको विवरण अनुसार भूकम्पमा परी ११ जना विद्यार्थी, एक निजी स्रोत शिक्षकको मृत्यु भएको हो ।

भूकम्पमा परी घाइते हुने विद्यार्थीको संख्या २० जना  पुगेको छ । प्रमुख मल्लका अनुसार भूकम्पले पूर्ण क्षति पुर्‍याएको विद्यालय भवनको संख्या ९१, कक्षाकोठा ३६६, शौचालय ४३ वटा, आइसीटी ११ वटा, पुस्तकालय १, घेराबार ७ वटा, सोलार ४ वटा विवरण प्राप्त भएको छ ।

इकाइका अनुसार १२२ विद्यालय भवनमा, ४७६ कक्षाकोठा र ३५ वटा शौचालयमा  आंशिक क्षति पुर्‍याएको छ । प्रमुख मल्ल क्षतिको विवरण संकलन भइरहेकोले अझै बढ्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘यकिन तथ्यांक अझै संकलन भइसकेको छैन । यो गएराति १० बजेसम्मको विवरण मात्रै हो । क्षतिको संख्या बढ्छ ।’

जाजरकोटको भेरी नगरपालिकाको अनुसार पालिकामा मात्रै भूकम्पमा परी ११ जना विद्यार्थीको मृत्यु भएको छ । ३ जना शिक्षक र ३१ जना विद्यार्थी घाइते भएको शिक्षा शाखा प्रमुख अमृत बहादुर पुनले जानकारी दिए ।

भूकम्पले १४ विद्यालय भवनमा, ४७ वटा कक्षा कोठामा, ९ शैचालय र ४ वटा घेराबारमा पूर्ण क्षति पु¥याएको छ । आंशिक क्षति भएको ७८ विद्यालय भवन, १७१ कक्षाकोठा, ३८ वटा शौचालय, ९ घेराबार, विज्ञान प्रयोगशाला १, आइसीटी ल्याब ९ र सोलार सिस्टम २ वटामा पुगेको छ ।

त्यस्तैगरी रुकुम पश्चिम जिल्लामा भूकम्पमा परी १४ जना विद्यार्थीको मृत्यु भएको छ जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख तारा पुनले जानकारी दिए । उनको भनाइ अनुसार एक विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।

इकाइको प्रारम्भिक तथ्यांक अनुसार १५ वटा विद्यालय भवनमा पूर्ण रुपमा क्षति पुगेको र २० वटा विद्यालयमा आंशिक क्षति पुगेको इकाइ प्रमुख पुनले जानकारी दिए ।

उनले भने, ‘यो प्रारम्भिक विवरण हो अझै विवरण संकलनकै क्रममा छौं । क्षतिको विवरण अझै थपिनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?