+
+

समयमा वित्तीय विवरण नबुझाउँदा ८८ सूचीकृत कम्पनीलाई कारवाही

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १५:४०

२२ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सयममा वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारबाही गरेको छ ।

सोमबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको हो ।

सूचीकृत कम्पनीहरूले समयमै बोर्डलाई बुझाउनुपर्ने विवरण नबुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय भएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए ।

वार्षिक वित्तीय विवरण त्रैमाससिक वित्तीय विवरण लगायतका विवरणहरु समयमा नबुझाउने कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए । ढिलो गरी वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई ५० हजार र वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई १ लाख रूपैयाँ जरिवाना गरिएको उनले बताए ।

समयमा आवश्यक विवरण पेश नगर्ने कम्पनीलाई एकैपटक यति ठूलो संख्यामा पहिलो पटक कारवाही भएको समेत अध्यक्ष हमालले दाबी गरे ।

धितोपत्र बोर्डले यसअघि ११ साउनमा एक सूचना प्रकाशित गर्दै समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गर्दै अन्यथा धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार कारवाही र जरिवनाना गर्ने चेतावानी दिएको थियो ।

सूचीकृत कम्पनीहरुले पेश गर्नुपर्ने विवरण कम्पनीहरलाई सामान्य लागेपनि त्यस्ता विवरणहरू धितोपत्र बजारका लागि निक्कै महत्वपूर्ण बोर्डका अधिकारीहरु बताउँछन् ।

सूचीकृत कम्पनीलाई संस्थागत सुशासनमा राख्न र लगानीकर्ताले पाउनेपर्ने सूचना सयममा नै उपलब्ध गराउन जवाफदेही बनाउन कारवाही गर्ने निर्णय भएको बोर्ड अध्यक्ष हमालले बताए ।

बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु उक्त त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

उक्त अनुसूची अन्तरगत त्रैमासिक अवधिको वित्तीय विवरण व्यवस्थापकीय विश्लेषण, कानुनी कारवाही सम्बन्धी विवरण, संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विवरण समस्या र चुनौती, संस्थागत सुशासन जस्ता विषय समावेश हुनेछ ।

नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सम्बन्धमा नियमावलीको व्यवस्थाको सूचीकृत संगठित संस्थाहरुमध्ये ८८ कम्पनीले परिपालना नगरेको सूची सार्वजनिक गरेको थियो । जसमध्ये ६४ कम्पनीले ढिलो गरी वित्तीय विवरण बुझाएको र २४ कम्पनीले वित्तीय विवरण नै नबुझाएको भन्दै सूची प्रकाशित गरेको थियो ।

यस्तै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा ९४० बमोजिम अनुपालना प्रतिवेदनको मुख्य मुख्य बुँदाहरु सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई तीन दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ ।

धितोपत्र सम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेश गर्नुपर्ने व्यवस्था रहेको छ । यी व्यवस्थाहरु परिपालना नभए कारवाही गर्ने चेतावनी नेपाल धितोपत्र बोर्डले दिएको थियो ।

धितोपत्र सम्बन्धी ऐनको दफा १०१ मा समयमा वित्तीय विवरण पशे नगर्ने र ऐन अन्तरगत बनेको नियम र विनियम कार्यन्वयन नगर्नेलाई ५० हजार देखि १ लाखसम्म कारवाही गर्नसक्ने व्यवस्था गरेको छ ।

‘कसैले जानीजानी वा बदनियत साथ ऐन वा ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात समयमा पेश नगरेमा, बोर्डले ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ,’ धितोपत्र सम्बन्धी ऐनको दफा १०१ को उपदफा ४ मा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?