+
+

राष्ट्रिय सभा चुनावमा गठबन्धन कायमै रहे एमालेलाई कठिन

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० कात्तिक २३ गते २१:२०

२३ कात्तिक, काठमाडौं । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै चुनाव गराउने निर्वाचन आयोगको तयारी छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले आगामी माघ १०, ११ वा १२ गते निर्वाचन गर्न परामर्श दिएको छ । तर सरकारले निर्णय गरिसकेको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यका अनुसार निर्वाचन आयोगसँग सरकारको राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने समयसीमाका विषयमा छलफल भएको छ ।

‘पदावधि सकिनुभन्दा एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । यसअनुसार आयोगसँग एक चरणमा छलफल भएको छ’ उनले भने ।

को-को हुँदैछन् विदा ?

राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । सात वटा प्रदेशबाट प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले निर्वाचित हुन्छन् भने तीन जना राष्ट्रपतिबाट निर्वाचित हुन्छन् ।

राष्ट्रिय सभालाई स्थायी सदनको रुपमा लिइने भएकाले दुई/दुई वर्षमा चुनाव गरेर नयाँ सदस्य निर्वाचित भइरहने व्यवस्था छ ।

नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि राष्ट्रिय सभाको चुनाव पहिलो पटक २०७४ सालमा भएको थियो । पहिलो पटक निर्वाचित भएकाहरुलाई गोलाप्रथाद्वारा दुई वर्ष, चार वर्ष र ६ वर्ष कार्यकाल तय गरिएको थियो । त्यसअनुसार दुई र चार वर्षे कार्यकाल पाएकाहरु विदा भएर नयाँ आइसके ।

अब ६ वर्षे कार्यकालको गोला तानेकाहरु फागुन २० गतेबाट बिदा हुन छन् । विदा हुनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र स्वतन्त्र दुई जना छन् ।

एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राईको कार्यकाल सकिँदैछ ।

कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि फागुन २० मा सकिने छ ।

माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि कार्यकाल २० फागुनमा सकिने छ ।

 नयाँ जनगणना अनुसार नयाँ मतभार

निर्वाचनमा सातैवटै प्रदेशका ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका १५०६ प्रमुख तथा उपप्रमुख  मतदाता रहन्छन् । उनीहरुको मतभार भने फरक हुनेछ ।

निर्वाचन आयोग २०७८ सालको जनगणना अनुसार नयाँ मतभार तय गर्न जुटेको छ । ‘पछिल्लो जनगणना अनुसार भनेकाले आगामी राष्ट्रिय सभाको चुनावमा २०७८ सालको जनसंख्या अनुसार मतभार तय हुन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

कूल जनसंख्यालाई प्रदेश सभाका कुल सदस्यले भाग गरेर प्रदेश सभाको मतभार लिइन्छ र त्यसलाई पुनः एक हजारले भाग गर्दा आउने भागफल एक प्रदेश सांसदको मतभार हुन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । कूल जनसंख्यालाई ५५० ले भाग गर्दा ५३०२६.५० हुन्छ । यसलाई पुनः १००० ले भाग गर्दा ५३.२६ आउँछ । यसरी एक प्रदेश सांसदको मतभार ५३ तय हुन्छ ।

स्थानीय तहको कुल संख्यालाई दुईले गुणा गरी त्यसले कुल जनसंख्यालाई भाग गरेर आउने परिणामलाई फेरि १००० ले भाग गर्दा आउने भागफल स्थानीय तहको एक प्रतिनिधिको मतभार हुन्छ ।

यसअनुसार स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ हुन आउँछ । यो सूत्र अनुसार मतभार निकँल्दा सबै प्रदेशका सदस्यको मतभार एउटै हुन्छ ।

सत्ता गठबन्धनलाई सहज

निर्वाचन आयोगका अनुसार अब हुने निर्वाचन बागमती प्रदेशमा ४, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा ३/३ तथा कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा २/२ जना राष्ट्रियसभा सदस्यका लागि हुँदैछ ।

केन्द्रमा जस्तै सातवटै प्रदेशमा अहिले कांग्रेस-माओवादी गठबन्धनको सरकार छ, स्थानीय तहमा पनि सत्ता गठबन्धनकै दलहरु हाबी भएकाले उनीहरु मिलेर चुनाव लडे राष्ट्रियसभा निर्वाचन एमालेका लागि प्रतिकुल हुने देखिन्छ ।

कोशीमा गठबन्धन भर्सेस एमाले

कोशी प्रदेशका १३७ स्थानीय तहका २७४ र प्रदेश सभा सदस्य ९३ गरी ३६७ मतदाता हुनेछन् । कोशी प्रदेशसभामा एमाले सबभन्दा ठूलो दल छ ।

प्रदेशमा एमालेका ४० कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेश सांसद छन् ।

पालिका प्रमुख र उपप्रमुखमा एमालेका क्रमशः ४७ र ६३ गरेर ११० जना छन् । कांग्रेसका प्रमुख ६९ र उपप्रमुख ४६ गरेर ११५ तथा माओवादी केन्द्रको प्रमुख १२ र उपप्रमुख १९ गरेर ३१ जना छन् ।

 दल प्रदेश स्थानीय तह कुल मतभार
एमाले ४० ११० ४२१०
कांग्रेस २९ ११५ ३७२२
माओवादी १३ ३१ १२७८
एकीकृत समाजवादी ३४५
जनता समाजवादी १२९
राप्रपा ३९४
स्वतन्त्र ५७
जम्मा ९३ (मतभार ४९२९)  २७४ (मतभार ५२०६)  १०१३५

एकल प्रतिस्पर्धा गर्ने हो भने कोशीमा एमाले बलियो देखिन्छ । तर कांग्रेस र माओवादीसहितका सत्ता गठबन्धनका दलले गठबन्धन गर्दा मतभार ५९६२ सम्म हुनसक्छ । कांग्रेस र माओवादीको मात्रै ५,४८८ छ ।

मधेशमा जसपा र लोसपा निर्णायक

मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका २७२ प्रमुख र उपप्रमुख मतदाता हुनेछन् ।

प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १५, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९, माओवादीका ८, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १/१ प्रदेश सांसद छन् । ६ जना स्वतन्त्र प्रदेशसभा सदस्य पनि छन् ।

दल प्रदेश स्थानीय तह कुल मतभार
एमाले २३ ५७ २३०२
कांग्रेस २२ १०२ ३१०४
जसपा १६ ५१ १८१७
जनमत १३ ७४६
लोसपा २४ ९३३
माओवादी १८ ७६६
एकीकृत समाजवादी ११ ५८०
नाउपा ५३
राप्रपा ५३
संघीय समाजवादी ५३
तमलोपा १९
विवेकशील साझा पार्टी ३८
स्वतन्त्र ३७५
जम्मा १०७ (मतभार ५६७१) २७२ (मतभार ५१६८) १०८३९

मधेश प्रदेशमा एकल रुपमा कांग्रेस अगाडि छ । अहिलेको अहिलेको सत्ता गठबन्धन कायमै रह्यो भने पनि उसका स्पष्ट बहुमत देखिन्छ । तर एमालेले गठबन्धनमा रहेको लोसपा र जसपाको साथ पायो भने चाहिँ निकै कडा प्रतिस्पर्धा हुनेछ । त्यो बेला साना दल र स्वतन्त्र प्रतिनिधिहरु निर्णायक हुनेछन् ।

बागमती र गण्डकीमा स्पष्ट बहुमत

११९ स्थानीय तह रहेको बागमती प्रदेशमा ११० सदस्यीय प्रदेश सभा छ । स्थानीय तहका २३८ प्रमुख उपप्रमुख तथा ११० प्रदेश सांसद गरी ३४८ मतदाता रहेका छन् ।

प्रदेशसभामा ३७ सिटसहित कांग्रेस पहिलो दल छ । एमालेको २७, माओवादीका २१, एकीकृत समाजवादीको ७, राप्रपा १३, नेमकिपाको ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् ।  स्थानीय तहतर्फ कांग्रेसका १०८, एमालेका ६०, माओवादीका ५७ प्रमुख/उपप्रमुख छन् ।

दल प्रदेश स्थानीय तह कुल मतभार
कांग्रेस ३७ १०८ ४०१३
एमाले २७ ६० २५७१
माओवादी २१ ५७ २१९६
एकीकृत समाजवादी ५४२
राप्रपा १३ ७०८
हाम्रो नेपाली पार्टी १०६
नेमकिपा १९७
स्वतन्त्र १९
जम्मा ११० (मतभार ५८३०) २३८ (मतभार ४५२२ ) १०३५२

यसरी हेर्दा दलीय रुपमा कांग्रेस अगाडि छ भने गठबन्धन गर्दा पनि बागमतीमा कांग्रेस माओवादी सहितका सत्तारुढ दलहरु मिल्नासाथ उनीहरुको सहज अवस्था बन्ने देखिन्छ ।

गण्डकी प्रदेशमा पनि उस्तै अवस्था छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय प्रदेशसभामा छ । जसमा कांग्रेस २७, एमालेका २२, माओवादी केन्द्रको ७, एकीकृत समाजवादी र राप्रपाको १÷१ प्रदेश सांसद छन् ।

यो प्रदेशमा ८५ स्थानीय तह छन् । पालिका प्रमुख र उपप्रमुख गरेर १७० जना मतदाता हुन्छन् । जसमा कांग्रेसका ६७ एमालेका ६८ जना छन् । माओवादी केन्द्रका ३० जना छन् ।

दल प्रदेश स्थानीय तह कुल मतभार
कांग्रेस २७ ६७ २७०४
एमाले २२ ६८ २४५८
माओवादी ३० ९४१
राप्रपा १०६
एकीकृत समाजवादी ७२
नेपाल समाजवादी पार्टी ५३
राष्ट्रिय जनमोर्चा ५७
स्वतन्त्र १९
जम्मा ६० (मतभार ३१८०) १७० (मतभार ३२३०) ६४१०

प्रदेशमा दलगत आधारमा कांग्रेस अगाडि छ । सत्ता गठबन्धन एक ठाउँमा आयो भने यो प्रदेशमा पनि एमालेलाई झन प्रतिकुल हुनेछ ।

लुम्बिनी र कर्णालीमा माओवादी निर्णायक

लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा छ भने १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१८ गरी कुल ३०५ मतदाता छन् ।

प्रदेश सभामा २९ सांसदसहित एमाले सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ९, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी, जसपा र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र तीन जना स्वतन्त्र सांसद रहेका छन् ।

यसैगरी, स्थानीय तहतर्फ कांग्रेसले ४८ पालिका प्रमुख र ४४ उपप्रमुख जितेको छ भने एमालेले क्रमशः २७ र ४० तथा माओवादीले २५ र १५ जितेको छ ।

दल प्रदेश स्थानीय तह कुल मतभार
एमाले २९ ६७ २८१०
कांग्रेस २७ ९२ ३१७९
माओवादी ४० १२३७
राप्रपा २६९
नाउपा २१२
जसपा २७३
लोसपा २३५
जनमत १५९
एकीकृत समाजवादी ५३
राजमो १२९
जनता प्रगतिशील पार्टी ३८
स्वतन्त्र १५९
 जम्मा ८७ (मतभार ४६११) २१८ (मतभार ४१४२)  ८७५३

यसरी हेर्दा मतभारका कांग्रेस अगाडि छ । प्रदेशमा सत्ता गठबन्धनमा रहेका कांगेस, माओवादी, जसपा, लोसपा सबै एक ठाउँमा आउने हो भने उनीहरु नै हाबी हुनेछन् ।

एमालेले राप्रपाका साथै सत्ता गठबन्धनमा रहेका जसपा र लोसपाको साथ पाए पनि गठबन्धनलाई भेट्टाउन गाह्रो छ । तर एमाले र कांग्रेस दुबैलाई जितका लागि माओवादीको समर्थन निर्णायक हुने देखिन्छ ।

यसैगरी, कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १५८ र प्रदेशसभाका ४० सदस्य गरी १९८ मतदाता रहेका छन् ।

कर्णाली प्रदेश सभामा माओवादी केन्द्र र कांग्रेसका १४/१४ सांसद छन् । एमालेका ९, एकीकृत समाजवादीका, राप्रपा र स्वतन्त्रका १/१ सांसद छन् ।

यसैगरी स्थानीय तहमा कांग्रेसका ३२ प्रमुख र २७ उपप्रमुख छन् भने पालिका प्रम्ुख र उपप्रमुखमा गरी एमालेका ३५ र माओवादी केन्द्रका ४८ जना छन् ।

दल प्रदेश स्थानीय तह कुल मतभार
कांग्रेस १४ ५९ १८६३
माओवादी १४ ४८ १६५४
एमाले ३५ ११४२
एकीकृत समाजवादी १० २४३
राप्रपा ५३
स्वतन्त्र १६७
जम्मा ४० (मतभार २१२०) १५८ (मतभार ३००२ ) ५१२२

कर्णालीमा कांग्रेस, माओवादी र एमालेले प्रतिस्पर्धा गर्ने हो भने साना दल र स्वतन्त्र निर्णायक हुने देखिन्छन् । तर सत्ता गठबन्धन अनुसार कांग्रेस र माओवादी मिल्ने हो भने एमालेलाई कर्णालीको राष्ट्रियसभा चुनाव कठिन बन्नेछ ।

सुदूरपश्चिम नाउपाको उपस्थिति

सुदूरपश्चिममा ५३ प्रदेशसभा सदस्य छन् । ८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख पनि मतदाता हुनेछन् ।

प्रदेशसभामा कांग्रेस १९ सिटसहित ठूलो दल छ । माओवादी केन्द्र ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र राप्रपा र स्वतन्त्र एक/एक जना प्रदेशसभा सदस्य छन् ।

स्थानीय तहतर्फ कांग्रेसको प्रमुख ४० र ४६ उपप्रमुख छ भने एमालेले प्रमुख र उपप्रमुख गरेर ५०, माओवादी केन्द्रको २४ रहेको छ ।

दल प्रदेश स्थानीय तह कुल मतभार
कांग्रेस १९ ८६ २६४१
माओवादी ११ २५ १०५८
एमाले १० ५० १४८०
एकीकृत समाजवादी ३०७
नाउपा ५०४
राप्रपा ५३
स्वतन्त्र ११०
जम्मा ५३ (मतभार २८०९) १७६ (मतभार ३३३४ ) ६१५३

यो प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा ठूला तीन दलबीच प्रतिस्पर्धा हुने हो भने नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने देखिन्छ । तर कांग्रेस, माओवादी, नाउपा र एकीकृत समाजवादी सत्तामा छ । उनीहरुको राष्ट्रिय सभा चुनावमा गठबन्धन गरे एमालेका लागि यो प्रदेशको निर्वाचन पनि निकै कठिन हुनेछ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?