+
+
राष्ट्र बैंकको प्रतिवेदन :

होलसेलमा सस्तियो, तर बजारमा महँगी बढेको बढ्यै

सेवा र निर्माण क्षेत्रको मुद्रास्फीतिमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १४:५७

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनामा होलसेल बजारको महँगी घटेको तर उपभोक्ताको भान्सामा भने महँगी बढेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिनाको तथ्यांकअनुसार समग्र मुद्रास्फीतिमा गत वर्षको समीक्षा अवधिको तुलनामा सुधार भए पनि खाद्य र पेय पदार्थको महँगी भने झनै बढेको पाइएको हो ।

बजार नियमन नहुँदा थानेकमा ११ प्रतिशतले घटेको महँगी उपभोक्तामा भने पास हुन नसकेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार २०८० असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो ।

समग्र उपभोक्ता मुद्रास्फीति १ प्रतिशतले घटेपनि यसको लाभ र गैर–खाद्य तथा सेवा समूहका उपभोक्तालाई मात्रै छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ । जबकि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति गत वर्ष ८.०५ प्रतिशत र अघिल्लो महिना ९.७४ प्रतिशत थियो ।

तर, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने गत वर्ष ८.८५ प्रतिशत रहेकामा समीक्षा अवधिमा ६.८१ प्रतिशतमा झरेको छ भने गत भदौमा तुलनामा यो क्षेत्रको महँगी ०.१८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.२५ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको छ ।

२०८० असोज महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति काठमाडौंमा ६.९३ प्रतिशत, तराईको ९.४२ प्रतिशत, पहाडको ८.८४ प्रतिशत र हिमालको ७.०७ प्रतिशत थियो ।

२०८० असोज महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तुर पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ५.३० प्रतिशत, १.३२ प्रतिशत र २.९७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.३४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?