+
+

प्रशासनले देउसी भैलो खेल्ने समय तोक्नु सही कि गलत ?

अमृत चिमरिया अमृत चिमरिया
२०८० कात्तिक २५ गते १८:००

२५ कात्तिक, काठमाडौं । तिहार लागेसँगै जिल्ला प्रशासन कार्यालयहरुले सूचना निकालेर देउसी भैलोको लागि समय तोक्ने काम गरिरहेका छन् । सुरक्षाको कारण देखाउँदै अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने नियम लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार साँझ सूचना जारी गर्दै १० बजेसम्म मात्रै देउसी खेल्न भनेको छ । ताप्लेजुङमा पनि राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै आफूले खुसियाली मनाउँदा अन्य व्यक्ति, टोल, छिमेक, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बिहान ७ देखि राति १० बजेसम्म मर्यादित तवरले र शान्ति सुरक्षामा असर नपर्ने गरी देउसीभैलो खेल्न भनेका छन् ।

रातिमा रक्सीको सेवन बढी हुन सक्ने, झै–झगडा हुन सक्ने र यसले घटना दुर्घटना भएर ज्यान समेत जान सक्ने भएकाले रातिको समय देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको प्रजिअ अधिकारीले बताए ।

यस्तै मकवानपुर प्रशासनले ९ बजेपछि देउसी भैलो सहित अन्य मनोरञ्जनका गतिविधि बन्द गर्न निर्देशन दिएको छ । मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले तिहारमा आफूले रमाइलो गर्दा अरुलाई असर नगर्न निर्देशन दिएको हो ।

मोरङमा १० बजे रातिसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले १० बजेसम्म मात्र खेल्न भनेको हो ।

जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचनामा पटाका, पड्काउने, जुवातास–लङ्गुरबुर्जा खेल्ने, प्लाष्टिकजन्य फूलहरुको प्रयोग नगर्न भनेको छ ।

जिल्ला प्रशासन कार्यालयहरुको सूचना हेर्दा ९ देखि ११ बजेसम्मको समयसीमा तोकेको पाइएको छ ।

रातिमा सुरक्षा दिने कि रोक लगाउने ?

संस्कृतिविज्ञ डा. जगमान गुरुङ भने सरकार सुरक्षाको दायित्वबाट पन्छेर देउसी भैलोलाई रोक लगाएको प्रतिक्रिया दिन्छन् । देउसी भैलो तिहारमा मात्र खेलिने परम्परा छ । तिहारको समयमा घरघरमा गई देउसी गीत गाएर नाच गान गर्ने, घरधनीले आफूले सकेको दक्षिणा दिने चलन छ ।

देउसी भैलोको मौलिक महत्व रहेको भन्दै उनी भन्छन् ‘समय नै तोकेर यति बेलादेखि नखेल, थोरै समय राखेर खेल भन्नु त गलत हो । बरु देउसी खेल्नेमाथि निगरानी राख्नु, सुरक्षा दिनु चाहिँ सुरक्षा निकायको दायित्व हो ।’

प्रशासनले उर्दी गर्न नहुने भन्दै गुरुङ थप्छन्, ‘अनुशासनको उलंघन कसैले गर्छ भने उसलाई कारबाही गर्ने हो, संस्कृति जगेर्नासहित खेल्नेहरुलाई रोक्ने होइन । यो भनेको प्रशासनले आफ्नो कमजोरी देखाएको हो ।’

गुरुङले भड्किला शैली, अमर्यादित गतिविधि, अनुशासनहीन व्यक्तिहरुलाई प्रशासनले कारबाही गर्नुपर्ने भन्दै तर त्यसलाई देखाएर संस्कृति संरक्षणको कामलाई नै बाधा गर्न नहुने बताए ।

रोक लगाउन भनेको छैन : गृह

गृह मन्त्रालयले भने सुरक्षाको दृष्टिकोणले प्रमुख जिल्ला अधिकारीहरुले देउसी भैलोको समय तोकेको हुन सक्ने बताएको छ । प्रवक्ता नारायणप्रसाद भट्टराईले देउसी भैलो रोक्ने योजना नभएको तर प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षाको अवस्था हेरेर समय तोकेको बताए ।

‘प्रमुख जिल्ला अधिकारीले सुरक्षा अवस्था हेरेर समय तोकेको होलान्, तर बन्देज लगाउने योजना छैन’, उनले भने ।

काठमाडौं महानगरले लियो १ बजेसम्मको सुरक्षा जिम्मा

बिहीबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रको बैठक थियो । बैठकले उपत्यकाको सबै जिल्लामा देउसी भैलो खेल्न एउटै समय तोक्ने तयारी गरेको थियो । सोही अनुसार शुक्रबार ललितपुरले १० बजेसम्म देउसी भैलो खेल्न पाउने समय तोक्यो, तर काठमाडौंले तोकेको छैन ।

शुक्रबार नै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा राति १ बजेसम्म देउसी भैलो खेल्न नगर प्रहरी मार्फत सुरक्षाको व्यवस्था मिलाएको जानकारीसहित पोस्ट राखे । उनले नगर प्रहरीले सुरक्षा दिने भन्दै ढुक्क भएर देउसी खेल्न पनि आग्रह गरेका छन् ।

उक्त स्टाटसपछि काठमाडौं प्रशासनले देउसी खेल्ने समय तोकेको छैन ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाल प्रहरीलाई सघाउ पुग्ने गरी काठमाडौं महानगरभित्र ५ गस्ती टोली परिचालन गर्ने बताए ।

‘हामीले देउसी भैलोको सुरक्षाको लागि घुम्ती गस्ती गर्ने गरी ५ टोली परिचालन गर्दैछौं, यसको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरिरहेका छौं ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?