+
+

राजनीतिलाई पर राखेर भूकम्प पीडितलाई सघाइरहेका छौं : गोपालजीजंग शाह

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते ९:०२

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपाल जीजंग शाह भूकम्प प्रभावित क्षेत्रमा सबै राजनीतिक दलहरुको राम्रो सहकार्य रहेको बताउँछन् । राजनीतिक सिद्धान्त र विचारलाई पर राखेर भूकम्प पीडितको सेवामा जुटिरहेको उनको भनाइ छ ।

‘सशस्त्र युद्धको बेला जेजस्तो भए पनि कोभिड, भूकम्प, बाढी पहिरोको बेला हामीले सँगसँगै मिलेर काम गरिहेका छौं । यो अहिलेको राष्ट्रिय आवश्यकता पनि हो । सहमति र सहकार्य बीपीले देखाएको बाटो पनि हो,’ उनी भन्छन् ।

श्रीमती बिरामी भएर केही दिनका लागि काठमाडौं आएका उनी फेरि रुकुम फर्किएर भूकम्प पीडितलाई सहयोग गर्ने बताउँछन् –

शाहको भनाइ उनकै शब्दमा –

भूकम्पको पीडाको बेलामा हामी सबै राजनीतिक दलका नेता कार्यकर्ताहरु सँगसँगै पीडितका घरहरुमा पुगेका छौं । उहाँहरुलाई राहत पुर्याउन सक्रिय भएका छौं, सान्त्वना दिएका छौं, औषधि उपचारमा सहयोग गरेका छौं ।

हिले पार्टीका महामन्त्रीहरुको अगुवाइमा पीडितहरुलाई घर बनाइदिने काम जारी छ । जिल्लाका अरु पार्टीका नेताहरुले पनि घर बनाइदिने र व्यवस्थित आवासका लागि सरकारबाट पहल गर्ने काम गरिरहनु भएको छ ।

रुकुम पश्चिममा सत्ता गठबन्धनमा भएका दलहरु सबैको एकदमै राम्रो सहकार्य छ । एमालेका साथीहरुलाई पनि सहकार्यमा आउनुस् भनेका छौं । जिल्लाको सर्वदलीय समितिमा उहाँहरु पनि हुनुहुन्छ । हामी सँगै बसेर रहेर राहत वितरणमा सहजीकरण गरिरहेका छौं । राजनीतिक सिद्धान्त र विचार आ-आफ्नो ठाउँमा भए पनि आपत विपदको बेला हामीले मिलेर काम गर्नुपर्छ ।

बिहीबारको दिन हाम्रा महामन्त्रीहरु आएको हुनाले मैले उहाँहरुलाई समय दिनुपर्ने भयो । नत्र अघिल्ला दिनसम्म हामी सबै दलका नेताहरु सँगसँगै पीडितहरुलाई भेट्दै, सान्तवना दिँदै हिँडेका थियौं ।

भूकम्पको केन्द्रबिन्दु र बढी क्षति भएकाले जाजरकोटको बढी चर्चा भइरहेको छ । राहत पनि बढी त्यहीँ आवश्यक छ । त्यो स्वाभाविक हो । रुकुम पश्चिममा पनि कम क्षति भने छैन ।

रुकुम पश्चिमका खासगरी आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय पनि र भौतिक क्षति धेरै छ । अन्य पालिकामा भौतिक क्षति भएको छ । जाजरकोटमा र रुकुम पश्चिममा दिनहुँ राहत आइराखेको छ । जिल्लामा आएको राहत यता-उता भयो कि भन्ने आशंका कसैले नगरे हुन्छ । जिल्ला प्रशासन कार्यालयमा सबै रेकर्ड छ ।

कतिपय ठाउँमा राहत पुग्न ढिला भएको गुनासो छ । तर सकेसम्म छिटो पुर्‍याउन स्थानीय प्रशासन र पालिकाहरु सक्रिय छन् । हामीले त्यो कामलाई सहजीकरण मात्र गरिदिएका छौं ।

काठमाडौंमा रहेकी मेरी श्रीमती बिरामी भएको खबर पाएपछि आइतबार एक्कासी नेपालगञ्ज हुँदै काठमाडौं आएको छु । केही दिन बसेर फेरि जिल्ला फर्किन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?