+
+

साढे ३ वर्षपछि खुल्यो मुस्ताङको कोराला नाका, चिनियाँले दिए नुन, चिया र पिठो

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० कात्तिक २७ गते १३:२६

२७, कात्तिक, काठमाडौं । मुस्ताङमा रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो ।

सोमबार नेपाली समयअनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो ।

नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थलगायतलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । सो अवसरमा हर्ष बडाईं पनि गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र पास भएका केही स्थानीयहरु आज तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर त्यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी भएको लोमान्थाङ गाउँपालिकाका सूचना अधिकारी बिकास केसीले बताए ।

‘मुस्ताङमा रहेको नेपाल चीन कोरला नाका आजबाट औपचारिक रुपमा दोहोरो सञ्चालनमा आएको छ,’ केसीले भने, ‘यस अघि वर्षमा २ पटक पटके व्यवसायका लागि खुल्ने नाका अब १२ महिना नै खुल्ने गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ पक्षले बताएका छन् ।’

उनका अनुसार अहिले चिनियाँ नाकामा आयोजना भइरहेको चियापान कार्यक्रममा नेपाली जनप्रतिनिधिहरु सहभागी भइरहेका छन् ।

एक लाख किलो खाद्यन्न सहयोग

लामो समयपछि नाका खुलेको खुसियालीमा चिनियाँ पक्षले नेपालीहरु एक लाख किलो खाद्यन्न सहयोग गरेका छन् । नाका खुल्ने अघिल्लो दिन आइतबार चिनियाँ पक्षले स्थानीय पालिकाका बासिन्दाका लागि भनेर नुन, चिया, पिठोलगातका खाद्यान्न सहयोगमा पठाएको सूचना अधिकारी केसीले जानकारी दिए ।

१५ वटा ट्रकमा रहेको ती खाद्यान्न उच्च हिमाली भेगका स्थानीको विशेष प्रकारको खानाका लागि प्रयोग हुने र यो सांस्कृतिक आदान प्रदानको रुपमा सांकेतिक सहयोगको रुपमा प्राप्त भएको पनि गाउँपालिकाले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?