+
+
विश्वकप क्रिकेट- भारतविरुद्ध न्युजिल्यान्ड प्रिभ्यू :

द्रविडलाई डर, एकै हारले बाहिरिने त होइन ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते १६:५२

२८ कात्तिक, मुम्बई । यसपल्टको विश्वकपका कुनै एक टिम साँच्चै राम्रो छ भने त्यो भारत नै हो । तर प्रशिक्षक राहुल द्रविडलाई डर छ, कतै एकै हारले आफ्नो टिम प्रतियोगिताबाट बाहिरिने त होइन ? बुधबार सेमिफाइनल हुँदैछ र भारतको प्रतिद्वन्द्वी रहेको छ, न्युजिल्याण्ड ।

भारतले आफ्नो अन्तिम लिग खेलमा नेदरल्याण्डसलाई १६० रनले हराएको थियो । यसक्रममा भारतले लिग चरणमा शतप्रतिशत जित निकालेको थियो । त्यो भनेको नौ खेलमा नौ वटै जित हो ।

विश्वकप इतिहासमा राउन्ड रोबिनको आधारमा प्रतियोगिता भएको छ भने यो जत्तिको उम्दा प्रदर्शन अर्को हुन सक्दैन ।  खासमा भारत सबै क्षेत्रमा अब्बल देखिन्छ जस्तो, ब्याटरकै कुरामा ।

विराट कोहली प्रतियोगितामै सबैभन्दा बढी रन बनाउनमा पर्छन् । उनले ५९४ रन बनाएका छन् । त्यसपछि कप्तान रोहित शर्मा पनि धेरै टाढा छैनन्, उनले ५०३ रन बनाइसके । यी निकै अनुभवी ब्याटरले एक आपसमा तीन शतक बनाइसकेका छन् ।

केही नयाँ मान्न मिल्ने श्रेयस अय्यर केएल राहुल पनि धेरै पछाडि छैनन् । उनीहरू दुवैले नेदरल्यान्ड्सविरुद्ध शतक पनि बनाए । बलरमा पनि भारत कम्ती छैन, जसप्रित बुमराह, मोहम्मद सिराज र मोहम्मद सामीको फास्ट बलिङ जोडी गज्जब छ । भारतका लागि हार्दिक पान्ड्या घाइते हुनु पनि धेरै दुखदायी भएन, उनी नभएपछि टिममा सामी फर्केका छन् । सामीले पाँच खेलमा १६ विकेट लिएका छन्, त्यो पनि १० रनको औसतमा । त्यसमाथि स्पिनर विभागमा रवीन्द्र जडेजा र कुलदीप यादव पनि लयमै छन् ।

भारतमाथि दबाबै दबाब

तर एकथोकमा भने अभागी छ र यो हो, इतिहास । सन् २०११ मा श्रीलंकालाई हराएर विश्वकप जितेयता भारतले कुनै पनि ठूला प्रतियोगिता जित्न सकेको छैन । सन् २०१३ मा जितेको च्याम्पियन्स ट्रफी नै भारतले जितेको अन्तिम ठूलो प्रतियोगिता हो । चार वर्ष अगाडिको विश्वकपमा पनि भारत सेमिफाइनलमै रोकिएको थियो । अझ त्यो पनि न्युजिल्यान्डकै हातबाट । त्यो खेल म्यानचेस्टरमा भएको थियो र वर्षाले प्रभावित भएपछि दुई दिन चलेको थियो ।

तर जित भने न्युजिल्यान्डकै रह्यो, १८ रनले । सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई नै हराएको थियो । सन् २०१९ को सेमिफाइनलमा हार सामना गरेका पाँच खेलाडी अझै पनि भारतीय टिममा छन् र उनीहरू हुन्, रोहित, विराट, राहुल,  जसप्रित र रवीन्द्र जडेजा । अबको सेमिफाइनलमा पनि यिनै पाँच खेलाडीले खेल्ने पक्का पक्की छ । प्रशिक्षक द्रविड यही परिस्थितिमा मान्छन्, एक हारले सबथोक बिगार्न सक्छ ।

उनी भन्छन्, ‘पक्कै पनि भारतमाथि दबाब हुनेछ । अहिलेसम्म भारतले दबाबमै खेलेको छ, त्यसैले मलाई विश्वास छ, यस्तै परिस्थितिमा खेल्ने बानी परेको छ । तर निश्चित तथ्य के भने टिमका एक हारको मूल्य चर्को हुन सक्नेछ, प्रतियोगिताबाट बाहिर ।’

गत महिना धर्मशालामा भएको लिग चरणको खेलमा भारतले न्युजिल्यान्डलाई हराउन संघर्ष नै गरेको थियो । जम्माजम्मी चार विकेटको जित निस्केको थियो । त्यस खेलमा ड्यारेल मिचेलले १३० रन बनाए ।

तर पनि भारत न्युजिल्यान्डलाई २७३ रनमा रोक्न सफल रह्यो । सामीले ६४ रनमा पाँच विकेट लिए । त्यस अगाडि कोहलीले ९५ रन बनाए भने इनिङ्सको अन्त्यतिर जडेजाले नटआउट रहेर बहुमूल्य ३९ रन बनाए । प्रतियोगिताको पहिलो सेमिफाइनल मुम्बईको वानखडे स्टेडियममा हुँदैछ र यो रोहितको घरेलु मैदान पनि हो । द्रविडलाई विश्वास छ, भारतका लागि रोहितले राम्रो खेल्नेछन् र आफूलाई सही कप्तान सावित गर्नेछन् ।

रचिन रवीन्द्रमा भरोसा

न्युजिल्याण्डको सेमिफाइनल यात्रा भारतको तुलनामा फरक छ । लिग चरणमा न्युजिल्यान्ड चार खेलमा पराजित रह्यो, तर चौथो स्थानमा रहेर अन्तिम चारमा पुग्यो । टिमका प्रमुख ब्याटर हुन्, केन विलियम्स । उनी टिमका कप्तान पनि हुन् । चोटबाट मुक्त हुँदै उनी फर्केका छन् र पाकिस्तानविरुद्ध लयमा रहेको देखाउँदै ९५ रन पनि बनाए । उनी आएपछि टिम सन्तुलित पनि देखिएको छ । न्युजिल्याण्डका लागि यो शुभ लक्षण पनि हो ।

टिम बलिङमा पनि राम्रो देखिन्छ, ट्रेन्ट बोल्ट, टिम साउथी र लुकी फर्गुसन विपक्षीको बलियो ब्याटिङ क्रमलाई ध्वस्त पार्न सक्षम देखिन्छन् । पछिल्ला दुई विश्वकपमा उप–विजेतामै सीमित न्युजिल्याण्डको सबैभन्दा ठूलो भरोसा भने रचिन रवीन्द्रमा हुनेछ । उनी प्रतियोगिताकै त्यस्ता उदीयमान खेलाडी हुन्, जसलाई खेलकुदको भाषामा ‘ब्रेक आउट स्टार’ मान्न सकिन्छ । यी २३ वर्षीय बायाँ हाते ब्याटरले ५६५ रन बनाइसकेका छन् ।

संयोग कस्तो भने उनी हुन् भारतीय मूलका । भारतमै जन्मे हुर्केका अभिभावकका छोरा । प्रशिक्षक द्रविड र सचिन तेन्दुलकरकै नाम जोडेर उनको नाम जुरेको हो, रचिन । उनले यस विश्वकपमा तीन शतक प्रहार गरिसके । उनका यी तीन शतक, इंग्ल्यान्ड, अस्ट्रेलिया र पाकिस्तानविरुद्ध थियो । अर्थात् तीनै शतक उत्तिकै बलिया टिमविरुद्ध । ‘म भारतविरुद्ध निकै लामो इतिहास भएको वानखडे स्टेडियममा खेल्दैछु, यो त सपना पूरा भए जस्तै हो’, उनले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?