+
+

केही दिनभित्रै प्रहरी ऐन आउँछ, प्रदेशसँग लाठी हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १५:१०

१ मंसिर, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका लागि आवश्यक प्रमुख प्रहरी समायोजन ऐन, निजामती ऐन र संघीय शिक्षा ऐन छिट्टै पारित गरेर कार्यान्वयनमा आउने दाबी गरेका छन् ।

यी तीन वटा ऐनमात्रै टुंगिएर प्रदेश सरकार शक्तिशाली हुनेबित्तिकै जनताले प्रत्यक्ष रुपले सिंहदरबार हाम्रो घरदैलोमा आएकै छ भन्ने थाहा पाउने उनले दाबी गरे ।

तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माण भएको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रचण्डले जबसम्म प्रदेश सरकार हो भन्ने अनुभूति जनतालाई दिलाउन सकिँदैन, तबसम्म प्रदेशको महत्व के हो भन्ने कुरा विश्वास दिलाउन पनि गाह्रो हुने बताए ।

‘प्रहरी समायोजन ऐन त बनिसकेको छ । खाली कार्यान्वयनको कुरामात्रै हो । गएको ३/४ दिन लगातार प्रहरी, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लगातार छलफलमा छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने र प्रदेशसँग लाठी हुने प्रचण्डले दाबी गरे । ‘लाठी नभइकन सरकार हुँदैन । जोसँग सेना छैन, पुलिस छैन, उसले ल एन्ड अर्डर मेन्टेन कसरी गर्छ ? लाठी हुने छ,’ प्रचण्डले भने ।

दोस्रो, सरकार हुनका निम्ति नभइ नहुने कुरा कर्मचारी नै भएकाले संघीय निमामती ऐन छिट्टै पारित हुने प्रचण्डले बताए ।

गठबन्धनभित्र सहमति गराउने कुरा आफैंमा चुनौतिपूर्ण रहेको भन्दै प्रचण्डले धेरै मिहिनेत गरेर संघीय निजामती ऐन बनाइएको जिकीर गरे ।

‘गठबन्धनभित्र सहमति गराउने कुरा आफैंमा चुनौतिपूर्ण कार्य थियो, सहमति भएको छ । क्याबिनेटबाट त्यो पास भएको छ अब सदनभित्र लगेर पारित गर्ने कुरा छ,’ प्रधानमन्त्रीले प्रचण्डले भने ।

संघीय शिक्षा ऐन सदनमा पुगिसकेर सपिमतिमा छलफलको क्रममा रहेको बताउँदै प्रचण्डले परिमार्जनसहित पारित गर्ने कोशिस भएको जानकारी दिए ।

‘यी तीन वटा ऐनमात्रै टुंगिएर प्रदेश सरकार शक्तिशाली हुनेबित्तिकै प्रत्यक्ष रुपले थाहा पाउने छन् कि सिंहदरबार हाम्रो घरदैलोमा आएकै छ,’ उनले भने, ‘सिंहदरबारले दिनुपर्ने सेवा हाम्रै घर दैलोमा, हाम्रै सदमुकाममा जनताले पाएका छन् । स्थानीय सरकार पनि सिंहदरबार नै हो ।’

स्थानीय सरकार महत्वपूर्ण छ भन्ने जनताले बुझिसकेको उनको भनाइ थियो । स्थानीय सरकारमा संविधानले व्यवस्था गरेको धेरैजसो अधिकार कार्यान्वयन भएको तर प्रदेश सरकारको बारेमा कार्यान्वयन नभएको प्रचण्डले बताए ।

‘जुन दिन प्रदेश सरकार पनि कामकाजी हुने गरी ऐनको व्यवस्था र अन्य आवश्यक सुधारको व्यवस्था हुन्छ, त्यसपछि जनताले थाहा पाउने दिन आउँछ कि वास्तवमा हामीले संघर्ष गरेर, बलिदान गरेर, त्यत्रो ७० वर्ष लडेर ल्याएको संविधानको अर्थ र महत्वप यो रहेछ भन्ने कुरा,’ उनले भने ।

हिजोका गणतन्त्रविरोधी, महिला, दलित आदिवासी, थारु, मधेसीलाई अधिकार दिने पक्षका विरोधीहरुले अहिले आफैंले हलो अड्काउने र गोरुलाई चुट्ने काम गरिराखेको प्रधानमन्त्रीले बताए ।

ऐन बन्न पनि तिनैले रोक्ने गरेको र संघीयता असफल भएको भन्ने पनि तिनैले गरेको उनको भनाइ थियो । विवेक र ज्ञान हुनेहरुले त अहिलेको सरकारले बल गरेको छ है भन्नै पर्ने प्रचण्डको दाबी थियो ।

‘देशमा अहिलेसम्म कहिल्यै नभएको भ्रस्टाचार, भूमाफिया र तस्करका विरुद्ध अभियान सुरु त अहिल्यै भएको छ नि । पहिला यो स्केलमा कहिल्यै भएको थियो त ?,’ प्रचण्डले प्रश्न गरे ।

पहिलो पटक इतिहासमै भारत, चीन र अमेरिकासँग जुन सम्झौता भएको छ त्यसबाट गर्व गर्नु पर्ने उनले भनाइ छ । चीनमा सबै नाका खोल्ने प्रक्रिया सुरु भइसकेको र कोरोला नाका खुलि नै सकेको प्रचण्डले बताए । अहिले देशभित्र आर्थिक संकट भए पनि आफू प्रधानमन्त्री हुँदाजस्तो आतंक चाहीँ नभएको प्रचण्डको दाबी छ ।

संविधान बन्न नदिनेहरुले मौकाको फाइदा उठाउन खोजेको प्रचण्डले बताए । उनले यो गठबन्धन पाँचै वर्ष जाने र कसैले हल्लाएर हल्लिनेवाला नभएको दाबी गरे ।

सुशासनका क्षेत्रमा पनि ठूलो सुधार गरेको प्रचण्ठले ठोकुवा गरे ।

यो पटक गठबन्धन सरकारले राष्ट्र र जनताको पक्षमा राम्रो गर्ने र राम्रोबाहेक केही पनि नगर्ने उनले बताए ।

राम्रो गर्दा गर्दै छोड्नुपरेछ भने जनता न्यायाधीश छन्, जनताको घरदैलोमा जाने संकल्प प्रधानमन्त्री बनेकै दिनमा गरेको दाबी गरे । ‘यो पटक राष्ट्र र जनताका निम्ति काम गर्छु केही लिनु छैन, केही दिनु छैन,’ उनले भने ।

धेरैले यो सरकार एक महिनाभन्दा बढी जाँदैन भनेर भनेको भन्दै प्रचण्डले ११ महिना भइसक्दा पनि आफू प्रधानमन्त्री नै भइराखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?