जाजरकोटमा १७ कात्तिक २०८० मा गएको भूकम्पमा धेरै मानवीय क्षति हुनुको प्रमुख कारण रातिको समयका भूकम्प जानु पनि हो । राति भएकाले मानिसहरू सबै घरभित्र भए । त्यसैले धेरै मानवीय क्षति भयो ।
भूकम्प म्याग्निच्यूडको हिसाबले मझौला हो । हामी प्राविधिक भाषामा ५ देखि ६ सम्मको भूकम्पलाई सानो भन्छौं । म्याग्निच्यूड ६ देखि ७ सम्म छ भने मझौला भूकम्प भन्छौं । ७ देखि ८ सम्म शक्तिशाली भूकम्प भन्छौं ।
क्षतिको अर्को कारण भनेको कमजोर भौतिक संरचना भएका घरहरू हुन् । जाजरकोट र रुकुमपश्चिमका अधिकांश घरको भौतिक संरचना अवैज्ञानिक छन्, ती कमजोर छन् ।
मैले जाजरकोट र पश्चिमरुकुम जाँदा के देखें भने खोलाछेउमा बनेका घरहरूमा बढी क्षति भएका छन् । रिम्ना, रावत गाउँ लगायत ठाउँमा रहेका घरहरूमा भेरी नदीका चिल्ला र गोला ढुंगाहरू प्रयोग भएका छन् । ती ढुंगाहरू फुटाएको पनि छैन । जस्ताको तस्तै गोला ढुंगामाथि ढुंगा राखेर घर बनाइएका छन् । यसमा बन्धन कतैबाट भएको छैन ।
कतिपय पर्खालहरू बाहिरबाट झट्ट हेर्दा बाक्लो देखिन्छ । तर, त्यसको भित्र खोक्रो छन् । भित्र एक पत्र अनि बाहिर एक पत्र भएको मैले स्थलगत रूपमा गएर हेर्दा देखेको छु ।
अलि ठूलै भए कुनैमा माटो भरेको होला । नभए, त्यो इञ्जिनियरिङको हिसाबले कुनै वैज्ञानिक छैन । अहिले पनि कतिपय ठाउँमा एउटा पत्र भत्किएर अर्को ठडिएको देखिन्छ । यसरी कमजोर तरिकाले घर निर्माण हुनु क्षतिको अर्को कारण हो ।
हामीले जहाँ-जहाँ बढी क्षति भएको देख्यौं, त्यो ठाउँमा भूकम्पको तरंगहरूको शक्ति एम्लिफाई (बढेको) पनि देखिन्छ । भौगोलिक कारणले ती क्षेत्रमा भूकम्पको शक्ति बढेका हुन् । नदी किनारमा भएका बस्तीहरू ५ देखि १० मिटरको हाइटमा छन् ।
बलौटे माटो भएको भेरी किनारमा बनेका घरहरूमा प्रायः धेरै क्षति भएको छ । भूकम्पीय तरंग त्यस्तो माटोमा चट्टानमा भन्दा बढी हुन्छ । अर्थात्, भूकम्पको तरंग घनत्व बढी भएको ठाउँमा छिटो हिंड्छ । घनत्व कम भएकोमा स्पीड कम हुन्छ । ढिलो ट्राभल गर्छ । त्यो भनेको भूकम्पको तरंगले त्यस स्थानमा धेरै समय लगाउने भयो । त्यसो हुँदा त्यहाँ धेरै समयसम्म कम्पन हुन जान्छ । त्यसले पनि क्षति बढाएको देखेका छौं ।
समय बढी भएकाले क्षति बढी हुने स्वाभाविक पनि हो । यसलाई प्राविधिक भाषामा हामी लोकल साइड इफेक्ट भन्छौं । भूकम्पको क्षति केन्द्रविन्दुबाट २० किमी टाढा केन्द्रित देखिन्छ ।
जाजरकोट र रुकुमपश्चिममा घरहरू डाँडामा छन् । भिरालोमा छन् । कतिपय क्षति भएको ठाउँभन्दा दायाँ–बायाँ केही भएको छैन । त्यहाँ अर्को भूकम्पको तरंग एम्लिफाई हुँदा टोपोग्राफिक असर देखिन्छ । डाँडाबाट भिरालोमा पुग्दा एम्लिफाई हुन्छ ।
भूकम्पको कम्पन ठाउँ अनुसार फरक पर्छ । त्यसैले हामी अध्ययनका लागि भूकम्प जाने वित्तिकै गएर हेर्छौं । जाँच्ने मेसिन भइदिएको भए सहज हुन्थ्यो । उपकरणले नै यति समयसम्म कम्पन भयो भन्ने सन्देश दिन्थ्यो । तर, जाजरकोट, पश्चिमरुकुममा त्यो छैन ।
क्षतिको कुरा गरिरहँदा बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुरा के पनि हो भने म्यानिच्यूड प्वाइन्ट १ फरक पर्दा मात्रै पनि त्यसको प्रभाव चार गुणा फरक हुन्छ ।
अहिले जाजरकोट र पश्चिम रुकुममा भएको सम्पूर्ण क्षति पिलर नभएको घरहरूमा भएको छ । ढुंगा र माटोको जोडाइबाट बनेका घरहरू पूर्ण रूपमा क्षति पुगेका छन् । राम्रोसँग नबाँधेकाले यो समस्या भएको हो ।
एकआपसमा क्रस गरेर नजोडिएका घरहरू छन् । पर्खालहरू राम्ररी बनाइएका छैनन् । त्यो समस्यासँगै स्थानीय जियोलोजिकल साइड इफेक्टले पनि क्षति बढी भयो । पहिलो भूकम्पले नै अधिकांश संरचना भत्किसकेका थिए । बाँकी रहेका कमजोर भएका थिए । २० कात्तिकमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प जाँदा थप घरहरूमा क्षति पुग्यो ।
सानो भूकम्पमा पनि क्षति हुनु भनेको संरचना नै सबभन्दा जोखिमयुक्त हुनु हो । पश्चिम नेपालमा यो समस्या झन् बढी देखिन्छ । पुरानो त कमजोर भयो भयो, अहिले बनाएका पनि त्यस्तै छन् । यो विडम्बनाको विषय हो ।
यो गरिबीसँग पनि जोडिएको विषय हो । आर्थिक अवस्थासँग जोडिएको विषय हो । कतिपय ढुंगा-माटोले बनाइएका घरमा वरिपरिकाले बनाएको देखेपछि तला थपिएका छन् । त्यसमा गम्भीर गल्ती भएका छन् ।
छिमेकीले माथि दुई तला थप्यो भनेर १५ लाख खर्च गरेर कच्चा घरमा फेरि तला थपिएको छ । आमा, छोराछोरी बस्नलाई कमजोर घरमा तला थपेर झन् जोखिम निम्त्याइएको छ । घर बनाउँदा स्वीकृति लिनुपर्नेमा त्यो कहीं गरिएको छैन ।
नगरपालिका र गाउँपालिकाले कस्तो संरचना बनिरहेको छ भन्ने नियमन गरेका छैनन् । गाउँपालिकाले पनि लगत राखेको छैन । लामो समयदेखि पश्चिम नेपालमा भूकम्प नगएकाले पनि होला, भूकम्प जान्छ भन्ने धेरैले त सोचेकै छैनन् । त्यसले गर्दा त होला, कुनै मापदण्डबारे सचेतना नै छैन ।
(राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा.अधिकारीसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया 4