+
+

महाभूकम्पयता छठ छैन रानीपोखरीमा

अमृत चिमरिया अमृत चिमरिया
२०८० मंसिर १ गते २१:११

१ मंसिर,काठमाडौं । सर्वसाधारणको लागि २८ फागुन २०७९ मा खुलेको रानीपोखरी वर्षौं देखि चलिआएको छठ पर्वको लागि भने अझै खुल्न सकेको छैन ।

२०६३ सालदेखि निरन्तर १० वर्ष रानीपोखरीमा छठपर्वको लागि स्थान उपलब्ध भए पनि भूकम्पपछि भने त्यो क्रम रोकिएको छ ।

‘८ वर्षदेखि रानीपोखरीमा छठ हुन छोडेको छ, अहिले कमलपोखरीमा बृहत रुपमा छठपर्व हुँदै आएको छ’, छठपर्व व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सिंह बताउँछन् ।

सिंहका अनुसार भूकम्पपछि रानीपोखरीमा रोकिएको छठपर्व जनप्रतिनिधि आएपछि रोक्ने निर्णय गरेका थिए । त्यसपछि उक्त स्थानमा मनाउने भक्तजनहरु कमलपोखरीमा आउने गरेका छन् ।

काठमाडौं महानगरका अनुसार भूकम्प गएपछि २ वर्षसम्म रानीपोखरीमा छठ मनाउने समितिले नै सर्वदलीय संयन्त्रको निर्देशनमा छठ पर्व हुन दिएन । त्यसपछि २०७४ सालको काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि भूकम्प पछिको पुनःनिर्माण सुरु भयो ।

लगभग ८ वर्ष पुनः निर्माण प्राधिकरणको स्वामित्वमा हुँदा रानीपोखरीमा एकचोटि पनि छठपर्व हुन सकेन । काठमाडौं महानगरपालिकाका अघिल्लो कार्यकालका प्रवक्ता रहेका १५ नम्बर वडाका वडाध्यक्ष इश्वरमान डंगोलले पहिलो कार्यकालमा पुनःनिर्माणको काम नै बाँकी भएकोले छठ हुन नसकेको बताए ।

‘भूकम्प पछिको पुनःनिर्माणको लागि काम भइरहेको बेला महानगरले छठ मनाउनको लागि सर्वसाधारणको लागि दिने कुरा भएन, अघिल्लो कार्यकालमा एकचोटी पनि छठ मनाइएन,’ डंगोलले भने ।

रानीपोखरी हस्तान्तरण गरिसकेपछि अहिले महानगरको पूर्ण स्वामित्वमा रानी पोखरी रहँदै आएको छ । महानगरका प्रवक्ता नविन मानन्धरले अहिले रानीपोखरीमा छठपर्व मान्नुपर्छ भन्ने माग नै नरहेको बताउँछन् । ‘हामीले कुनै पनि निर्णय गरेर रानीपोखरीमा छठपर्व मान्न पाइँदैन भनेका छैनौं, अहिले माग नै यहाँको लागि आएको छैन,’ मानन्धरले अनलाइनखबरसँग भने ।

अघिल्लो पटक रानीपोखरी छठपर्व व्यवस्थापन समितिका अध्यक्ष मदन साहले असनलगायतका क्षेत्रमा बस्ने व्रतालुहरुलाई सहज होस् भनेर छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाडौं महानगरपालिकाले बेवास्ता गरेको गुनासो गरेका थिए । तर यो पटक कुनै पनि माग नआएको मानन्धर बताउँछन् ।

‘अघिल्लो कार्यकालमा भौतिक पूर्वाधारको काम पुरा भएको थिएन, तर यो पटक निषेध गरिएको छैन,’ अनलाइखबरसँग मानन्धरले भने ।

काठमाडौं महानगरपालिकाको चाडपर्व र जात्रा व्यवस्थापनको जिम्मा नगर प्रहरीले लिँदै आएको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अन्य स्थान पर्याप्त भएकोले उपलब्ध गराउन नपरेको बताउँछन् ।

‘एक त रानीपोखरी छठ मनाउने ठाउँ नै होइन, भूकम्पपछि अहिलेसम्म दिएको छैन । काठमाडौंमा छठ मनाउन अन्य स्थान पर्याप्त छ,’ उनले भने । पाण्डेले कमलपोखरी, गौरीघाट, बागमती नदिको किनार र बालाजु पार्क भित्र छठको लागि निशुल्क स्थान व्यवस्थापन गरिएको बताए ।

महानगरका मेयर बालेन्द्र साह(बालेन) रानीपोखरीमा आवश्यक परेमा स्थान दिने कुरामा सकारात्मक रहेको उनको सचिवालयले जनाएको छ ।

‘अहिले वडामार्फत छठपर्वको स्थान छनोट गर्ने,उपलब्ध गराउने गरिएको छ । कमलपोखरीमा व्यवस्थित गरेर बनाएको ठूलो स्थान छ, यहाँको लागि कुरै भएन । महानगरले उपलब्ध नगराउने भन्ने कुरै छैन, तर अन्य स्थान पर्याप्त नै छ’, उनले भने ।

कमलपोखरी छठ व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सिंहका यो वर्ष निशुल्क स्थान उपलब्ध गराएको र महानगरले टेण्टको व्यवस्थापन गरदिएको बताए । ‘स्थानको कुनै समस्या छैन,महानगरका विभिन्न स्थानबाट आइरहेका छन्,’ सिंहले बताए ।

यस्तै गौरीघाटको छठ व्यवस्थापन समितिले अझै ३० भन्दा धेरै धेरै स्थान बाँकी रहेको जनाएको छ । ‘हामीसँग ५३० स्थान रहेकोमा ३० जति अझै बाँकी रहेको छ,’ समितिका सदस्य चन्द्रकान्त यादवले भने र यादवले प्रति स्थान १५ सय रुपैयाँ शुल्क उठाएको समेत बताए । तर महानगरपालिकाले शुल्क उठाउन नदिने निर्णय बारे उनले सबैलाई अनिवार्य नगरेको भन्दै विपन्न, असहायलाई निशुल्क स्थान दिएको बताए ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने पैसा उठाउन नदिने भन्दै तत्काल रोक्ने र फिर्ता गर्न लगाउने बताएका छन् । काठमाडौं महानगर प्रहरीले छठपर्वको सुरक्षाको लागि रात्रीकालिन सुरक्षा दिनको लागि नगर प्रहरी खटाउने भएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?